हेलिकोप्टर दुर्घटनामा परेका दुर्इको पहिचान भएन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अमेरिकी हेलिकोप्टर दुर्घटना प्रकण
काठमाडौं : भूकम्पपीडितहरूको उद्धारका क्रममा अमेरिकी हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका नेपाली सेनाका सहसेनानी तपेन्द्र रावलको शव पहिचान भएको छ।

उनीसँगै दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका जमदार वसन्तबहादुर तितराको शव पहिचान हुन नसकेकाले डीएनए परीक्षणमा छ।

दुर्घटनामा मृत्यु भएका ६ जना अमेरिकी सैनिकमध्ये पाँचजनाको शव पहिचानपछि अमेरिका लगिसकिएको छ। बाँकी एक अमेरिकी सैनिकको डीएनएको रिपोर्ट नआएका कारण शव नेपालमै रहेको स्रोतले जनायो।

नेपाली सेनाका जमदार तितरा र एक अमेरिकी सैनिकको मात्र शव पहिचान हुन बाँकी छ। उनीहरूको शव रिक्रिएसन सेन्टरमा राखिएको छ।

हेलिकोप्टर दुर्घटना परेको स्थानबाट जेठ ११ मा फेलापरेको अस्थिपञ्जरको पनि अनुसन्धान भइरहेको छ। उक्त अस्थिपञ्जरको नेपाली र अमेरिकी विशेषज्ञद्वारा संयुक्त रूपमा अनुसन्धान भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले दुर्घटनास्थलको अनुसन्धान भइसकेकाले त्यहाँ सुरक्षा दिइरहेका टुकडीलाई समेत फिर्ता बोलाएको छ।

दोलखाको सिंगटीबाट वैशाख २९ गतेदेखि हराइरहेका भनिएका पाँच घाइते दुर्घटनाग्रस्त हेलिकोप्टरमा चढेको हुनसक्ने सम्भावनालाई आधार बनाएर उनीहरूका आफन्तजनको डीएनए परीक्षणका लागि पठाइएको निर्देशनालयले जनाएको छ।

रावलको शव उनको परिवारलाई बुझाए पनि तितराको डीएनए परीक्षणको रिपोर्ट आएपछि परिवारलाई बुझाउने नेपाली सेनाको तयारी छ।
रावलको पार्थिव शरीरलाई नेपाली सेनाले सोमबार श्रद्धाञ्जली दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासमा रहेका अमेरिकी सैनिक (मरिन) को टुकडीले समेत रावलको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिएको थियो।

खोज, उद्धार तथा राहत सामग्री पर्‍याउने क्रममा गत वैशाख २९ गते सिन्धुपाल्चोकको घोर्थली गाविसमा अमेरिकी हेलिकोप्टर दुर्घटना हुँदा दुई नेपाली सैनिक र ६ अमेरिकी सैनिकको मृत्यु भएको थियो।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z