जनताको विश्वास!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एघार वर्षअगाडि निरकुंशताविरुद्ध निस्किएका बेला सुरक्षाकर्मीले पुलतीसडकमा लाठी बर्साउँदा लडेका अहिलेका प्रधानमन्त्री शुशील कोइराला र सरकारमै भएको अर्को दल एमालेका नेता अमृतकुमार बोहराका साथै अन्य नेताहरू। यी नेतामाथि किन बर्सियो लाठी? सबैलाई थाहै छ। कांग्रेस पार्टीको महाधिवेशनमा केही महाधिवेशन प्रतिनिधिले मसँग भनेका थिए—  बिचरा बूढा शुशील कोइरालासँग पैसो छैन, देउवाको खर्चमा प्लेन चढेर आइयो तर भोटचाहिँ कोइरालालाई हालिन्छ। कोइराला प्रधानमन्त्री हुनेबित्तिकै आफैं भन्थे— भ्रष्टचारमा शून्य सहनशीलता। तर हिजोआज उनले यस्तो कुरा नगरेको धेरै भइसक्यो। कतै जानेर वा नजानेर, कोइराला पनि भ्रष्टचारको मिठो लतमा फस्दै गएका त छैनन्।

सन्दर्भ हो, डा. गोविन्द केसीको आमरण अनसन। डा. केसी र कोइरालाका अरू कुरा नमिले पनि एउटा कुरामामा चाहिँ समानता छ, दुवै अविवाहित हुन्।  दुवैमा व्यक्तिगत स्वार्थ खासै केही नहुनुपर्ने हो। मेडिकल कलेजहरूलाई जथाभावी सम्बन्धन दिन हुँदैन भनेर डा. केसी आमरण अनसनको पाँचौ शृंखलामा छन्। सम्बन्धनका लागि निश्चित मापदण्ड बनाउनुपर्नेमा उनको जोड छँदै छ। यसभन्दा अघिल्लो अनसनमा प्रधानमन्त्री कोइरालाले आफ्नै पहलमा डा. केसीका जायज माग पूरा गर्ने वचन दिएर अनसन तोडाएका थिए। तर, अहिले १४ महिना बित्न नपाउँदै प्रधानमन्त्री कोइराला व्यापारी र मेडिकल माफियाहरूको जालोमा यसरी फसेछन्, आफैंले गरेका वाचा पूरा गर्नु त कताकता उल्टो सुनेको नसुन्यै गरिहेका छन्।  यदि डा. केसी गलत हुन् भने किन गलत हुन्, प्रधानमन्त्रीले भन्न सक्नुपर्छ। नत्र सादगी जीवनका प्रधानमन्त्रीको नियतमाथि शंका गर्ने ठाउँ धेरै उत्पन्न हुन सक्छन्।
प्रधानमन्त्रीज्यु, एकपटक नियालेर यो तस्बिर हेर्नुहोस् अनि आफैं विचार गर्नुहोस्। बुढेसकालमा  लाठी खाएको आफ्ना नातागोता–परिवारका लागि त पक्कै होइन। प्रधानमन्त्री पद पाउनका लागि पनि नहोला। देशमा विकास र सुशासन, शान्ति र स्थिरता अनि ठूलो संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था संस्थागत गर्नकै लागि हो भन्ने सबैले बुझेका छन्। केही समययता देखिएका व्यवहारले भने प्रधानमन्त्रीको पनि …कान चिरिन थालेको' हो कि भन्ने हुँदै छ। जनताको आशा पूरा गर्नुको साटो यस्तै गर्दै गए फेरि पनि लाठी खानुपर्ने दिन नआऊला भन्न सकिन्न है प्रधानमन्त्रीज्यु। बेथिति, भ्रष्टचार, मनपरीतन्त्र अनि निरंकुशताविरुद्ध लाठी खान तयार हुने सुशील कोइराला प्रधानमन्त्री पदका लागि गलत कुरासित सम्झौता गर्दैनन् भन्ने जनताको विश्वास नभत्किएकै राम्रो!
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z