मोर्चाले जलाएको प्रहरी चौकी गाउँलेको पहलमा पुनःस्थापना
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रौतहट : आन्दोलनकारीले आगजनी गरेपछि हटाइएको रौतहटको रंगपुर प्रहरी चौकीलाई स्थानीयबासीको पहलमा पुनःस्थापित गरिएको छ ।
रौतहटको रंगपुर गाविसमा रहेको प्रहरी चौकीमा आन्दोलनकारीले गएको असोज ५ गते राति आगजनी गरेर प्रहरीलाई बस्न दिएका थिएनन ।
आगजनीबाट प्रतिक्षालय र प्रहरीले प्रयोग गर्दै आएको दुईवटा मोटरसाइकल जलेर नष्ट भएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहतमा रहेको सो प्रहरी चौकीमा ८ जना प्रहरी बस्दै आएका थिए ।
२०४५ सालमा स्थापित प्रहरी चौकीमा दुई महिनायता प्रहरी नबस्दा गाउँमा चोरी तस्करी बढेको भन्दै स्थानीय तथा आन्दोलनरत पक्षले नै प्रहरीको माग गरेका थिए ।
स्थानीयबासीसँग छलफलगरी सो चौकीमा प्रहरीहरु खटाइएको चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले बताए ।
प्रहरी चौकी रंगपुरमा प्रहरी सहयक निरीक्षक श्याम बहादुर तमाङ्गको कमाण्डमा ८ जना प्रहरी खटाइएको छ ।
प्रहरी बस्न छाडेपछि काठ तस्करी, इन्धन तस्करी बढेको र गाउमा अपराधिक घटना समेत बढ्न थालेकाले प्रहरी चौकी पुनस्थापनाका लागि पहल गरिएको थारु कल्याणकारणी सभाका जिल्ला अध्यक्ष रामआश्रय चौधरीले बताए ।
गाउँबाट प्रहरी हटेपछि सो गाविसका स्थानीयबासीले असुरक्षा महसुस गरी २७ जनाको सुरक्षा समितिसमेत गठन गरेका थिए ।
चौकी पुनःस्थापना पछि प्रहरीलाई कुनै अफ्ठयारोमा नपार्ने गाउँका अगुवाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार बिहान स्थानीय युवाहरु प्रहरीलाई बस्न चौकीको सरसफाइ गरेका थिए ।
गाउँमा शान्ति सुरक्षा कायम गर्न, चोरी तस्करी नियन्त्रण गर्न र प्रलोभनमा नपर्न डिएसपी यादवले सो चौकीमा खटाइएको प्रहरीलाइ निर्देशन दिएका छन ।
तीन महीना भन्दा लामो आन्दोलनका क्रममा गाउँगाउँमा रहेका प्रहरी चौकीका प्रहरीहरु असुरक्षित रहेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुइमहिना अघि करिव दुई दर्जन चौकीका प्रहरी अन्यत्र सारेका थिए ।
अहिले एक ठाउँबाहेक सबै चौकीमा प्रहरीहरु बसेर काम गर्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी बस्न बाँकी रहेको मठिया गाविसमा रहेको चौकीमा पनि केही दिनभित्रै प्रहरी खटाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । रौतहटमा स्थायी र अस्थायी गरी ४८ वटा प्रहरी इकाइ रहेका छन् ।
###
0 comments
Write Down Your Responses