माओवादी नेतालाई छोरा गुमाएकी आमाको प्रश्‍न–हाम्रा सन्तानको रगतको सम्मान खोइ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

फोटो :माओवादी जनयुद्दमा ज्यान गुमाएका छोराको फोटो देखाउँदै एक वृद्दा । तस्बिर : युवराज पुरी
सिन्धुपाल्चोक : ‘हामीले हाम्रा मुटुका टुक्रा गुमाएका छौं, हाम्रा सन्तान बेपत्ता भएका छन्, सशस्त्र द्वन्द्वमा एक छोराको मृत्यु र अर्का छोरा बेपत्ता भएको पीडा खेपिरहेकी कुविण्डेकी तुलसीमाया नेपालले एक कार्यक्रममा एमाओवादी नेतृत्वप्रति आक्रोस पोखिन्, ‘पार्टीले ती सहिदहरुको सम्मान गर्न सकेन ।’

सन्तान गुमाएर सहाराबिहीन भएकाहरुलाई पार्टीले बेवास्ता गरेको नेपालको गुनासो थियो । एमाओवादी फुटाउनुमा नेताहरु दोषी रहेको उनले बताइन् ।

एमाओवादी र नेकपा–माओवादीद्वारा संयुक्तरुपमा बिहीबार चौतारामा आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीले सहित र बेपत्ताको परिवारलाई बेवास्ता गर्दै गए नेताकै विरुद्ध आन्दोलन थाल्ने चेतावनी दिइन् ।

‘एउटा छोरा सहिद भयो, अर्को बेपत्ता छ, मरेको त मर्‍यो अर्को खोज्न धेरैतिर धाएँ, अहिले पनि मनले मान्दैन । सिडिओकहाँ छोरा खोजिदेउ भन्दै धाइरहन्छु’, नेपालले गहभरी आँसु पार्दै भनिन्, ‘धेरैका आँखा अहिले पनि ओभाएका छैनन्, पार्टीले उनीहरुका लागि केही गर्न सकेको छैन ।’

झण्डै आधा दशकपछि आयोजित सम्मान कार्यक्रममा आएका धेरैका आँखा रसाएका थिए । भित्तामा टाँसिएका मृतकका फोटोमा आफन्त खोज्दै आँसु झारिरहेका थिए ।

माओवादी द्वन्द्वमा सन्तान गुमाएका बाबुआमा भक्कानिँदै

स्याउले गाविस–६ की ७४ वर्षीया पूर्णमाया श्रेष्ठले धेरैबेर लगाएर छोराको फोटो खोजिन् । फोटो भेटेपछि त्यही फोटोलाई छाम्दै भक्कानो छाडेर रुन थालिन् । उनका जेठा छोरा प्रेम श्रेष्ठ ‘सुमन’ को १३ वर्षअघि जिल्लाकै जलबीरेमा भूमिगत भएको चार वर्षपछि मृत्यु भएको थियो ।

मृत्यु हुनु आठ महिनाअघि भेटेको छोराको सपना राज्य र पार्टीले पूरा गर्न नसकेको उनको गुनासो छ । छोरा मरेको धेरै दिनपछि मात्र भदाहाले सुमन ढल्यो रे भनेको क्षण उनलाई अहिले जस्तो लाग्छ ।

११ वर्षअघि छोरी रिता पौडेललाई गुमाएकी तेजकुमारी पौडेलको पनि गुनासो उस्तै छ । १६ वर्षकै उमेरमा भूमिगत रिता तीन वर्षपछि दोलखाको एक भिडन्तमा मारिएकी थिइन् ।

अरुले जस्तै पौडेल पनि पार्टी र राज्यले सहिदको सपना पूरा गर्न नसकेकोमा चिन्ता व्यक्त गर्छिन् । यी प्रतिनिधि पात्र हुन् । उनीहरु जस्तै सम्मान लिन आउने अधिकांशको भनाइ एउटै थियो, ‘हामीले आफन्त गुमाएर के पायौं, हाम्रा सन्तानको रगतको सम्मान खोइ ? मुलुकको परिवर्तन खोइ ?’

सशस्त्र द्वन्द्व सुरु भएपछि सिन्धुपाल्चोकका ३५ महिलासहित एक सय ८८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । कुविण्डे गाविसका मात्र १९ जनाले ज्यान गुमाएका थिए । अझै जिल्लाका १४ जना बेपत्ताको सूचीमा छन् ।

सम्मान कार्यक्रममा आएका आमाहरु मलिन अनुहारमा
कार्यक्रममा एमाओवादी पोलिटव्युरो सदस्य अग्नीप्रसाद सापकोटा, केन्द्रिय सदस्य केशव नेपाल तथा नेकपा–माओवादीका केन्द्रिय सदस्य दावा तामाङले मृतक तथा बेपत्ताका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मृतक तथा वेपत्ता परिवारको रुवाबासी सुनेर सम्मान कार्यक्रममा पुगेका माओवादी नेताहरु नाजवाफ भएका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z