भान्सामा सिलिण्डरको म्याद गुज्रिएको त छैन, कसरी थाहा पाउने ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बेलाबेलामा ग्यास सिलिण्डर लिक हुने, विष्फोट हुने जस्ता घटनाहरु सार्वजनिक हुने गरेका छन्। कतिपय सिलिण्डर म्याद सकिएको लामो समयसम्म पनि प्रयोगमा ल्याइरहँदा समेत यस्ता घटनाहरु दोहोरिने गरेको पाइन्छ। सर्वसाधारणलाई सिलिण्डरको म्यादका सम्वन्धमा जानकारीको अभाव हुँदा पनि जोखिम मोल्न बाध्य भएका छन्।

आफ्नो भान्सामा प्रयोग भएको सिलिण्डरको म्याद जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन्। सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा लण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन्।

वाणिज्य विभागबाट पछिल्लो समयमा अनुगमन गरिरहेका अधिकारी गिरीराज भट्टराईका अनुसार सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन्।

ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबु्रअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ।

त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २०’ लेखिएको सिलिण्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ।

एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइन्छ। यसअघि आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वमा धादिङका ग्यास उद्योगमा अनुगमन गर्दा हाइड्रोलिक टेष्ट नै नगरी सिलिण्डरमा रङ लगाएर ग्यास फिलिङ गर्ने गरेको पाइएको हो।

हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। नेपाल आयल निगम वितरण शाखा प्रमुख मुकुन्द घिमिरेका अनुसार सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन।

सिलण्डरको म्याद मात्रै होइन, सिलिण्डरको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ। विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ। फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन। केही सिलिण्डरको तौल १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ।

यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ। सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ।

सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ। लेखिएको फलामको सिलिण्डरको तौल र ग्यासको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन्। ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मा तौल जोड्दा आउने योगफल मिल्नुपर्दछ। अन्यथा ग्यासको तौलमा घटीबढी भएको बुझ्न सकिन्छ।

यसरी भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि सावधानी अपनाउन सकिन्छ। त्यस्तै सिलिण्डरमा फलामको तौल र ग्यासको तौल जोड्दा आउने कुल योगफल पनि सबैले चेक जाँच गर्नु जरुरी छ। यसबाट ग्यासको तौलमा कमी गराएर हुन सक्ने ठगीबाट जोगिन सहयोग पुग्छ नै सम्वन्धित पक्षलाई पनि सही तौल कायम राख्न दवाव पुग्दछ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z