क्यान्सर रोक्न बालिकालाई महँगो खोप
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : पाठेघरको मुख वा यौन अंगमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप बालिकालाई नि:शुल्क दिने भएको छ।

महँगो तर प्रभावकारी मानिएको यो खोप नेपाली बालिकालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र ग्लोबल अलाइन्स फर भ्याक्सिनेसन्स (गाभी) को सहयोगमा पहिलोपटक दिन लागिएको डब्लूएचओ जेनेभाका टेक्निकल अफिसर डा. पाउल ब्लोइमले बताए।


डब्लूएचओले ९ देखि १३ वर्ष उमेर समूहका बालिकालाई उक्त खोप दिन सिफारिस गरेको छ। पहिलो चरणमा चितवन र कास्कीका १० वर्ष पुगेका १५ हजार बालिकालाई उक्त खोप दिन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार यो खोपको एक मात्रालाई चार सय ५० रुपैयाँ पर्छ।

ब्लोइमका अनुसार एचपीभी खोप ९ देखि १३ वर्षका प्रत्येक बालिकाले ६-६ महिनाको फरकमा लगाउनुपर्छ। 'यौन क्रियाकलापमा संलग्न हुनुअघि यो खोप लगाएमा पाठेघरको मुखको क्यान्सरबाट बच्ने देखियो', ब्लोइमले भने, 'यो खोप प्रयोग भइरहेका मुलुकमा क्यान्सर घट्दै गएको छ।' उनका अनुसार अमेरिका, क्यानडा, श्रीलंका, भुटानलगायत ६० मुलुकमा यो खोप प्रभावकारी भएको छ।

उक्त खोपले ७० प्रतिशत भन्दा बढी पाठेघरको मुखको क्यान्सर रोक्ने चिकित्सक बताउँछन्। उक्त खोप लगाएपछि सामान्य दुखाइ, सुन्निने र ज्वरो आउनुबाहेक अन्य ठूलो प्रतिअसर नदेखिएको डब्लूएचओले जनाएको छ।

एचपीभी किन?

नेपाल क्यान्सर केयर फाउन्डेसनकी महासचिव स्त्रीरोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर २१ प्रतिशतभन्दा बढी देखिएको छ।

४० वर्ष उमेर समूहका महिलामा सबैभन्दा बढी देखिने गरेको उक्त क्यान्सरबाट कम उमेर समूहका महिला पनि पीडित छन्।

एचपीभी १६ र १८ भाइरसका कारण यो क्यान्सर हुन्छ। यो खोपले ती भाइरसविरुद्ध प्रतिरोधात्मक शक्ति विकास गर्छ।

यौनजन्य क्रियाकलापका कारण उक्त भाइरसले पाठेघरको मुखमा संक्रमण भई क्यान्सर गराउँछ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z