भूकम्पबाट जोगिने जापानी जुक्ति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
३० मेमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा जापानमा कुनै मानवीय क्षति भएन । भूकम्प आइरहने टापुहरुको देशले कसरी आफूलाई भूकम्पको समाना गर्नसक्ने बनायो ?

काठमाडौ, जेष्ठ २३ - भूकम्पको साक्षी मुलुक जापान जत्ति कुन होला ? यसका भुक्तभोगी जापानी जति को होलान् ? बुद्धीमानी मानिसले परेपछि चेत्छ र आफूलाई सुधार्छ । लामोसमयदेखि अमेरिका र युरोपेली मुलुक सरहकै समृद्ध राष्ट्रको सुचीमा रहेको जापानले भुईंचालोको तयारीका मामिलामा आफूलाई अब्बल साबित गरिसकेको छ । अन्यत्र भए निकै तहसनहस मच्चाउने किसिमका भूकम्पहरू पनि आजकाल जापानमा आउँछन्/जान्छन्, केवल जमिन हल्लाएर । त्यसको मारमा कमै पर्ने गरेका छन्, मानव र मानवीय संरचनाहरू । हालैको दृष्टान्त, ३० मे २०१५मा गएको ७.८ म्याग्निच्युडको भुकम्पले त्यहाँ कुनै क्षति पुर्‍याएन ।

भूकम्पीय दृष्टिकोणले अति जोखिममा रहेको यस टापु मुलुकमा पाचौं शताब्दिदेखि नै भुईंचालो आएका ‘रेकर्ड’ हरू छन् । सन् १८९२ मै जापानले भूकम्पका घटनाहरूको व्यवस्थित अध्ययन गर्न ‘इम्पेरियल अर्थक्वेक इन्भेस्टिगेसन कमिटि’ बनाएको थियो । सात वर्षको अध्ययनपछि यो कमिटिले ‘क्याटलग अफ हिस्टोरिकल डेटा अन जाप्निज अर्थक्वेक्स’ प्रकाशित गर्‍यो । सन् १९२३ मा एक लाखभन्दा बढीको ज्यान जानेगरी कान्टोमा ७.९ म्याग्निच्युडको भूकम्प गएपछि यस कमिटिलाई विस्थापित गर्‍यो ‘अर्थक्वेक रिसर्च इन्स्टिच्युट’ ले ।

७ म्याग्निच्युड हाराहारीका भूकप्प त जापानमा अनगिन्ति आएका छन् । कहिले हरेक पाँच, सात वर्षमा एउटा, कहिले वर्षैपिच्छे । सानातिना भूकम्प त महिनैपिच्छे जसो आइरहन्छन् ।

सन् २०११ म आएको ९.० म्याग्निच्युडको तोहोकु भूकम्प भने जापानलाई निकै महँगो साबित भयो । भूकम्पलगत्तै आएको सुनामीका कारण १५ हजारले ज्यान गुमाए । करिब एक लाख भवन ध्वस्त भए । फुकुसिमा आणविक भट्टीमा क्षति पुग्यो । कुल २ खर्ब, ३५ अर्ब डलरको नोक्सानी भयो । यसमा भूकम्पले भन्दा सुनामीले बढी असर पुर्‍याएको थियो । सामुन्द्रिक आँधीको पूर्वसावधानीका बाबजुद यत्रो क्षति भएको थियो । यही स्तरको भुईंचालो र सुनामी अन्यत्रको मानव वस्तीमा आएको भए क्षतिको मात्रा योभन्दा निकै ठूलो हुन्थ्यो ।

भूकम्पकीय जोखिमसँग जुध्ने तयारीमा जापान संसारकै चुस्त मानिन्छ । ‘डिजास्टर जोन’ भनेर चिनिएका क्षेत्रमा जापानले भुईंचालो प्रतिरोधी भवन संहिता कडाइका साथ लागु गरेको वर्षौ भैसक्यो । जमिनमा कम्पन आउँदा ढलेर क्षति पुर्‍याउने गरी कहिँ कुनै गह्रौं सामग्री राख्न पाइँदैन । केही दिनलाई पुग्ने पानी र खाद्यान्नसहतिको ‘सर्वाइवल किट’, एउटा रोडियो र प्राथमिक उपचार सामग्री साथै राख्न परिवारहरूलाई भनिएको छ, ताकि आपतमा त्यसको प्रयोग गर्न सकियोस् । जापानका प्राय सबै कार्यालय र निजी घरहरूमा ‘अर्थक्वेक इमर्जेन्सी किट’ हरू हुन्छन् । यति विघ्न सचेतनाका बाबजुद व्यक्तिगत तयारी कसैको बढी र कसैको कम भने पाइन्छ ।

प्रत्येक विद्यालयमा बालबालिकालाई भूकम्पमा जोगिने अभ्यास गराइन्छ । सावधानीको घण्टी बजेपछि उनीहरू सुरक्षित रहन डेस्कमुनि पस्छन्, त्यहाँका संरचनाहरूको हकमा यो विधि प्रभावकारी छ । यस्तो अभ्यास महिनैपच्छिे गराइन्छ । खेलमैदानमा छँदा भुईंचालो आए कुनै पनि सामानले नलाग्ने गरी खुला ठाउँमा जान सिकाइन्छ । बालबालिकालाई सुरक्षित रहन कति महत्वपुर्ण छ भनेर बुझाइन्छ । दुई तले वा त्यो भन्दा ठूला भवन भएका विद्यालयमा आपतमा बाहिर निस्कने सुरक्षित बाटोसमेत बनाइएको हुन्छ । भूकम्प आएपछि अभिभावक नआएसम्म उनीहरू घर जान पाउँदैनन् ।

यस्तै अभ्यासका कारण डरलाग्दो गरी घर हल्लिएका बेला पनि बालबालिका खासै आत्तिएका देखिएनन्, अघिल्लो शनिबारको भूकम्पमा पनि । उनीहरू अचम्मलाग्दोसँग शान्त रहे । पछि सुरक्षाका लागि हेल्मेट लगाएर चुपचाप घर गएका देखिए ।

खासगरी जापानले सन् १९९५ मा गएको कोबे भूकम्पपछि निकै पाठ सिकेको हो । साढे ६ हजारले ज्यान गुमाएको उक्त विपतपछि त्यहाँ आवासीय कार्यालय र यातायात पुर्वाधार दुबैमा भवन संहिताको पुनर्मुल्यांकन गरियो । त्यतिबेला पनि राजधानी टोकियोमा भवनहरूको क्षति नगन्य थियो, किनकि त्यहाँका संरचनाहरू निकै कठिन नियमावाली पालना गरेर बनाइएका थिए । भुईंचालो जाँदा गगनचुम्बी भवनहरू पिङ खेले झैं देखिए, तर ढलेनन् । घरहरू निकै गहिरो जग हालेर भुकम्पीय शक्ति घटाउने ‘शक एब्जर्बर’ विधि प्रयोग गरेर ‘अर्थक्वेक प्रुफ’ बनाइएका छन् । यिनीहरू भूकम्प जाँदा जमिन सँगसँगै हल्लन्छन्, नकि यसविरुद्ध । भवनहरू काम्नुको सट्टा झुल्छन् । अझ कम हल्लाओस् भनेर भवनको आधार यसको मुल संरचनाबाट ‘सेमी–इन्डिपेन्डेन्ट’ रहने किसिमको अर्को विधि पनि प्रयोगमा छ । आगलागीको जोखिम रहेको काठ र इँटाको भवनको सट्टा जापनीले कंक्रिट र स्टीलको घरहरूलाई जोड दिइएको छ ।

घरहरू भाडामा बस्ने सबालमा ‘न्यूअर द बेटर’ अर्थात् जति नयाँ त्यति राम्रो मानिन्छ जापानमा । खासगरी सन् १९८१ पछि कडा भवन संहिता पालान गरेर बनाइएका घरहरू सुरक्षित छन् । अझ सन् २००० मा त्यसमा संसोधन गरिएको छ । भुकम्प गएका बेला ठूला भवनका माथिल्ला तलामा रहेकाहरू पनि नआत्तिकन सुरक्षित बसिरहन सक्छन् । भवन जतिसुकै डरलाग्दो गरी हल्लिए पनि उनीहरूलाई थाहा हुन्छ, अन्तत यो सोझै रहन्छ ।

जापानी समाजको भुईंचालोप्रतिको सचेतना विश्वमै उदाहरणीय छ । विश्वका जोकोहीले उनीहरूबाट सिक्न सक्छन् । भुकम्प र सुनामी गइहालेमा त्यससम्बन्धी खबर संकलनका लागि रेडियो तथा टेलिभिजनहरू तम्तयार भएर बसेका हुन्छन्, यसबाट मानिसहरूले जोखिमबारे जानकारी पाउन सक्छन् । आइफोन र एन्ड्रोइड सिस्टम भएका मोबाइलहरूमा ‘युरेकुरु कल’ नामक ‘एप’ ले प्रयोगकर्ता बसेको क्षेत्रमा भूकप्म आउने सक्ने सम्भावना भए त्यसको जानकारी दिन्छ । यसलाई देशव्यापी ‘अर्लि वार्निङ सिस्टम’ कै एक हिस्साको रुपमा विकास गरिएको छ । अर्को, १७१ मा डायल गरेर ‘डिजास्टर इमर्जेन्सी मेसेज’ पाउन सकिन्छ । तेस्रो, एनएचके टेलिभिजन पनि जापानीका लागि भरपर्दो सूचना स्रोत हो । प्रसारण ऐन अनुसार ‘अर्लि वार्निङ इमर्जेन्सी रिपोटिङ’ गर्नु यो च्यानलको दायित्व नै हो । ‘जापान मेट्रोलोजिकल एजेन्सी’को वेवसाइट अर्को महत्पुर्ण सूचनाको स्रोत हो जापानीका लागि ।

विदेशी स्कुल र कम्पनीहरूले पनि विपत तयारी राम्ररी गर्नुपर्ने सोचाइ जापान सरकारको छ । ‘सरकारी निर्देशनमा मात्रै बढी भर पर्ने नगर र तिम्रो जीवनको सुरक्षा तिमी आफैं गर’ भनेर सबैलाई सुचित गरिएको छ । त्यही भएर जापानी मात्र होइन, त्यहाँ बस्ने जोकोहीमा भूकम्प साक्षरता पाइन्छ । गार्डियनले लेखेको छ, ‘ठूला भूकम्पहरूको सामना गर्न यदि कुनै देश तयार छ भने त्यो जापान हो ।’

एउटा ठूलो भुकम्पसँग जुधिरहेका बेला पनि यो देश अर्को त्यस्तै विपत्ति सामना गर्न सँधै तम्तयार भएर बसेको हुन्छ । यही विशेषताका कारण टाइम म्यागजिनले जापानलाई भनेको छ, ‘बिपत्तिको नेता’ । सन् १९२३ को भूकम्प र दोस्रो विश्वयुद्धबाट सम्हालिएर अगाडि बढेको यस मुलुकले १९९५ को भूकम्प र २०११ को भुईंचालोलाई राम्ररी व्यवस्थापन गरेर देखाएको हो । सन् १०६० यता जापानले हरेक वर्ष सेप्टेम्बर ११ मा विपत्ति रोकथाम दिवस मनाउँदै आएको छ । १९२३ को भूकम्पको वर्षगाँठ पारेर यो दिवस मनाइने गरिएको हो ।

जापानमा ठूला कम्पन हुँदा आणविक भट्टीहरू स्वत बन्द हुन्छन् । त्यहाँको प्रसिद्ध बुलेट ट्रेनले आफसेआफ गती कम गर्छ । कोबे भूकम्पपछि सरकारले भवन नियमावलीबारे मात्र पुनर्विचार गरेन । खोजी तथा उद्धार कार्यमा समेत उसले आफूलाई निपुर्ण बनायो । त्यतिबेला उसले आफ्नै देशमा रहेको अमेरिकी सेना र अन्य विदेशी सहयोग स्विकार्नमा पनि ढिलाइ गरेको थियो ।

विश्वमा गरिने जुनसुकै तयारीले पनि पृथ्वीलाई काम्नबाट रोक्न सक्दैन । तर भवन हल्लिएर ढल्नबाट र ढलिहालेमा त्यसबाट सकेसम्म जोगिन भने सिकाउँछ, जुन जापानले प्रमाणित गरेको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z