सामान्य बन्दै सप्तरी, कर्फ्यू हट्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राजविराज : राजमार्गको अवरोध हटाउने क्रममा शनिबार राति तीन प्रदर्शनकारी मारिएपछि अशान्त बनेको सप्तरी सदरमुकाम राजविराज र राजमार्ग क्षेत्र मंगलबारबाट अचानक शान्त बनेको छ ।


मधेसी मोर्चाले गरेको उग्र प्रदर्शनले हिंश्रक रुप लिँदा सुरक्षाकर्मीसँग भएको झडपमा शनिबार यतामात्रै चार जनाबढी मारिएका थिए ।


मंगलबार दिउँसो आन्दोलनरत मधेसी मोर्चा र स्थानीय प्रशासनबीच भएको मौखिक सहमति अनुसार सप्तरीको जनजीवन सामान्यतर्फ उन्मुख भएको हो ।

मोर्चाको स्थानीय नेतृत्वले प्रहरी प्रशासनसँग हिंश्रक प्रदर्शन नगर्ने र सरकारी कार्यालय तोडफोड नगर्ने मौखिक सहमति जनाएपछि राजविराज र राजमार्गक्षेत्रमा परितालित सुरक्षाकर्मी व्यारेक फर्किएका छन् ।

‘आन्दोलनकारीहरुले शान्तिपूर्णरुपमा जुलुस गर्ने प्रतिवद्धता जनाएका छन्’, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भीम ढकालले भने, ‘जिल्लाको अवस्था सामान्य बनाउन आन्दोलनकारीले प्रतिवद्धता जनाएपछि हामीले बजार र सडक क्षेत्रबाट सुरक्षाकर्मीलाई फर्काएका छौं ।’

मोर्चाका कार्यकर्ताहरु पनि सडक र बजार क्षेत्रबाट हटेपछि स्थानीय प्रशासनले आइतबार बिहानबाट लगाएको कफ्र्यू पनि हटाएको छ ।

प्रशासनले राजविराज नगरपालिकाको केही क्षेत्र, पूर्व–पश्चिम राजमार्गस्थित रुपनी बजार र भारदह बजारमा लगाएको कफ्र्यू मंगलबार दिउँसो तीन बजेबाट हटाएको हो ।

घुसपैठ भएपछि मोर्चा पछि हट्यो
मोर्चाको स्थानीय नेतृत्वले आन्दोलन हिंश्रक बन्दै गएपछि सडक र राजमार्गको प्रदर्शनबाट पछि हटेको हो ।

मोर्चाले केही दिनयता जारी आन्दोलनमा घुसपैठ भएको निचोड निकालेर जारी प्रदर्शनबाट पछि हट्न स्थानीय प्रशासनसँग सहमति गरेको हो ।

मोर्चाका एक नेताका अनुसार घुसपैठ भएपछि आन्दोलन नियन्त्रणबाहिर जाने निष्कर्शका साथ चार दिनयता जारी प्रदर्शनलाई रोक्ने निचोडमा पुगिएको हो

जिल्लास्थित सुरक्षा निकायले पनि शनिबार यता जारी मोर्चाको प्रदर्शनमा घुसपैठ भएको निचोड निकालेको थियो ।

दंगाग्रस्त क्षेत्र यथावत
स्थानीय प्रशासनले तीन महिनायता राजमार्गमा जारी गरिएको दंगाग्रस्त क्षेत्र भने यथावत छ ।

काठमाडौंसहितका विभिन्न स्थानमा सार्वजनिक सवारी स्कर्टिङ गरी पठाउन प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्म राजमार्गलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै आएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z