हवाई भाडा १८ प्रतिशत घट्यो (सूचीसहित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अधिकतम करिब साढे १८ प्रतिशतसम्म घटाउने निर्णय गरेका छन्। घटेको भाडा दर बिहीबार (फागुन ६) बाट लागु हुने छ। नेपाल आयल निगमले मंगलबारबाट 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर ५५.८८ रुपैयाँका दरले घटाएर प्रतिलिटर १ सय ९ रुपैयाँमा झारेपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले बुधबार हवाई भाडा घटाउने निर्णय गरेको हो। बुधबारसम्म हवाई इन्धनको भाउ प्रतिलिटर १६४.८८ रुपैयाँ छ।

इन्धनको भाउ ३३.८९ प्रतिशतले घटेपछि वायुसेवा कम्पनीहरूले न्यूनतम १६.२६ प्रतिशतदेखि अधिकतम १८.३१ प्रतिशतसम्म हवाई भाडा घटाउने निर्णय गरेका हुन्। हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले 'फ्युल सरचार्ज' शीर्षकमा थपघट गर्ने गर्छन्। यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ। वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको/बढेको रूपमै लिन्छन्।

'हवाई इन्धनको भाउ घटेपछि फ्युल सरचार्ज घटाउने निर्णय गरेका छौं,' संघको सदस्य सिमि्रक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले बुधबार नागरिकसँग भने, 'भाडा घटेपछि यात्रु संख्या बढ्ने आशा छ। हाम्रो निर्णयबाट यात्रुलाई केही सहज हुने विश्वास पनि गरेका छौं।'

यसअघि माघ ५ मा पनि वायुसेवाहरूले हवाई भाडा लगभग यही दरमा घटाएका थिए। त्यसबेला आयल निगमले हवाई इन्धनको भाउ साढे २९ प्रतिशतले घटाएपछि भाडा घटेको थियो। त्यसअघि निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १ सय १५ रुपैयाँका दरले बढाएर प्रतिलिटर २ सय ३३ रुपैयाँ पुर्याणएपछि गत कात्तिक २३ मा संघले एकैचोटि अधिकतम ७१ प्रतिशतसम्म हवाई भाडा बढाएको थियो। मुलुकको उड्डयन इतिहासमै पहिलो पटक यति भारी परिमाणमा भाडा वृद्धि भएको थियो।

संघका अनुसार बुधबारको निर्णयअनुसार न्यूनतम ६ सय २० देखि अधिकतम २ हजार १ सय ३५ रुपैयाँसम्म सरचार्ज घटाउने निर्णय भएको छ। अब बिहीबारदेखि काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ७ सय ६५ रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १० हजार ९ सय ९० रुपैयाँ तिरे पुग्छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। बुधबारसम्म सिमरा जान ३ हजार ३ सय ८५ र धनगढी जान १३ हजार १ सय २५ रुपैयाँ पर्थ्यो। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन्।

अब माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ हजार ६५ रुपैयाँ, पोखरा ९ सय ३०, भैरहवा १ हजार १ सय ३५, विराटनगर १ हजार २ सय ७०, नेपालगन्ज १ हजार ६ सय १५, भद्रपुर १ हजार ५ सय १५, तुम्लिङटार १ हजार १ सय ३५, जनकपुर ८ सय २५ र भरतपुरलाई ७ सय २० रुपैयाँ कम तिरे पुग्छ।

त्यसैगरी बिहीबारदेखि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ९ हजार ३ सय ८५ रुपैयाँ, पोखरा जान ४ हजार ३ सय ५५, भैरहवा ५ हजार ५ सय ५, विराटनगर ६ हजार २ सय ९०, नेपालगन्ज ८ हजार २ सय ५०, भद्रपुर ७ हजार २ सय ६०, तुम्लिङटार ५ हजार १ सय ९०, जनकपुर ३ हजार ८ सय ४५ र भरतपुर जान ३ हजार २ सय २५ रुपैयाँमात्र लाग्छ।

त्यस्तै काठमाडौंबाट लुक्ला जान अब ६ हजार २ सय ८३ रुपैयाँमात्र तिरे पुग्छ। यसमा ७ सय ५७ रुपैयाँ घटेको हो। जोमसोमका लागि ४ सय ४५ रुपैयाँ घटेर २ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ।

वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको भाउ पेट्रोलका दाँजोमा कम हुने गरे पनि नेपालमा उल्टो हुँदै आएको छ।

प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ। सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ। सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो।


###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z