प्रधानमन्त्रीलाई उडाएर के पाउँछौं हामीले?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुखी र खुशी जीवन मान्छेको सपना हो। यी दुई कुरा नहुँदा हुन् त मानव सभ्यता सायदै यहाँसम्म आइपुथ्यो होला। विज्ञानका महत्वपूर्ण खोजहरु यसैका लागि भए। दर्शनका महत्वपूर्ण सिद्धान्तहरु यसैका लागि बने। घर बने, परिवार बने, समाज बने, राज्यहरु यसैका लागि बने।
संस्कार र संस्कृति, भाषा र धर्म, नैतिकता र कानुन, अधिकार र कर्तब्यका सीमारेखाहरु कोरिए र मानव सभ्यता यहाँसम्म आइपुग्यो।

यदि मान्छेमा कल्पनाशीलता नभएको भए के हुन्थ्यो होला? सपना र ईच्छाशक्ति नभएको भए के हुन्थ्यो होला? कहिलेकाँही सोच्छु। सपना त्यो हो जसले मान्छेमा उत्साह र उर्जा भरिदिन्छ। उत्प्रेरित गरिदिन्छ र मान्छे स्वत:स्फुर्त दौडिन तयार हुन्छ, जीवनको म्याराथुनमा गन्तब्यबोध सहित। लड्छ तर जुरुक्क उठ्छ अनि दौडिन्छ फेरि उस्तै गरी धुलो टक्टक्याउदै।

यदि दोश्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी ध्वस्त बनेको जापानले सपना नदेखेको भए यहाँसम्म आइपुग्थ्यो? गृहयुद्धबाट थिलथिलो बनेको दक्षिण कोरियासँग दृढ संकल्प हुँदैनथ्यो भने यहाँसम्म आइपुथ्यो? महाथिर मोहम्मद र लि क्वानसँग संकल्प र सपना हुनथ्यो भने बन्थ्यो मलेसिया र सिङगापुर? उदाहरणहरु थुप्रै छन्।

चुनौतीबिनाको अवसर कहाँ पाइएला? दुखबिना सुख कहाँ मिल्ला? सपना र संकल्पबिना कहाँ निर्माण भएको छ देश? वीरताको गाथा र भक्तिगानाले त बन्दैन देश। इतिहासमा गर्व गर्न मात्र सकिन्छ तर बाँच्नु त वर्तमानमा पर्छ। हामीले सुख र खुशीको खोजीमा थुप्रै मुल्य चुकायौं।

आधुनिक राज्यमा सुख र खुशीको सूचक विकास र समृद्धिसँग जोडिएको हुन्छ तर यहाँ ब्यवस्थाहरु परिवर्तन भए तर ब्यवहार परिवर्तन भएन। “मै खाँऊ, मै लाँऊ, सुख सयल मै गरुँ” लाई आदर्श बनाइयो। राजनीतिक नेतृत्वको सत्तामा जाने र आफ्नै भुँडी भर्ने भन्दा माथि उठ्न सकेनन्। तीनका आसेपासेहरुको रातारात वर्ग उत्थान भयो। काठमाडौंमा तिनका महल ठडिए, घर घडेरी जोडिए। विकास र समृद्धि चिया गफको विषय मात्र बन्यो।

उदारिकरणको नाममा भएका उधोगधन्दा बन्द गरियो। प्रजातन्त्रको नाममा भ्रष्टचार मौलाउन थाल्यो। रोटीबेटीको सम्बन्धको नाममा बाह्य हस्तक्षेपलाई सर्वस्वीकार्य बनाइयो। हामी अगाडि बढ्नुपर्नेमा उल्टो हिँड्न थाल्यौं। हिजोदेखि आजसम्म मात्र सोच्न थाल्यौं। कुखुरा बन्यौ हामी भुई खोस्रिन थाल्यौ, बाज बन्न अरु उडान भर्न थाले।

त्यसैले आज अरु मंगल ग्रहमा बस्ती बनाउने योजना बनाइरहँदा हामी प्रधानमन्त्रीले रेल गुडाउने भन्दा हाँस्न थाल्यौं। पानी जहाज चलाउछु भन्दा पत्याउन छाड्यौं। नेपालले आफै पेट्रोल उत्पादन गर्छ, खानी सञ्चालन गर्छ भन्दा त्यो विषय जोक्स बन्छ। यही हो हाम्रो सोँच, हाम्रो प्रवृत्ति। आफ्नो आँखाको सीमालाई संसारको सीमा ठान्छौं, यहीसम्मको हो हाम्रो यात्रा। कत्ति धेरै यथास्थितिमा अभ्यस्त भैसकेका रहेछौं हामी?

यसमा हाम्रो मात्र दोष छैन। राजनीतिक नेतृत्वको विश्वनियतामाथिको प्रश्नचिन्ह हो यो। हिजोसम्मका प्रधानमन्त्रीले के गरे कसैले थाहै पाएनन्। न तिनले नवीन सोच राखे न कुनै सपना देखे। त्यसैले तिनीहरु सत्तामा आउँदा र जाँदा जनताको जीवनमा त्यसले कुनै अर्थ राखेन। विपी कोइराला र मनमोहन अधिकारी बाहेक सबैले सिंहदरबारमा फोटो झुण्ड्याउने काम मात्र गरे।

जनआन्दोलन २ पश्चातको दश वर्षसम्म त शान्ति, संविधान, गणतन्त्रको स्थागत विकास, अधिकार, आन्दोलन लगाएतका मात्र कुरा सनेका हामीलाई प्रधानमन्त्रीले बोलेका कुराहरु एडजस्ट गर्न असहज भइरहेको छ। तिनलाई प्रधानमन्त्रीले बोलेका कुरा आजको भोलि नै चाहिएको छ। कत्तिको खेतीपाती नै आलोचना गर्नु रहेको छ। तिनीहरु आफु पनि केही गर्दैनन् अरुलाई पनि केही गर्न दिँदैनन्।

प्रधानमन्त्री हुनुभन्दा अघि अनेरास्ववियुको एउटा कार्यक्रममा केपी ओलीले भन्नुभएको थियो, “अमरसिंह र बलभद्र कुँवरहरु छैनन् भन्दैमा नेपालमा जे गरेपछि हुन्छ? उनीहरु छैनन् तर उनीहरुको सन्तान त छौं नि, हामी त्यसो हुन दिदैंनौं।” उहाँको यो भनाई भारतप्रति लक्षित थियो। प्रधानमन्त्री भए पश्चात संसदमा बोल्दै उहाँले भन्नुभएको थियो, “मलाई भोट नहाल्नेहरुलाई पनि बाडुल्की लाग्ने गरी काम गर्छु।”

उहाँले लगातार यस्तो भन्दै आउनुभएको छ, पछिल्लोपटक उहाँले भन्नुभएको थियो, “मैले आज अनुभव लिएर भोलि काम गरौंला भन्ने होइन। आजै काम गर्ने हो।” आज यस्तो लाग्दैछ कि उहाँले जे भन्नुभएको छ, पूर्ण प्रतिबद्धताका साथ काम गरिरहनुभएको छ। देशबाट निराश भएर विदेश जान तयार भएको एउटा युवा आज सोच्दैछ कि यही देशमा केही गरुँ किनकी अब उसको सर्टिफिकेट दराजमा थन्किने छैन। उसको सर्टिफिकेटले मुल्य पाउनेछ।

गाउँको किसान आज खुशी हुँदैछ किनकी अब उसले जीन्दगीभरी गरेको श्रम खेर जाने छैन। उसले पेन्सन पाउनेछ। एउटा मजदुर खुशी हुँदैछ किनकी अब निर्माण अभियानले गति लिनेछ। आज एउटा महिला खुशी हुँदैछिन् किनकी अब हुने स्थानीय निकायको निर्वाचनमा आधा हिस्सा ओगटेका महिलाको प्रतिनिधित्व हुनेछ।

आज एउटा आदिवासी जनजाती, मधेसी युवा खुशी हुँदैछ किनकी अब अधिकारका लागि उसले लड्नुपर्ने छैन। राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको ब्यवस्था गरिएको छ। एउटा देशभक्त खुशी हुँदैछ, किनकी सुगौलीसन्धीसँगै गुमेको आत्मविश्वास उठ्दैछ। नेपालले हिम्मतका साथ भनेको छ, “भूगोल सानो ठुलो होला, सर्वाभौमिकता सानोठूलो हुँदैन।” प्रधानमन्त्रीको कुर्चिमा बसेर यसरी हाकाहाकी बोल्ने केपी ओलीनै प्रथम होलान्।

विडम्बना आज उनको सपना र दृढतालाई खुइल्याउन खोजिदैछ। उनको सपनालाई हावा करार गरिँदैछ। थाहा छैन, आफ्नै प्रधानमन्त्रीलाई उडाएर र खुइल्याएर कसरी के प्राप्त गर्न खोज्दैछौं। काङग्रेस लगायतका पार्टीहरुलाई अनुरोध छ, प्रतिपक्षमा बसेर आलोचना गर्नु धर्म होला तर जनतामा विस्तारै जागृत आशावादिता र राष्ट्रियताको भावनामाथि कुठाराघात नहोस्।

सुगौली सन्धी, गण्डक सम्झौता, १२ बुँदे सम्झौतादेखि आजसम्म आइपुग्दा हामीले थुप्र मुल्य चुकाउनुपरेको छ। कम्तीमा प्रधानमन्त्रीले सपना देखेका छन्, देखिने र बुझिने गरी राष्ट्रियताको पक्षमा उभिएका छन्। भारतवेष्ठित मुलुकलाई ल्याण्ड लिङ्कड देश बनाउन चीनसँग दुरगामी महत्वको सम्झौता गरेका छन्। पेट्रोलिम अन्वेषण भइरहेको छ, म्याग्दी पहिलो तुइनमुक्त जिल्ला घोषित भइसक्यो। भुकम्पपीडितले पाउने राहत रकम निकासा भइरहेको छ।

सर्टिफिकेटका आधारमा ऋण पाउने व्यवस्था नीति तथा कार्यक्रममा सार्वजनिक भइसकेको छ। यी सहित यस्ता थुप्रै कामहरु सुरु भएको समाचार आइरहेकै छन्। काम सुरु नभएका ठाउँमा पनि प्रक्रिया त आरम्भ भएका छन्। अध्ययन भएका छन्। यसलाई शुभ संकेत मान्न सकिन्छ।

त्यसैले त यो देशको सचेत युवापंक्ति “आई एम विथ पिएम ओली” भन्दै सरकारको पक्षमा उभिएका छन्। कुनै काम सुरु हुनुभन्दा पहिले कामको सोँच हुन्छ। सोँच सपनासँगै बन्छ। सपनालाई यथार्थमा बदल्न सक्छौं हातेमालो गरौं, सक्दैनौं आलोचना नगरौं। विहानदेखि बेलुकासम्म सरकारको आलोचना गरेर बन्दैन देश।

सकारात्मक सोच राखौं, सकारात्मक सोच बाँडौं। गरिबी, दुःख, कष्ट र पछौटेपनबाट देशलाई मुक्त गर्नैपर्छ। सङकल्प गरौं, काममा लागौं। बदलिन्छ देश, पहिले आफ्नै सोच बदलौं। सुखी जीवन  र समृद्ध भविष्यको प्रस्थानबिन्दु यही हो।

लेखक एमाले विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य हुन्
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z