प्लेनमा खुट्टा खुम्च्याएर नबसौं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
डा. सन्दीपराज पाण्डे |


हुन त हामीमध्ये कति त्यस्ता भाग्यमानी छौं, जसले बारम्बार लामो उडानमार्फत देशविदेशको सयर गर्ने मौका पाएका छौं होला । तर त्यसरी लामो उडानमा बारम्बार जानुपर्ने अवसर भएकाहरू सबै सधैं भाग्यमानी नहुन सक्छन् । लामो समयसम्मको हवाईयात्रा थोरैलाई रोमाञ्चक पनि हुन सक्ला, तर धेरैलाई धेरै हदसम्म पट्यारलाग्दो अवश्य हुन्छ । कहिलेकाहीँ त त्यो अभिशाप पनि बन्न सक्छ ।

लामो उडान (विशेषगरी आठ घन्टाभन्दा बढीको निरन्तर उडान) निश्चय नै रोमाञ्चकभन्दा दिक्दारलाग्दो होला भन्ने म ठान्छु । लामो समयको उडान भर्दा यदि आवश्यक सावधानी नअपनाउने हो भने कोही÷कुनै यात्रुका लागि अभिशाप पनि बन्न सक्छ । तिनको ज्यानै गुम्ने खतरा समेत हुन सक्छ । खासगरी लामो उडान भर्दा अपनाउनु पर्ने सावधानीहरूमा ठीकसँग बस्नुपर्ने, बेलाबेलामा हलचल गर्नुपर्ने; प्रशस्त मात्रामा पानीलगायतका तरल पदार्थ पिउने कुरा र केही समयको अन्तरालमा थोरै भए पनि हिँड्डुल गर्नुपर्ने हुन्छ ।


यस्ता विषयमा परिचारिकाले पनि यात्रुहरूलाई सिकाउनुपर्ने जरुरी देखिन्छ । तर ती सबको जिम्मेवारी बोध र व्यवस्थापन भने विमान सञ्चालक कम्पनीकै हुन आउँछ । विमान कम्पनीले जसरी सुरक्षाका विविध विधिहरू र प्राणवायुको प्रयोगबारे यात्रुलाई जानकारी गराउँछन्, त्यसरी नै कसरी सिटमा बस्ने, कति अन्तरालमा कति तरल पदार्थ पिउने, के पिउने; के नपिउने, कस्ता खाना खाने, कस्ता नखाने आदि सिकाउनुपर्ने अपरिहार्यता छ जस्तो मलाई लाग्छ । एयरलाइन्सहरूमा पनि यात्रुलाई तरल पदार्थ सेवन र हलचलको महत्त्व बुझाउने प्रक्रिया आवश्यक छ ।

विमानमा मात्रै नभएर साना, साँघुरिएका सिट भएका मोटरगाडीमा र मितव्ययी कक्षको टिकट लिएर रेलयात्रा गर्ने यात्रुहरू र व्यवस्थापन पक्ष दुवैले त्यस सम्बन्धमा सचेत हुन जरुरी छ ।
उडानका समयमा यात्रुहरूमा तरल पदार्थको सेवन निकै कम हुन्छ । यही कारणले निर्जलीकरण र अचलताको संयोजनले यिनीहरूमा रगत बाक्लिन्छ र जम्न थाल्छ । चरम अवस्थामा यी रगतका ढिक्काहरू फोक्सोमा स्थानान्तरण हुन पुग्छन्, फोक्सो अवरुद्ध हुनसक्छ ।
अति अशक्त बिरामीहरूको उपचारको सिलसिलामा लामो हवाईयात्रा गर्नु÷गराउनु पर्दा छुट्टै÷विशेष विमान (एयर एम्बुलेन्स) को व्यवस्था गरिन्छ भने वयष्क उमेरका सामान्य व्यक्तिहरूले समेत आफू लामो हवाईयात्रामा निस्कनुपूर्व आफ्नो शारीरिक जाँच गराउनु बुद्धिमानी हुनेछ । लिपिड प्रोफाइलजस्ता रगत जाँचमार्फत रगतका सबै जाँचहरू गराउनु, रगतको प्रकृति, रगतमा बोसो भए÷नभएको र रक्तसञ्चार सम्बन्धित अन्य तथ्यहरू थाहा पाई चिकित्सकको सल्लाह–सुझावबमोजिम औषधोपचार गराउनु श्रेयष्कर हुन्छ ।

कुनै लामो हवाई उडानद्वारा कहीँ कतै भ्रमणमा निस्कने जो कोहीले एक पटक चिकित्सकको सल्लाह लिई लामो यात्रा गर्दा आइपर्न सक्ने जोखिमबाट बच्ने उपायहरू अपनाउन बुद्धिमानी हुन्छ । ती सबका बाबजुद लामो हवाई उडानमार्फत यात्रा गर्दा जोखिममा रहेका बाहेकले पनि एकनासले बस्ने, खुट्टाहरू खुम्च्याएर लामो समयसम्म बस्ने, लगातार चलचित्र हेर्ने आदि नगरी बेला बेलामा आफ्नो हातगोडाहरू तन्काउने, सम्भव भएसम्म खुट्टाहरू पूरा तन्काएर बस्ने, शौचालय जाने बहानामै भए पनि समयसमयको अन्तरालमा हिँड्डुल गर्ने र प्रशस्त मात्रामा पानी पिउने गर्नु बुद्धिमानी हुनेछ ।

यद्यपि रक्तनलीसम्बन्धी रोग भएका, रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोल भएका र रगतको प्रकृति बाक्लो भई शरीरका विविध रक्तनलीहरू (विशेषगरी शिराहरूमा) मा रगत जम्न सक्ने सम्भावना भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउनु आवश्यक हुन्छ । यी त भए सामान्य जानकारी । यहाँ एउटा घटित वास्तविक घटनाबारे पनि थाहा पाइराखौं ।

अन्तर्राष्ट्रिय चिकित्साकर्मीको भनाइअनुसार हालसालै, दुबईदेखि न्युजिल्यान्डसम्मको एक लामो उडानका क्रममा रक्तनलीहरूमा रगत जमेर ‘जोनाह लाहमु' नामक न्युजिल्यान्डका ४० वर्षीय एक नागरिकको मृत्यु भएको थियो । त्यस घटनाले अन्तर्राष्ट्रिय छापाहरूमा स्थान पाएको थियो । अन्तर्राष्ट्रिय रग्बी खेलाडी निज लाहमु निकै हृष्टपुष्ट र तन्दुरुष्ट मानिन्थे ।

आठ घन्टाभन्दा बढी समय हवाईयात्रामा बिताउने लामो दूरीका यात्रुहरूमा सामान्यतया ‘डिप भिन थ्रम्बोसिस' (रक्तनलीहरूमा रगत जम्ने क्रिया) देखा पर्छ । सहुलियत भाडादरको कक्षमा यात्रा गर्ने यात्रुहरूले उडान अवधिभर आफ्नो खुट्टा तन्काउन पाउँदैनन् र कोचिएर बस्न बाध्य हुन्छन्, जसले गर्दा तिनीहरूमा ‘डिप भिन थ्रम्बोसिस' निम्तिन्छ । यसकारण डिप भिन थ्रम्बोसिसलाई ‘सहुलियत भाडादरको हवाई रोग' पनि भन्ने गरिन्छ ।


उडानका समयमा यात्रुहरूमा तरल पदार्थको सेवन निकै कम हुन्छ । यही कारणले निर्जलीकरण र अचलताको संयोजनले यिनीहरूमा रगत बाक्लिन्छ र जम्न थाल्छ । चरम अवस्थामा यी रगतका ढिक्काहरू फोक्सोमा स्थानान्तरण हुन पुग्छन्, फोक्सो अवरुद्ध हुनसक्छ, श्वासप्रश्वास पनि गडबड हुन सक्छ । फोक्सोले सही तरिकाले काम नगर्दा श्वासप्रश्वासमा गडबडी हुन्छ । कहिलेकाहीँ हृदयाघातको कारक पनि बन्न सक्छ । यो घातक साबित हुन सक्छ । धेरै अवस्थामा यसलाई हृदयाघातकै रूपमा चित्रण गरिन्छ ।

लामो उडानमा मानिसहरू हलचल नै नगरी एकपछि अर्को चलचित्र हेरेर बस्दछन् । उनीहरू यति मन्त्रमुग्ध हुन्छन् कि समयसमयमा तरल पदार्थ पिउन पनि बिर्सन्छन् । यसकारण यात्रीमा खुट्टा दुख्ने समस्या आइपर्छ । यसपछि श्वासप्रश्वासमा समस्या देखापर्छ । क्रमशः यी यात्रीलाई ‘डिप भिन थ्रम्बोसिस' हुन्छ, जसले कालान्तरमा ‘पल्मोनरी इम्बोलिजम्' (जमेका रगतका ढिक्काहरू फोक्सोमा पुगेर अड्किने) को समस्या निम्त्याउँछ ।

पल्मोनरी इम्बोलिजम् भनेकै फोक्सोका एक वा सोभन्दा बढी पल्मोनरी आर्टरी (रक्तनली) अवरुद्ध हुनु हो । जो अन्ततः हृदयाघातमा परिणत हुन सक्छ । तसर्थ लामो उडानका अवधिमा मादक पदार्थबाहेकका अन्य तरल पदार्थहरू प्रशस्त मात्रामा पिउनु अत्यन्तै जरुरी छ ।

रोग रोकथाम
– दैनिक र नियमित व्यायाम गर्ने,
– धूमपान पूर्णतया बर्जित गर्ने,
– प्रशस्त मात्रामा पानी पिउने,
– अनावश्यक÷अप्राकृतिक तौल र मोटोपना नियन्त्रण गर्ने
– गर्भ निरोधक चक्कीहरू खाने वयष्क महिलाहरूले विशेष सावधानी अपनाउने र समयसमयमा भास्कुलर शल्यचिकित्सकसँग परामर्श गर्ने ।

उपचार
– साधारणतया रगत पातलो बनाउने खालका औषधिहरू प्रयोग गर्ने,
– धेरै कडा रूपमा र धेरै हदसम्म जमेका रगतका ढिक्काहरू शल्यक्रियात्मक विधिद्वारा फोड्ने र निकाल्ने,
– फोक्सोमा यदि जमेको रगत स्थानान्तरण हुन सक्ने देखिएमा त्यसलाई रोक्न एक विशेष औषधियुक्त जाली प्रत्यारोपण गर्ने,

यी नै यस रोगका उपचारका उपायहरू हुन् ।

डिप भिन थ्रम्बोसिस निम्त्याउने अन्य जोखिमका कारकहरूमा निम्न पर्दछन्ः

– वंशानुगत रूपमा रगत जम्ने समस्या भएका व्यक्तिहरू;
– लामो समयसम्म अस्पतालको बसाइ वा पक्षघात आदिका कारण लामो समयसम्म ओछ्यानमा आराम गरी हिँड्डुल गर्न थालेका व्यक्तिहरू;
– चोट वा शल्यक्रिया गराएका बिरामी, वयष्क उमेर भएका व्यक्तिहरू;
– गर्भावस्था, गर्भ निरोधक चक्की सेवन वा हर्मोन प्रतिस्थापन चिकित्सा गरेका व्यक्तिहरू;
– अधिक मोटोपना वा अस्वाभाविक तौल भएका व्यक्तिहरू;
– धूमपानका अम्मलीहरू;
– अर्बुद रोग भएका बिरामीहरू;
– हृदय विफलता भएका बिरामीहरू;
– पाचन प्रणालीसम्बन्धी रोग भएका बिरामीहरू;
– डिप भिन थ्रम्बोसिसको पूर्वइतिहास भएका रोगीहरू र
– व्यक्तिगत वा पारिवारिक इतिहास भएका अन्य व्यक्तिहरू, आदि ।

लेखक नर्भिक इन्टरनेसनल हस्पिटलका भास्कुलर/इन्डोभास्कुलर विशेषज्ञ हुन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z