डाक्टरले आत्महत्या गरेको भनिएकी बालिकाको हत्या भएको पुष्टि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :मृतक बालिका झुमा विक
ताप्लेजुङ : पोष्टमार्टम रिपोर्टले नै आत्महत्या गरेको भनिएकी ताप्लेजुङको नाङखोल्याङ गाविसकी १४ वर्षीया बालिका झुमा विकको हत्या नै भएको ठहर गर्दै उनको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत ताप्लेजुङले वुधवार सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ।



गत असार २७ गते घरको कोठामा झुण्डीएको अबस्थामा फेला परेकी नाङखोल्याङ ३ कि बालिका विकको शवलाई भोलीपल्टै जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गर्दा रिपोर्टमा आत्महत्या गरेर मरेको भनिएको थियो।

तर अस्पतालले दिएको पोष्टमार्टम रिपोर्ट गलत भएको र यसमा अस्पताल र प्रहरी प्रशासनको समेत मिलेमतो भएको भन्दै पिडित झुमाको परिवार अदालतको ढोका ढक्ढक्याउन पुगेको थियो।

तर बालिका झुमाले आत्माहत्या गरेको नभई उनको हत्या गरिएको भन्दै अदालतले घटनामा संलग्नलाई जन्मकैदको फैसला सुनाएपछि मृतक बालिका झुमाको परिवारले न्याय पाएको अनुभुत गरेको छ।

झुमाको हत्यामा संलग्न भएको भन्दै नाङखोल्याङ-३ निवासी एकै घरका सासु बुहारी ५० वर्षीया पद्मा श्रेष्ठ र २५ वर्षीया जुनु श्रेष्ठलाई न्यायाधिस कृष्ण प्रसाद सुबेदीको ईजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो।

कानुनअनुसार सर्वस्व भन्नाले उनीहरूले पाउने अंश र जन्मकैद भन्नाले २० वर्ष कारागार बस्नुपर्छ। उनीहरू विरुद्ध कर्तब्य ज्यानअन्तर्गत गत साउन १ गते नै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरीएको थियो।

झुमालाई असार २७ गते शुक्रबार साँझ आफ्नै काकाको घरमा वसीरहेको समयमा जुनुको श्रीमान संग फोटो खिचेको, सौता लाग्न खोजेको भन्दै निर्घात् कुटपिट गरी झुण्ड्याएर मारेको मृतककी आमा नर्वदा विकले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ।

मृतककी आमा नर्वदा र दाजु रमेश विकले संयूक्त दलित संञ्जालको सहयोगमा आरोपित विरुद्ध साउन १ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।

झुमाको हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी लिएर जाँदा उनले सतप्रतिशत आत्महत्या गरेको भनी प्रहरीले घटानालाई सामान्य रुपमा लिए पछि संयुक्त दलित संजालको सहयोगमा झुमाको परिवार न्यायका लागि पुन प्रहरी प्रशासनको ढोका ढक्ढक्याउन पुगेको थियो।

संयुक्त दलित संजाललाई समेत तत्कालिन प्रहरी नायव उपरिक्षक मेघराज कंडेल र सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले पोष्टमार्टम रिपोर्टले पनि आत्महत्या भएको पुष्टि गरेको भन्दै आत्महत्याको घटनालाई हत्या भएको भनेर दावी नगर्न आग्रह गरेका थिए।

उनीहरुले घटनास्थलको प्रकृति मृतक झुमाको शारीरिक अवस्थालाई हेर्दा पनि हत्या भएको सक्ने कुनै प्रमाण नभेटिएको वताएका थिए। प्रहरी प्रशासनको भनाई र पोष्टमार्टम रिपोर्टको आधारलाई हेर्दा दोषीहरु छुट्ने अवस्था सिर्जना भएको भन्दै अस्पतालका तत्कालिन डाक्टर सुर्यवहादुर गुरुङलाई समेत भेटी मृतकको परिवार र संयुक्त दलित संजालले अस्पतालले झुटो रिपोर्ट दिएको आरोप लगाएका थिए।

त्यसपछि बालिका झुमाले आत्महत्या गरिन् कि उनको हत्या भयो त ? उक्त घटनाको स्थलगत रिपोर्ट लिनका लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, मानव अधिकारकर्मी, संचारकर्मी,जिल्लाका राजनिनितिक दल लगायतको टोली घटनास्थल अर्थात् नाङखोल्याङ गाविस पुग्यो। र उनीहरूले पनि स्थलगत अध्ययन गरेर झुमाको हत्या भएको भन्दै प्रतिवेदन वुझाए।

सो लगत्तै प्रहरीले दोषी उपर कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरि आरोपितहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने काम गर्यो। तर सुरुमै प्रहरी प्रशासनको अनुसन्धान र अस्पतालको पोष्टमार्टम रिपोर्टले आत्महत्या भनेको घटनाको वास्तविक छानविन हुन्छ र न्याय पाइन्छ भन्ने कुरामा मृतक झुमाको परिवार शसंकित नै थियो।

तर घटना भएको नौ महिना पछि झुमाको हत्या भएको भन्दै अदालतले फैसला गरिदिंदा आफुहरुले न्याय पाएको अनुभुत गरेको मृतक बालिकाकी आमा नर्वदाले वताइन्।

हत्यामा संलग्न सासु बुहारी पद्मा र जुनु दुबैलाई ताप्लेजुङमा महिला कारागार नभएकाले हाल जिल्ला कारागार पाँचथरमा राखिएको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z