लाज ढाक्ने वस्त्र नहुनेलाई लिपिस्टिकको के अर्थ!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
‘च्यारिटीको’ भरमा कहिलेसम्म चल्छ देश ?
हिन्दु धर्ममा ’दान’को आफ्नै महत्व छ।सिदादान, कन्यादान, गौदान, द्रब्यदान, भिक्षादान आदि ! ८० प्रतिशतभन्दा बढी हिन्दुहरु भएको नेपाली समाजमा यस
को महत्व हुने नै भयो।

दान दिनु पुण्यको काम हो।सामथ्र्य हुनेले असहाय, दुखी र अभावमा भएकालाई दिनु मानवधर्म हो। यसर्थ दान दिने व्यक्ति सर्वत्र पूजित हुन्छ।समय सधँै एकनास हुँदैन।

अभाव र संकटका बेला मान्छे दान लिन, माग्न बाध्य हुन्छ।तर त्यहि ‘दान’लाई नै उसले आफ्नो जीवन जिउने माध्यम बनाउँछ भने चाहिं उ ’मगन्ते’ वा ’भिखारी’ कहलाउँछ।नेपाली समाजको हरेक तहमा यो ’मगन्ते’ प्रवृति हावी छ। देशभित्र मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वका विभिन्न देशहरुले नेपाललाई गरिब, अविकसित र पिछडिएको देश भनेर विभिन्न शीर्षकमा ऋण तथा अनुदान दिंदै आएको छ।

२०७२ सालको महाभूकम्प पछि त दानको यो सिलसिला ह्वात्तै बढेको छ। चरम अभाव, प्राकृतिक संकट र आयआर्जनको मध्यम नहुँदा जनताहरु दाताको दानमै निर्भर रहनुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ।दाता सम्मेलन र दान संकलनको ’सर्वोत्कृष्ट’ उपलब्धि त हाम्रा मन्त्रीज्युले जित्नु भएको अन्तर्राष्ट्रिय पुरस्कारमै झल्किन्छ ।

केही दिन अघि हिजो फेरि अर्को गज्जबको समाचार सुन्न, पढ्न पाइयो। प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वैशाखको विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि आफ्नो एक महिनाको तलव दिने! उनको त्यस्तो घोषणापछि फेरि मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब धरहरा पुनर्निर्माणको लागि दिने घोषणा गरे।

उक्त अभियानमा  उपराष्ट्रपति नन्दबहादुर पुन थपिए। वाह! हाम्रा मनकारी नेताज्यूहरु! यो घोषणाको धेरैजनाले स्वागत र जयजयकार गरिरहेको अवस्थामा मेरो अलि फरक धारणा छ। मैले नकारात्मकता फैलाएको जस्तो वा ’जे गरेपनि जस नदिने’ परिपाटीलाई बढावा दिए जस्तो देखिन सक्ला। तर मैले उठान गरेको बिषय पनि सोचनीय छ जस्तो लाग्छ।

पहिलो कुरा, प्रधानमन्त्रीज्युको प्राथमिकतामा मान्छेहरुका भत्किएका घरहरुभन्दा धरहरा परेछ। म मान्छु धरहराको आफ्नै ऐतिहासिक महत्व छ। तर मुर्तिभन्दा मान्छे महत्वपूर्ण लाग्छ मलाई। ‘प्राथमिकता’ भन्ने शब्द शब्दकोशमा उसै आएको होइन। जसको घरमा भरे खाने चामल र सुत्ने सिरकको जोहो छ, उसलाई त यो कदम एकदम सही लाग्दो हो।

तर जस जसको पानी चुहिने त्रिपाल मुनिको चुल्हो चिसै छ, उनीहरुले कसरी गरुन् ती मन्त्रीहरुको जयजयकार! जसको लाज ढाक्ने बस्त्र छैन उसलाई श्रृङ्गारको लिपिस्टिक, पाउडर के काम?  सायद वहाँहरुलाई मानवीय चोटहरुले भन्दा भौतिक क्षतिहरुले बढी पीडा दिँदो हो, त्यसैले त आज पनि सयौं बालबालिकाहरु दिनहुँ स्कूल जान लट्ठाले च्यापिएको रगतपच्छे हातहरु लिएर जीवनकै तुईन तरिरहन्छन्। प्रधानमन्त्रीज्यु भाषण माथि भाषण मात्रै ठोकिरहनुहुन्छ ‘एक बर्षमा तुइन भेटे फोटो खिचेर ल्याउनु!’ कहाँ कहाँ तुइन हटाएर पुल बने कतै पढ्न, सुन्न पाइएको छैन।हुनत धरहरा पुनर्निर्माणको पनि अहिलेलाई घोषणामात्र सुन्न पाइएको हो।कहिले, कसरी शुरु हुँदैछ धरहरा पुनर्निर्माण कसैलाई थाहा छैन !

दोस्रो महत्वपुर्ण कुरा, प्रधानमन्त्रीज्यु! यो दानको सिलसिला कहिलेसम्म?  तपाईंको अनुशरण अरुले गर्लान, दाताहरुको संख्या अझ बढ्ला। सरसर्ती हेर्दा यो राम्रो देखिएला। तर  ‘च्यारिटी’ बाट कतिन्जेल चल्छ देश? दानबाट कति सम्भव छ विकास ? दानको आवश्यकता तबसम्म रहन्छ जबसम्म अभाव रहन्छ। जबसम्म जनता आफ्नो रोजीरोटीको जोहो आफै गर्न सक्दैनन् तबसम्म। जबसम्म तपाईंको सरकारले जनतालाई आफ्नो रोटी आफैं कमाउने वातावरण दिंदैन तबसम्म।  तपाईं किन जनतालाई त्यो अभाव मेट्ने कार्यक्रम दिन सक्नुहुन्न? कहिले बन्छन सबै नेपाली स्वाबलम्बी?

प्रधानमन्त्रीज्यु, जनताले खासमा तपाईंबाट चाहेको ’काम’ हो, एक महिनाको तलब ’दान’ होइन।तपाईंलाई चाहिने जति तलब लिनुहोस्।अहिले पाईआएको तलबभत्ता साँच्चै अपुग छ भने अझ थपेर लिनुहोस्।मान्छेले आफ्नो दक्षता, क्षमता र कामको पारिश्रमिक जहाँ पनि पाउँछ र पाउनु पर्छ।तलब लिनुहोस् अनि काम गरेर देखाउनुहोस्। तपाईं देशको सर्बोच्च पदमा आसिन व्यक्ति! नेपालमा अहिले न तपाईं को जति सामथ्र्य अरु कसैसँग छ न त अरु कसैको काँधमा त्यति ठूलो अभिभारा! सोच्नुहोस त, के के गर्नु पर्नेछ तपाईंले।तपाईं आफैले ‘गर्छु गर्छु’ ‘गरेरै देखाउने हो’ भनेकै कामहरु औंलामा गन्न नसकिने भैसके! ‘साझा सवाल’को ‘सरकारका ५ महिनाका उपलब्धिहरु’ विषयवस्तु भएको कार्यक्रममा सरकारका कमसेकम ५ वटा ठोस उपलब्धिहरु भन्न सकेनन तपाईंका उपप्रधानमन्त्रीज्युले। उनले कुरा घुमाए। जनताले हाँसेर थपडी बजाए ‘जुन जोगी आए पनि कानै चिरेका!

देशलाई दानको हैन, हरेक देशवासीले अर्थोपार्जन गरे बापत तिर्ने करको खाचो छ। चाहे त्यो जुनसुकै क्षेत्रबाट किन नहोस्। त्यसैले दान सङ्कलन होइन कर सङ्कलन गर्नेतिर लाग्नुहोस्। देशको जनशक्तिलाई विकास निर्माण, उद्योग, व्यापार र कृषिमा संलग्न गराउनुहोस्। विदेशिएकालाई देशमै फर्काएर देशकै लागि श्रम, सिप र अर्थ लगानी गर्ने बाताबरण बनाइदिनुहोस्।कोहि बेरोजगार नरहुन् सबैले काम गरुन् अनि कर तिरुन्, धेरैभन्दा धेरै राजस्व उठोस्। देशको अर्थतन्त्र सबल पार्नुहोस्। धरहरा देशको साझा सम्पति हो।

त्यो देशकै ढुकुटीको पैसाले बन्नु पर्छ जसमा तपाईंको र हर एक नेपाली नागरिकको योगदान होस्। यसको लागि न तपाईंले चन्दा दिनु पर्छ, न अरु स्वदेश वा बिदेशमा बस्ने नेपालीहरुले। देशलाई यति समृद्ध बनाइदिनुहोस् कि कसैलाई कसैको दानको आवश्यकता नपरोस्। तब बन्नेछौं हामी नेपाली साँच्चिकै स्वाभिमानी !
( हाल: फिनल्याण्ड)
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z