धरहराभन्दा पहिला टहरा बनाऊँ, प्रधानमन्त्रीज्यू!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
म प्रधानमन्त्री ओलीलाई उनको राष्ट्रवादी अडानको कारण सम्मान गर्छु। भारतसँगको अडानमा नझुक्नु र स्वतन्त्र राष्ट्रको गरिमा बचाई राख्ने सवालमा अहिलेसम्मका प्रधानमन्त्रीहरुभन्दा धेरै अघि छन ओली। कसैले यसलाई खोक्रो राष्ट्रवाद त कसैले उखाने सरकारको भुत्ते राष्ट्रवाद भनेपनि राष्ट्रियताको सवालमा यो सरकारलाई सस्ता शब्दहरुको प्रयोग अझै नगरिहालौं भन्ने मेरो ब्यक्तिगत मान्यता हो। तर म हनुमान बनेर उनको तारिफÞ मात्रै गरिरहन सक्दिनँ।

हो, सरकार गठन भएको परिस्थिति सामान्य थिएन। महाविनाशकारी भूकम्प र बेला बेलाका पराकम्पन, पुनर्निर्माणको महाअभियान, मधेस केन्द्रित दलहरुको आन्दोलन, संविधानको सफल कार्यान्वयन र देशी विदेशी षड्यन्त्र चिर्न ओलीलाई फलामको च्यूरा चपाउनु सरह थियो। अर्को बिडम्वना देशको ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिर थियो।

तर सरकारमा बस्नेले चाहेमा धेरै काम गर्न सकिन्थ्यो, भाग्यले बाँचेकाहरुमा खुसीको रौनकÞ छर्न सकिन्थ्यो, छिमेकीले घाँटी निमोठेको बेला पनि पुनर्निर्माणको गतिलाई धेरै हदसम्म बढाउन सकिन्थ्यो। दुनियाँमा नमूना बन्न सकिन्थ्यो।
राज्यसत्ता चलाउनेले भूकम्प पिडित पुनर्स्थापन संबन्धि काम तुरन्त तदारुकताका साथ गर्ने र प्रतिपक्षहरुले रचनात्मक सहयोग गर्ने बेला हो यो। डा. रविन्द्र समीर, धुर्मुस सुन्तली र बिवेकशीलका ठिटाहरु र एनआरएनहरुले पूरै देश संचो गराउन सक्दैनन।

हो, ओलीजीलाई  कमल थापादेखि चित्र बहादुर केसीलाई एउटै ट्रयाकमा हिँडाउनु कठिन थियो तर हिँडाए, भूकम्पले थिलोथिलो भएको देशमा मधेसी दलहरुले काँध थापेर मच्याएको नाकाबन्दीसँग प्रतिकार गर्नु थियो। ओलीले ती सबै गरे। तर यसबिचमा ओलीले गर्ने भन्दापनि बोलेरै बिराए हुन त उनीभन्दा पहिलेका प्रधानमन्त्रीहरुले नबोलेरै बिगारेका पनि हुन।

हो, भारतको हैकमवादी प्रवृति र मधेसी नेताहरुको सत्ता सोपानविरुद्ध उनले बोलेरै राम्रो गरेका हुन। भारत भ्रमणको क्रममा उनी कति बोल्ने र कति अडान लिन सक्ने हुन यो हेर्न धेरै दिन कुर्नु नपर्ला।

तर देश चलाउनेहरुले बोलेर मात्र होइन गरेर देखाउनु पर्छ। लोकतन्त्रमा सरकारको दायित्व जनताप्रति हुनुपर्छ र केन्द्रबिन्दु जनता हुनुपर्छ। सरकारले नाकाबन्दीमा कालोबजारी गर्नेलाई न कारबाही गर्न सक्यो न त भूकम्प पिडितहरुको पुनस्र्थापनामा राज्यका अंगहरुले उल्लेख्य काम गर्न सके। भूकम्प र नाकाबन्दीका बीच कालोबजारी गरेर बनेका नवधनाढ्यहरुलाई सरकारले भेट्न सकेन वा पहिलेका सरकारहरुले जस्तै भेट्न चाहेन। जनता बचाउनभन्दा सत्ता बचाउन आवश्यक ठानियो।

राज्यकै स्रोतमा धरहरा बनाउने प्रधानमन्त्री ओलीको पछिल्लो कुरा अहिले चर्चामा छ। अझ प्रधानमन्त्रीले धरहरा बनाउन आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरे जुन स्वागतयोग्य छ।
तर प्रधानमंत्रीज्यू! यसको साथै एक महिना अलि चनाखो भएरै भ्रष्टाचार रोक्नुस् धरहरा सहित जनताका टहरा पनि बन्नेछन। नेपाल संसारको अति भ्रष्टाचार हुने देश हुनेतर्फ वर्षेनि लम्किरहेको छ।

सारा विश्वले गर्व गर्ने नेपाली मनको सानो सगरमाथा अर्थात धरहरा हाम्रै पौरखले बन्नु पर्छ, तर अहिले नै धरहरा नबनाउँदैमा पहाड खस्दैन, बरु दश महिनादेखि आकास ओढेर बस्ने भूकम्पमा भाग्यले बाँचेकाहरुको लागि टहरा बनाउन जरुरी छ, भत्केका स्कूल र स्वास्थ्य चौकी बनाउनुछ।

राज्यसत्ता चलाउनेले भूकम्पपिडित पुनस्र्थापना सम्बन्धी काम तुरुन्त  तदारुकताका साथ गर्ने र प्रतिपक्षहरुले रचनात्मक सहयोग गर्ने बेला हो यो।

धरहरा अवश्य नै नेपाल र नेपालीको सान हो, यो बन्नुपर्छ र सबै नेपालीको प्रयासले बन्छ तत्काल यसलाई भूकम्पले गरेको बिनाशको उदाहरण आगामी सन्ततिलाई देखाएर पनि उनीहरुलाई जीवन्त पाठ बन्न सक्छ, भावी सन्ततिहरु सजग हुनसक्छन। धरहरा उस्तै दुरुस्तै तर त्यही ठाउँ या अर्कै ठाउँमा बनाउँला तर त्यसभन्दा पहिले जनता बस्ने टहरा (गरीबको त घर भनेपनि टहरै त हो नि) बन्नुपर्छ, जनताहरु टहरादेखि धरहरा बनाउन उठ्ने छन, स्वदेश विदेशमा बस्ने नेपालीले धरहरा बनाउने नै छौ। तर पहिले टहरा बनाउने काम गरौं न है।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z