मोर्चाका नेताबीच समन्वय नहुँदा वार्ता अनिश्चित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं–मधेसी मोर्चाका नेताहरुबीच आपसमा समन्वय नहुँदा आजको वार्ता हुने–नहुने अनिश्चित बनेको छ। सरकार तर्फको स्पस्ट धारणा नआएको कारण देखाएका मोर्चा नेताहरुबीच आपसमै समन्वय र छलफल हुन सकेको छैन। मोर्चाका नेताहरुबाट वार्ताबारे फरक–फरक धारणा आएको छ।


आज बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको वार्ताबारे थाहा नपाएको बताएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चाकै नेताहरुको सम्पर्कमा छैनन्। यादवले वार्ताबारे आफूलाई कुनै जानकारी नआएको बताएका छन्। यादव मोर्चाकै नेताहरुसँग आज छलफलमा सहभागी छैनन्।

'उपेन्द्रजीसँग सम्पर्क र छलफल हुन सकेको छैन,' मोर्चा तर्फको वार्ता टोलीका सदस्य एवं तराइ मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले नागरिकन्युजसँग भने 'पहिले मोर्चाका नेताबीच भेटघाट र छलफल भएपछि वार्तामा जाने–नजाने टुंगो लाग्नेछ।'

रायका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित पार्टी कार्यालयमा उपलब्ध मोर्चाका नेताहरुबीच केहीबेरमा भेटघाट हुने तय भएको छ। तर उक्त बैठकमा उपेन्द्र यादवको सहभागिता निश्चित भएको छैन। 'यादवजीसँग सम्पर्क भएको छैन, हेरौं हाम्रो भेटघाट पछि नै के हुन्छ भन्ने थाह होला।' रायले भने।

सद्भावना पार्टीका सह अध्यक्ष एवं वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले प्रधानमन्त्री कार्यालयबाट वार्तामा आउनका लागि टेलिफोन माफर्त जानकारी आएको बताए। 'सबैलाई टोलिफोनबाट वार्ताको जानकारी आएको छ,' कर्णले भने 'वार्तामा जाने नजानेबारे हाम्रो सहमति पछि टुंगो लाग्नेछ।'

सरकारमा साझेदार एमाले, एमाओवादीसहितका दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने तय भएकाे थियो।

४ बजे नेपाली कांग्रेस सहित प्रमुख तीन दल र ५ बजे मधेसी मोर्चासँग वार्ता हुने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालले बताएका थिए। प्रधानमन्त्रीले साँझ ५ बजे वार्ता हुने अाफ्नो ट्विटरबाट अाधिकारिक जानकारी गराइसकेका छन्।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z