छोरीको दाइजो जोगाउँदा बाबुको ज्यान गयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :आगलागीबाट घर जलेपछि मुर्छित भएका महिला । तस्बिर : मनोहरकुमार
राजविराज : छोरीको बिहेका लागि ठीक्क पारेको नगद र दाइजोका सामान निकाल्न खोज्दा सप्तरीमा बिहीबार एक वृद्धको जलेर मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नपा–६ पिप्रा पूर्वस्थित परेमारा टोलका ६५ वर्षीय चलितर सरदारको घरमै जलेर मृत्यु भएको हो ।
गाउँ नै सखाप हुनेगरी लागेको आगो निभाउन सबैजना व्यस्त भएका बेला सम्पत्ति जोगाउन घरभित्र पसेका सरदार बाहिर निस्कन नसक्दा मृत्यु भएको स्थानीयवासीले बताए ।
आगो नियन्त्रणमा आएपछिमात्रै सरदारको शव भेटिएपछि घटनाबारे आफन्त र गाउँलेले थाहा पाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
कञ्चनरुप–६ बलुवाका शिवेन्द्र गुप्ताको धानकाँटाको पसलमा काम गर्ने सरदार बैशाखमा हुने छोरीको बिहेको तयारीका लागि बिहीबार घर आएका थिए । शवलाई पोष्टमार्टमका लागि राजविराज ल्याउने तयारी भइरहेको छ ।
झमेली सरदारको घरबाट सुरु भएको आगलागीमा राजेन्द्र सरदार, शुभक सरदार, गोराई सरदार, विरेन्द्र सरदार, केशव सिंह, ललकु सरदार, सरीता सरदार, श्याम सरदार, रामचरित्र सरदार, पलेन्द्र सरदार, विरजु सरदार, मुरली गुप्तालगायत ३३ परिवारका ७९ घर जलेका छन् ।
आगो नियन्त्रणका क्रममा थप १९ परिवारका २८ घर भत्काइएको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
आगलागीबाट खरानी भएको बस्ती
गाउँ नै सखाप हुने गरी बिहान साढे १२ बजेबाट सुरु भएको आगलागी राजविराज, इनरुवा र इटहरीका बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासमा साढे चार बजे नियन्त्रणमा आएको छ ।
घटनालगत्तै पुगेका जिल्ला दैबी प्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मृतक परिवारलाई १० हजार पाँच सय र आगलागीबाट नष्ट भएको प्रतिघरलाई पाँच सयका दरले राहत बाँडेका छन् ।
आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ ।
तस्विर संलग्न छ
###
0 comments
Write Down Your Responses