'सरकारकै कारण श्रम सम्झौतामा ढिलाइ'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मलेसिया : नेपाल सरकार र मलेसिया सरकारको हेलचक्र्याइँका कारण मलेसियामा श्रम सझौता हुन नसकेको संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिले बताएको छ।

मलेसियाको क्वालालम्पुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका पदाधिकारीले श्रम सझौता हुन नसक्दा मलेसियामा कार्यरत नेपाली मजदुर शोषणमा परिरहेको बताए।


नेपाली श्रमिकको अवस्थाबारे अध्यायन गर्न यहाँ आएको टोलीले मलेसियामा रहेका नेपालीबारे संसद् र सरकारलाई प्रतिवेदन बुझाउने समितिका सभापति समितिका सभापति प्रभु शाहले जानकारी दिए।

यहाँ कार्यरत नेपाली मजदुरको अवस्थाबारे बुझ्न सोमबार समिमिका सभापति शाहको नेतृत्वमा ६ सभासद् सम्मिलित टोली मलेसिया आएको थियो।

टोलीले मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई भेटी उनीहरूको अवस्थाबारे अध्ययन गरेको जानकारी दियो। यहाँका एनआरएन, मजदुर नेता, पत्रकार र श्रमिकसँग टोलीले छलफल गरेको थियो।

श्रम सम्झौता नहुँदा नेपाली श्रमिक यातना र शोषणको शिकार भएको शाहले बताए। 'यहाँ नेपाली मजदुरलाई चर्को यातना दिइँदोरहेछ', शाहले भने, 'श्रम सझौता हुनसके यो समस्यामा कमी आउँथ्यो।'

टोलीले मलेसियाको काजाङस्थित केन्द्रीय जेलमा रहेका नेपाली कैदीबन्दीको अवस्थाबारे पनि बुझेको थियो। नेपाली श्रमीकका समस्याबारे यहाँका मानव संसाधन सहायक मन्त्री हाजी इस्मालीसँग कुरा गरेको सभापति शाहले बताए। उनले भेन, 'यहाँका मन्त्रीसँग श्रम सझौताबारे कुरा गरेका छौं, चाँडै यसले अन्तिम रूप लिन्छ।'

भ्रमण टोलीले अध्ययनका क्रममा नेपाली मजदुर यहाँका लुटेरा र प्रहरीबाट असुरक्षित रहेको पाएको छ। मलेसियामा भिसा भएका नेपालीलाई पनि यहाँका प्रहरीले बिनाकारण दु:ख दिने गरेको शाहले बताए।

रोजगारीका लागि आएका नेपाली श्रमिक असुरक्षित रहेकाबारे यहाँका गृहमन्त्री डा. अहमदजा हिदह मिदीसँग कुरा गरेको शाहले जानकारी दिए। गृहमन्त्री मिदीले नेपालीलाई सुरक्षा प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

टोलीमा बलबहादुर केसी, सोमप्रसाद पाण्डे, कमला शर्मा, जितेन्द्रनारायण देव र भरत खडका रहेका छन्। मलेसियामा रहेका नेपाली श्रमिकको अवस्थाबारे बुझ्न भनेर सरकारी निकायबाट फरकफरक विभागका फरकफरक टोली पटकपटक मलेसिया आउने गरेका छन्।

उनीहरूलाई खर्च कहाँबाट प्राप्त हुन्छ, खुलाइने गरेको छैन। मलेसिया आउने नेपाली प्रतिनिधिमण्डलले उपलब्धिमूलक काम गर्न नसकेको नेपाली श्रमिक बताउँछन्।


सभासद्ले भने : खर्चको कुरा नसोध्नुस्

मलेसिया आउनुअघि नै विवादमा परेको भ्रमण टोलीका सदस्य पत्रकार सम्मेलनमा पत्रकारसँग जंगिएका थिए। सो सम्मेलनमा पत्रकारले भ्रमण टोलीको आर्थिक स्रोतबारे प्रश्न गर्दा यस बारेमा प्रश्न सोध्ने अधिकार नभएको समितिका सदस्य बलबहादुर केसीले बताए।

 'हामी कसरी, कसको खर्चले आएका छौं, त्यसबारे नसोध्नुहोस्', केसीले पत्रकारलाई चोरऔंला ठड्याउँदै भने, 'तपाईंहरूलाई खर्चको स्रोतबारे चासो राख्ने अधिकार छैन।'

समितिका सदस्य सोमप्रसाद पाण्डेले भ्रमण टोलीको आर्थिक पक्षलाई विवादमा नल्याउन पत्रकारलाई आग्रह गरे। 'आर्थिक कुरोबारे जान्न मन भए श्रम मन्त्रालयमा सोध्नुहोस्', पाण्डेले पत्रकारमाझ झोक्किँदै भने।

समितिका सदस्यहरूले बिहीबार मलेसियाको छिमेकी राष्ट्र सिंगापुरको समेत भ्रमण गरेको स्रोतले बतायो। सिंगापुर केका लागि गएको भन्ने उनीहरूले खुलाएका छैनन्। दुईजना सभासद्का परिवारका सदस्यसमेत भ्रमण टोलीमा सामेल छन्।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z