खुसी छैनन् इजरायलमा नेपाली महिला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
डा. अनुपम पोखरेल
१९ वर्षकै उमेरमा उनी इजरायल आइन्। उनले सुसारे काम गर्न थालेको आठ वर्ष भइसक्यो। चार-पाँच वर्ष ठिकै थियो। जेठी छोरी भएका कारण उनको काँधमा आमाको उपचार र भाइहरूको पढाइको जिम्मेवारी थियो।
तीन वर्षअगाडि आमा बितिन्। बाबा सानैमा बितेका थिए। आमा बितेपछि एकपटक नेपाल उनी आइन्।
तर, भाइहरूलाई पढाउँछु भन्ने संकल्पसाथ पुनः काममा फर्किइन्।
‘रोजगारदाता’ ९२ वर्षीया बुढियामा बिर्सिने रोग थियो। ती बुढियाका सन्तानले उनलाई अह्राइपराई गर्थे। साताको सातैदिन काम गर्नु पर्थ्यो। दैनिक दुई घन्टा र सातामा दुई दिन छुट्टी पाउने भएता पनि सुरु सुरुमा ओभरटाइम गर्दा बढी पैसा पाउने हुँदा उनले सातै दिन, चौवीसै घन्टा काम गर्दै गइन्।
पछि उनलाई थकाई बढी लाग्न थाल्यो। क्रमिक रूपले मन अशान्त हुन थाल्यो। मुटुको धड्कन तेज हुन थाल्यो। निद्रा पातलिँदै गयो। राति मर्छु कि भन्ने डर लाग्न थाल्यो। नेपालमा भाइहरूलाई आफ्नो अप्ठ्यारो भनेकी थिइनन्। यता इजरायलमा आफ्नो मनको बह पोख्ने पनि कोही थिएन। आफ्नो भविष्य कहिल्यै पहिले सोचेकी थिइनन्। अहिले आफ्नो भविष्य अन्धकार देख्न थालिन्।
* * *
श्रीमान्ले कुनै पनि काम टिकेर गर्न सकेनन्। आफैँले केही गर्नुपर्यो भनेर २७-२८ वर्षको उमेरमा उनी इजरायल आइपुगिन्। श्रीमान् र दुई बच्चाहरूलाई छोडेर उनी आएको अहिले त ७-८ वर्ष भइसक्यो।
दुई वर्षअघि उनी नेपाल आएकी गइन्।
‘विदेशमा जोसँग पनि सम्बन्ध राखे हुन्छ रे। को-को सँग सुतिस्?’श्रीमान्ले उनीमाथि आशंका गरे। उनलाई छुन पनि चाहेनन्। तर, उनले नै पठाएको पैसाले श्रीमान्ले मोटरसाइकल भने फेरि फेरि चढे।
घरको आर्थिक बोझ उनीमै थियो। गह्रौँ मन लिएर इजरायल फर्किइन्। पहिले नै आत्तिने स्वभावकी उनमा आत्तिने समस्या झन् बढ्यो। थकाइ बढी लाग्न लाग्यो। काममा ध्यान दिन गाह्रो भयो। उनी पनि छुट्टी नलिई सातै दिन काम गर्थिन्। काममा गल्ती हुन थाल्यो। झर्किने स्वभाव आयो। त्यसपछि कामबाट निकाल्दिने हुन् कि भन्ने डर बढ्यो। भविष्य अन्धकार देख्न थालिन्। मर्ने विचार आउन थाल्यो।
तेल अभिभमा डाक्टरलाई देखाइन्। डाक्टरले औषधि पनि दिए। तर, नेपालमा भएका साथीहरूले औषधी नखान सल्लाह दिए। उनको मानसिक अवस्था खस्कँदो छ। उनको दिन रोएरै बितिरहेको छ।
* * *
उमेर ३८ वर्ष। उनी आठ वर्षअगाडि नेपालमा छोरा छोडेर आएकी थिइन्। श्रीमान्ले पहिल्यै छोडेका थिए। आमाबाबु र छोरा दुवैथरीलाई खर्च पठाउने जिम्मा उनको थियो। चार वर्षदेखि मन साह्रै उदास हुन थाल्यो। मर्ने विचार पटकपटक आएको थियो। छोरालाई सम्झेर जेनतेन काम गरिरहिन्।
उपचार गर्न खोज्दा मालिकले ‘तँ काम गर्न आएको, काम गरिराख’ भन्यो। साइकोसिस (पागलपन)का लक्षण देखा परेपछि अहिले उनी अस्पताल भर्ना भएकी छिन्। आफ्नो मनको दुःख साट्ने उनको कुनै साथी छैन।
यी तीन इजरायलमा काम गरिरहेका नेपाली महिलाले झेलिरहेका प्रतिनिधि समस्या हुन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘नारीका लागि नारी’ र ‘नारी आवाज’ जस्ता संस्थाहरूले अन्य १४ स्थानीय नेपाली संस्थाको सहकार्यमा आयोजना गरेको समारोहमा नेपाली चेलीहरूले आफ्नो कथा/व्यथा सुनाएका थिए।
* * *
अनौपचारिक तथ्यांक अनुसार पुगनपुग पाँच हजार नेपाली रहेको इजरायलमा ८० प्रतिशतभन्दा बढी संख्या महिलाको रहेछ। यस अर्थमा पनि नेपालबाहिर रहेका युवाशक्तिमा इजरायलको नेपाली समुदाय अन्य प्रवासी नेपाली समुदायभन्दा पृथक छ र धेरै हिसाबले विशेष पनि।
इजरायलमा नेपालीहरू मुख्यतया बूढाबुढीको स्याहार सुसारका लागि जान्छन्। यसकारण कामको प्रकृति निर्माण तथा उद्योगमा जाने अन्य देशभन्दा फरक छ। सरसर्ती हेर्दा घरभित्र बसेर गर्ने यस्तो काम अरब राष्ट्र तथा मलेसियाको कामभन्दा सजिलो देखिन्छ। एक कामदारले एक जनालाई हेरचाह गर्नुपर्ने, त्यही घरमा बस्ने तथा खानाको व्यवस्था रोजगारदाताबाट नै हुने र कमाएको पैसा झण्डै ९० प्रतिशत बच्ने इजरायली रोजगारको विशेषता हो। तर, तुलनात्मक रूपमा यस्तो ‘सजिलो’ काम गर्न पाउने हाम्रा दिदीबहिनीहरूमा विशेषत: हालैका वर्षहरूमा मानसिक समस्या बढ्दै गएको र आत्महत्याका घटनासम्म पनि हुन गएको पाइन्छ।
बाहिरबाट हेर्दा सजिलो र सुकिलो काम देखिए पनि कतिपय अवस्थामा बिर्सिने या कडा मानसिक रोग लागेको व्यक्तिसँग २४ घन्टा, सातै दिन, बाह्रै महिना र त्यो पनि एकपछि अर्को वर्ष बिताउँदा हुने तनाव यस्तो अवस्थामा परेको मानिसलाई राम्ररी थाहा नहुन सक्छ। जागिरको कन्ट्र्याक्टमा हप्तामा दुई दिन छुट्टी लिन मिल्ने लेखिए पनि सट्टामा काम गर्ने मानिस सजिलै नपाउने, कहिले पेलाहा रोजगारदाताको कारणले र कतिपय अवस्थामा ऋणको भार चाँडै बिसाउन सातै दिन काम गर्ने गरेको पाइन्छ।
इजरायल बसाइका क्रममा यस्ता समस्या मैले धेरैबाट सुनेँ। प्रायजसोमा तीन-चार वर्ष लगातार सातै दिन काम गर्दा शरीर र मस्तिष्कले तनाव र दबाब धान्न नसकेको देखियो।
कतिपयमा परिवारका लागि ठूलो त्याग गरेर बिदेसिएका नारीका पतिहरूले उनीहरूलाई हेय दृष्टिले हेर्नाले उनीहरूमा तनाव झन् बढेको पाइयो। त्यस्तै लामो समयसम्म आफ्ना सन्तानबाट टाढा रहँदा छोराछोरीमा उत्पन्न भएको विभिन्न प्रकारका व्यावहारिक समस्याले आमाहरूमा ग्लानी उत्पन्न भएको पनि पाइयो। लामो समयसम्म घरभित्रै बस्नु र घामको प्रकाश अगाडि नपर्ने अवस्थाले भिटामिन डीको कमी भएको अनुमान पनि गर्न सकिन्थ्यो भने कतिपय थकावटबाट ग्रस्त भएकाहरू थिए। त्यस्तै कसै-कसैले नेपालमा हुँदा मानसिक रोगको उपचार गराएको तर इजरायल गएपछि छोडेकाले रोग बल्झेको पनि पाइयो।
हुनत अन्य देशमा जाने कामदारको हकमा पनि माथि वर्णित विभिन्न समस्या देखापरेका हुन सक्दछन्। तर आमाहरू बिदेसिँदा बाबु बिदेसिएकोभन्दा बढी नकारात्मक असर बालबालिकालाई परेको देखिन्छ।
वैदेशिक रोजगारले परिवारमा ल्याएको विखण्डन आजभोलि निकै सुनिन्छ। समग्रमा हाम्रो समाजमा पति बिदेसिँदा पत्नीले पतिलाई विदेशमा अन्य सम्बन्ध गाँसेको भन्ने आरोप लगाएको तुलनात्मक रूपमा कमै सुनिन्छ। तर पत्नी बिदेसिँदा पतिको यस्तो प्रकारको आरोपले उसै त पति र परिवारबाट टाढा रहेको मन छियाछिया भएको दुखद् दृष्टान्तहरू मैले देखें।
इजरायलमा नारीका लागि नारी र नारी आवाजजस्ता संस्थाहरूले विभिन्न सामाजिक तथा मनोवैज्ञानिक अप्ठेरोमा परेका दिदीबहिनीहरूलाई गरेको सहायता अतुलनीयछ। इजरायलस्थित नेपाली दूतावासको भूमिका पनि अत्यन्त सकारात्मक पाइयो। आत्महत्याको सोच आएको व्यक्तितालाई बचाउन कहिलेकाहीँ परालको त्यान्द्रो नै काफी हुन्छ। तर उहाँहरूले दिन सक्ने सेवा सीमित छ।
अन्तर्क्रियाले चेतना बढाउन सहायता गर्छ। मानसिक समस्या उत्पन्न भएको अवस्थामा मनोपरामर्श या उपचार नै चाहिन्छ। मानसिक समस्याको सुरुको अवस्थामा मनोपरामर्श पनि उपचारको महत्त्वपूर्ण पाटो हो। भाषा र संस्कृति नबुझेका मनोविज्ञले उचित परामर्श दिन सक्दैनन्।
त्यसैले रेमिट्यान्सले हामीलाई धानिरहेको छ भन्ने नेता, प्रशासक र अर्थविद्हरूले नेपाली कामदार जाने हरेक देशका नेपाली दूतावासमा कम्तीमा एक मनोविज्ञलाई नियुक्ति दिनेतर्फ सोच बनाएमा धेरै नै फलदायी हुनसक्छ। मनोविज्ञलाई दिनुपर्ने तलब तथा सुविधाको खर्चभन्दा एउटा कामदारको आत्महत्या रोकिएर उक्त कामदारको परिवार, समाज र राष्ट्रले पाउने फाइदा निकै बढी हुनेछ।
यसरी नियुक्त मनोविज्ञले उक्त राष्ट्रमा स्वतन्त्ररूपले काम गर्न नपाएको अवस्थामा पनि उक्त राष्ट्रको स्वास्थ्य संरचनासँग मिलेर नेपाली कामदारको स्वास्थ्यमा ठूलो सहायता पुर्याउन सक्ने थिए। यसलाई विदेसिएको लालबुझक्डको दिवास्वप्न नठानी राष्ट्र्ले चाहेमा सम्भव हुनसक्ने र आवश्यक सेवाका रूपमा लिइएमा धेरै कामदारको कल्याण हुने थियो।
(अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्ने लेखक मानसिक रोग विशेषज्ञ हुन्)via @setopati
###
0 comments
Write Down Your Responses