नक्कली श्रीमती बनेर २० करोडको जग्गा आफ्नो नाममा बनाउन खोज्ने पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
७० वर्षीया वृद्धा छोराका लागि ४० लाखको प्रलोभनमा

पोखरा, चैत २०–पोखरामा कीर्ते कागजात तयार पारी अर्काको जग्गा आफ्नो नाममा बनाउन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले बुधबार रामेछाप बामतीभण्डार गाविस–८ घर भएकी ७० वर्षीया गंगामाया कार्की र उनका २६ वर्षीया छोरा टेकबहादुरलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि पोखरा–४ गणेशटोलका कृतिकुमार बाटाजुको पोखरा–१७ बिरौटास्थित ६४ रोपनी ४ आना जग्गा आफ्नो नाममा सार्न खोजेको आरोप छ । गंगामायाले जग्गाधनी कृतिकुमार बाटाजुको श्रीमती बनी नामसारी गर्न खोजेको प्रहरीले जनाएको छ । उनले मालपोत कास्कीमा पेस गरेका कागजात सबै नक्कली भएको शंका लागेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
‘मालपोतमा काम नबनेपछि उनी लेकसाइडमा गएर बसेको सूचना पाइयोे,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले भने, ‘लेकसाइडमै पुगेर हामीले उनलाई पक्राउ ग¥यौँ ।’

गंगामायालाई पक्राउ गरेलत्तगै प्रहरीले पृथ्वीचोकको होटलबाट उनका छोरा टेकबहादुरलाई समातेको छ ।  जग्गा आफ्नो बनाउन ७० वर्षीया गंगामायाले कृतिकुमारको मृत्युदर्ता प्रमाणपत्र, उनकी श्रीमती हर्षमायाको नागरिकता र नगरपालिकाको सिफारिसलगायत सात थान कागजात मालपोतमा पेस गरेको प्रहरीले जनाएको छ । ‘हर्षमाया लेखेको नक्कली नागरिकतामा गंगामायाको फोटो छ । प्रहरी प्रमुख पालले भने, ‘नगरपालिकाको सिफारिसपत्र झनै नक्कली थियो ।’
एक साताअघि सरुवा भइसकेका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले बनाएको सिफारिसमा उनको थर बडाल उल्लेख छ । यो देखेपछि मालपोतमा लेखापढी गर्नेहरुले शंका गरेका थिए ।
‘त्यसमाथि १२ चैतमा सरुवा भइसकेको मान्छेले दिएको सिफारिसमा १८ चैतको मिति उल्लेख थियो,’ पालले भने, ‘नक्कली लालपुर्जादेखि नाता प्रमाणपत्रसमेत नक्कली नै रहेछ ।’
यसअघि पनि एउटाको जग्गा अर्कैले बेचिदिएको दुई घटना भएकाले मालपोत कर्मचारीले शंका लाग्नेबित्तिकै प्रहरीलाई खबर गरेका हुन् । प्रहरी निरीक्षक देवी पौडेलका अनुसार कृतिकुमार बाटाजुको २ चैत ०६९ मा मृत्यु भएको हो । उनकी श्रीमती हर्षमाया पनि त्यसको २० दिनपछि बितेकी थिइन् । कृतिका दुई छोरा र एक छोरी छन् । अविवाहित ती छोरीसँग आमाको नाता प्रमाणपत्र भन्दै कार्की आमा–छोराले अर्कै एक महिला र गंगामायाको फोटो टाँसेर नाता प्रमाणपत्र पनि नक्कली नै तयार गरेका थिए ।
‘पहिला म नै हर्षमाया हुँ भनेर गंगाको नाममा जग्गा ल्याउने र त्यसपछि छोरीलाई दिने भनेर नाता प्रमाणपत्र लगेका रहेछन्,’ पौडेलले भने ।
एसपी पालका अनुसार ४० लाख रुपैयाँ पाउने लोभमा गंगामाया र उनका छोरा अर्काको जग्गा आफ्नो नाममा ल्याउने काममा संलग्न भएको देखिएको छ । अन्दाजी २० करोड रुपैयाँ पर्ने ६ रोपनी जग्गा बिक्री गर्ने दाउ बनाएको एक गिरोहले कार्की आमाछोरालाई त्यतिका रकममा लोभ्याउन सफल भएको प्रहरीको भनाइ छ ।
कार्की आमाछोरालाई प्रयोग गर्ने गिरोह भने गंगामाया प्रहरी फन्दामा परेलगत्तै पोखराबाट बाहिरिएको खबर पाएको एसपी पालले जानकारी दिए । ‘योजना बनाउनेहरू तीनजना फरार भएका छन्,’ पालले भने, ‘उनीहरुलाई पक्रन हाम्रो टोली परिचालन भइसक्यो ।’
पहिला लेकसाइडमा पर्यटनसम्बन्धी व्यवसाय गरेका कृतिकुमार र उनको पारिवारिक अवस्थाबारे राम्ररी जानकारी भएका व्यक्तिले नै जग्गा हत्याउने योजना बनाएको प्रहरीको भनाइ छ । पर्यटक गाइडका रुपमा काम गर्ने रमेश जिरेल उक्त योजना बनाउने मुख्य व्यक्ति भएको स्रोत बताउँछ । उनले पर्यटनसम्बन्धी नै काम गर्दा बाटाजुको नाममा प्रशस्त जग्गा रहेको र बाटाजुकी श्रीमतीको मृत्यु भइसके पनि छोराछोरीले जग्गा आफ्नो नाममा नबनाएको पत्तो पाएको बुझिएको छ । बाटाजुको थुप्रै भए पनि अन्य पारिवारिक किचलो र विवादमा परेको तर, बिरौटाको ६ रोपनी मात्रै निर्विवाद रहेको बुझेर जिरेलले यस्तो दाउ रचेको बताइएको छ ।
‘जिरेलले गंगामाया र उनका छोरालाई त्यही उद्देश्यले १४ चैतमा काठमाडौंबाट पोखरा ल्याई ड्यामसाइडको होटलमा राखेका थिए,’ स्रोत भन्छ, ‘आफ्नो नाममा होटल बुक गराई उनले गंगामायालाई आमा भनी परिचय गराएका थिए ।’
स्रोतका अनुसार उनीहरुलाई १७ चैतसम्म त्यही होटलमा राखेर नक्कली कागजात बनाइएको हो । १८ चैतमा जिरेलले गंगामायाका आमाछोरालाई मालपोत पठाएका थिए ।
यसअघि पोहोर मंसिरमा स्याङ्जाको जगत्भञ्ज्याङका रंगप्रसाद श्रेष्ठको पोखरा–८ जाल्पारोडको ११ आना जग्गा पनि अर्कैले बेचिदिएको सार्वजनिक भएको थियो । आफूलाई रंगप्रसाद बताई जग्गा बिक्रीमा संलग्न रहेका काभ्रे बल्थलीका कृष्णबहादुर श्रेष्ठ हाल जेलमा छन् ।
उक्त घटनाका पनि मुख्य योजनाकारलाई भने प्रहरीले पक्रन सकेको छैन । दुई वर्षअघि शान्ति राणाको लेकसाइडको जग्गा पनि अर्कैले बेचिदिएको थियो । आफूलाई शान्ति राणा बनाई जग्गा बिक्रीमा संलग्न भएकी नुवाकोटकी आशामाया लामा जेलमा छिन । त्यस घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्रन सकेको छैन ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z