यसरी भइरहेको छ मेडिकल अत्याचार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हामी नेपाली अत्याचार गर्न पनि माहिर छौं। अत्याचार सहन त झन् भन्नै परेन। हामी जस्तोसुकै अन्याय, विभेद या थिचोमिचोलाई पनि ‘चल्छ नेपालमा’ भनी सजिलै पचाइदिन्छौं। हूलको पछी त लाग्छौं तर शान्त भइ एकपल पनि विश्लेषण गर्दैनौं हामीमाथिका क्रियाकलाप। हात धुन प्रोत्साहन दिएका सन्देश खासै मन छुने मान्दैनौं तर मान्यता नपाएका ठाउबाट यौनबर्द्धक भन्दै या स्वाट्टै दुब्लो बनाइदिने या अग्लो बनाइदिने भनी गरिएका प्रचार विश्वास गर्छौं र पछि लाग्छौं। मेडिकल क्षेत्रमा थुप्रै तरहले जानी-नजानी हामीमाथि अत्याचार भएका छन्। हामीले पत्तै नपाई पछ्याएका ती अत्याचारका कुरा क्रमवद्ध छलफल गर्नेछौं
एन्टिबायोटिक अत्याचार
एन्टिबायोटिक नामका विशिष्ट असरयुक्त औषधि अचेल पपकर्नसरी बेचिन्छन्। तपाईं कुनैपनि मेडिकल हलमा जानुस्, पखाला लागेकोछ भन्नुस्, बिना जाँच तपाईंलाइ मेडिकलवालाले एन्टिबायोटिक दिन्छन्। खानैपर्ने ओआरएस (जस्तै: जीवनजल) धेरैले दिन्नन् तर एन्टिबायोटिक ‘मेट्रोनिडाजोल’ र सके साथमा अझ अर्कोपनि एउटा एन्टिबायोटिक त पक्का दिनेछन्। बच्चालाई त्यसै दिन सकिने जिंक चक्की बरु दिन्नन् तर ढुक्कसित ‘फ्लोरोक्विनोलोन्’ ग्रुपको एन्टिबायोटिक दिनेछन्। अझ अहिले त कस्तो खतरनाक चलन चलेछ भने बच्चालाई ज्वरो आएको छ भन्नासाथ मेडिकल हलबाटै ‘एमोक्सिसिलिन’ या ‘सेफिक्सिम’ नामको एन्टिबायोटिक दिइन्छ।
धेरैजसो बच्चाको पखाला भाइरसको कारणले हुन्छ। अति नै कम पखाला हुन्छन् एमिबाजस्ता प्रोटोजोवा, तथा ब्याक्टेरियाको कारणले हुने। तिनीहरुको प्रस्तुति फरक हुन्छ, जस्तैः दिसामा रगत देखिने, चौलानी पानीजस्तो दिसा हुने, दिसामा मासी अनि पिपका कोष देखिने आदि। यिनको संकेत पाउन दिसाको जाँच जरुरी हुन्छ। अन्यथा अधिकांश पखाला ओआरएस जिंक र घरमा उपलब्ध पानीजन्य झोलबाटै ठीक हुन्छन्। जे भएपनि एन्टिबायोटिक सुरु गर्नको लागि कुनै कारण चाहिन्छ। अन्यथा जथाभावी चलाइएका एन्टिबायोटिकले फाल्तुमा खर्च र साइड-इफेक्ट बढाउने त छ नै, हाम्रो शरीरका लाभदायी किटाणुहरु मारिदिन्छन्। अनि हाम्रो शरीरकै कोषहरुमाथि पनि अनावश्यक आक्रमण गर्नेछन्। त्यो भन्दा पनि खतरनाक कुरा त केही वर्षपछि जथाभावी चलाइएका एन्टिबायोटिक कामै नलाग्ने हुन्छन्। किनभने ब्याक्टेरियाले ती जथाभावी र अपुरो प्रयोग भएका एन्टिबायोटिकलाई जित्ने उत्परिवर्तन गर्छन् केही समयमा।
तर अफसोस हामीलाई न भोलिको चिन्ता छ न अहिलेको। मेडिकलबाट पनि सहर्ष एन्टिबायोटिक दिइएकै छ, हामी लिनेले पनि जानेको मान्छेले दियो भनेर बुझ्दै नबुझी खाइरहेका छैं। न यसलाई रोक्न कुनै सरकारी निकायले पहल गरेको छ, न हाम्रा मनमा सानो प्रश्न नै जन्मिएको छ।
बच्चाका कुनै फोकस बिनाका ज्वरोहरु गहिरिएर निदान गरिनुपर्ने हुन्छन्। अन्धाधुन्ध ‘एमोक्सी या सेफिक्सिम’ दिएर निको हुने होइनन्। त्यो एक चिकित्सकको काम हो। अर्को कुरा हरेक रोगका सम्भावित किटाणुहरु हुन्छन्। र ब्याक्टेरिया नै भए पनि फरक फरक ब्याक्टेरियाका लागि सर्वेत्तम औषधि फरक फरक हुन्छन्। तसर्थ ‘ओभर द काउन्टर’ आलु चिनी सरह एमोक्सीसिलिन सेफिक्सिम आदि बाँडिनु हामी माथिको ज्यादती हो?
बच्चाका अधिकांश रुघाखोकी भाइरसले गर्दा हुन्छन्। यो सबैलाई थाहा भएको कुरो हो। र बेच्नेलाई पनि थाहा छ कि रुघाको भाइरस मर्ने औषधि हुन्न। यस्ता बच्चालाई निर्दिष्ट ब्याक्टेरियाविरुद्ध प्रयोग गरिने ‘एमोक्सिसिलिन’ नामको एन्टिबायोटिक प्रयोग गरिन्छन्। यो एक मेडिकलको समस्या हैन, तपाई जहाँ जानुस् जुनसुकै ठाउँ, जहाँतहीँ देशभरी यहि हालत छ। के एन्टिबायोटिक यसरी हचुवाको भरमा मजैले बाँड्न मिल्ने औषधि हो? के यो मेडिकल अत्याचार होइन? के यस्ता औषधि बाँड्नु पहिले कमसेकम एक स्वास्थ्यकर्मीको मद्दत लिनुस् भनिनुपर्ने होइन? रुघा लागेको बिरामीलाई एमोक्सिसिलिन दिनुभन्दा कमसेकम तातोपानी, ज्वरो भए ज्वरो कम गर्ने औषधि र स्याहार भनिदिएर खतराका संकेत भनिदिए ती एन्टिबायोटिक नचाहिने नब्बे प्रतिशत बिरामी एन्टिबायोटिकको चपेटामा फाल्तुमा पर्ने थिएनन् होला।
अनि आमाबुबा पनि अहिले ‘एन्टिबायोटिक नखाई मेरो बच्चालाई सन्चै हुन्न’ भन्ने भ्रम पाल्ने भैसकेका छन्। यो हुनुमा त्यही मेडिकल अत्याचार दोषी छ। भाइरल पखाला भाइरल ज्वरो तपाइको केयर, स्याहारले सन्चो हुन्छ न कि तपाइले दिएको अनावश्यक एन्टिबायोटिकले। किनभने एन्टिबायोटिक ब्याक्टेरिया मार्ने औषधि हो भाइरस मार्ने होइन।
खोकीका सिरपका ज्यादती
खोकीका झोल जसलाई अचेल अझै सजिलोसित ‘कफ सिरप’ नामले प्रख्याति दिइएको छ, ती सबै एकैथरी हुन्नन्। खोकी नै विभिन्न फरक प्रकृतिका कारणले लाग्ने गर्छन्। खोकीका लागि बनेका औषधि पनि थरिथरि हुने अनि ती औषधिहरु एक आपसमा मिस्रित रुपमा उत्पादित हुने हुँदा धेरै थरि खोकीका औषधिहरु बजारमा उपलब्ध छन्। तिनीहरुको सहि प्रयोग गर्न बिरामीको लक्षण विश्लेषण र चेकजाँच जरुरत पर्छ। तर अहिले देखिएको दुःख लाग्दो कुरा के छ भने रोग र खोकीको प्रकृति बुझ्दै नबुझी पसलहरुबाट खोकीका औषधि बिना जरुरत या गलत ढंगको मिश्रण बेचिएको देखिन्छ।
सर्वप्रथम रुघामात्र लागेको बच्चालाई, माथिल्लो श्वासप्रश्वासको समस्यामा, टन्सिल या कण्ठको समस्यामा पनि खुलेयाम काफ सिरप दिएको देखिन्छ। अझ एकपछि दुई तिन दिनमा अर्कोथरी कफ सिरप बाँडेको पनि देख्न सकिन्छ। अनि ‘डेक्सट्रोमेथोर्फ्यान’ ‘कोड़ेन्’ जस्ता औषधि त साना बच्चामा अत्यन्तै बिरलै दिइने औषधि हो, त्यो पनि चिकित्सकको निगरानीमा। यस्ता औषधिहरु पनि मेडिकलहरुबाट मनग्गे खुवाईसकेर बिरामी अस्पताल आउने गरेको देखिन्छ। ‘सलाइन थोपा’ मात्रै हुने ठाउँमा बच्चालाई कम दिइनुपर्ने ‘डिकन्जेस्ट्यान्ट’ नाकका थोपा दिएर पठाइदिने कुरा सामान्य भैसकेछ। यो अति दुखद कुरा हो।
खोकीका हरेक फरक मिश्रणका सिरपको फरक उपयोगिता हुन्छ। त्यसमा मिसाएका जम्मै तत्वहरु कम लाग्ने गरी दिइनुपर्नेमा खोकीकै औषधि दिइनुनपर्ने बेलामा पनि ती औषधि भिडाइनु के बिरामी माथिको ज्यादती होइन त?
भिटामिन अत्याचार
अधिकांश मेडिकलमा एन्टिबायोटिक सँगसँगै अर्को एक दुई कुरा बेचिन्छ- भिटामिन बि कम्प्लेक्स र इन्जाइम। कतिपय मेडिकल प्राक्टिसनरबाट समेत ‘शक्ति दिने र बच्चा मोटोघाटो पार्ने’ भन्दै भिटामिन दिइदोरहेछ।
सर्वप्रथम त भिटामिन शक्तिबर्द्धक कुरा होइन। भिटामिनमा कुनै इनर्जी दिने तत्व हुन्न। यी शरीरका कुनै रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गरी शरीर प्रक्रिया चुस्त राख्ने अति कम मात्रामा चाहिने सुक्ष्म तत्व हुन् जो घरको दालभात तरकारी खाने हरेक व्यक्तिमा लगभग पुरा उपलब्ध हुन्छ कुनै कुनै प्रकार बाहेक। अझ भिटामिन डी त घामको प्रत्यक्ष किरणबाटै उपलब्ध हुन्छ। जसमा निर्दिष्ट कमीका संकेत देखिन्छन् या कुनै रोग छन् या कुनै औषधिको असारमा बचेको छ उसलाई हुन्छ भिटामिनको जरुरत।अनि एन्जाइमले त्यो भाइरल रुघा या पखाला लागेको बच्चालाई कुनै जादु गर्ने छैन। एन्जाइम दिनपर्ने अति कम र निर्दिष्ट उपयोगिता छन् जसको लागि मेडिकल प्राक्टिसनरको परामर्श जरुरत पर्दछ।
तर मेडिकलबाट हरेक बिरामीलाई बिना जाँच बिना परामर्श खुलेयाम बेच्न पाइने किराना माल जस्तो भएछ भिटामिन अचेल। बिचरा बिरामी या बाउआमालाई एकातिर अनावश्यक एन्टिबायोटिकको बोझ अर्को तिर फाल्तुमा भिटामिनको घाँडो। के यो मेडिकल अत्याचार होइन? कसले हेर्ने यो मनोमानी?
साथमा बाउ आमाले पनि अब यो बुझ्न जरुरी छ कि भिटामिनले शक्ति दिने होइन। भिटामिनले मोटोघाटो हुने होइन। मोटोघाटो हुने तपाइको घरको दालभात रोटीले हो। सानो बच्चालाई आमाको दुध अनि पछि जाउलो लिटो र खानाले हो। तपाइको बच्चालाई कुनै अन्तरंग रोग छैन भने बिहान दिउसो बेलुकी तपाइको भान्सामा बन्ने खानाले बनाउँछ हृष्टपुष्ट न कि कुनै भिटामिनको झोलले। बट्टामा किनेको झोल भिटामिन भन्दा तपाई आफ्नो घरमा भएको प्राकृतिक तरकारी फलफुल खुवाउनुस्, पर्याप्त भिटामिन र खनिज पदार्थ पाइन्छ त्यसमा। यदि तपाईं छ महिनासम्मको बच्चालाई आमाको मात्र स्तनपान गराउनुहुन्न त्यो जायज होइन। अझ बोतलबाट दुध पिलाउनुहुन्छ भने त झनै नराम्रो। अनि घरमा भएको दुध बेचेर प्यारा छोराछोरीलाई कोल्ड ड्रिंक्स पिलाउनुहुन्छ भने या घरको फलफुल, हरियो तरकारी बेचेर न्युट्रेल्लाका डल्ला र मेडिकलबाट भिटामिनको बोतल किनेर खुवाउनुहुन्छ भने तपाईं बाबुआमा पनि आफ्नो सन्तति माथि अत्याचार गर्दै हुनुहुन्छ।
मैले भनिहालें, हामी अत्याचार गर्न र अत्याचार सहन दुबैमा माहिर छौं। हामी सजिलै विश्वास गर्छौं अफवाहको तर हामीलाई गाह्रे पर्छ वैज्ञानिक रुपमा प्रमाणित सल्लाह मान्नलाई। त्यसैले त १० दिन जिंक चक्की खुवाउन्नौं हामी बच्चालाई। तर मेडिकलबाट निराधार चलाएको एन्टिबायोटिक निर्धक्क खुवाउछौँ। यसमा हामी सचेत रहन जरुरी छ। मेडिकल क्षेत्रका यस्ता थुप्रै वेवास्ता गरिएका अत्याचारको बारेमा हामी छलफल गरिरहनेछौं। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z