सकस गरी लिएको भिसा र खुसी बिर्संदै नेपाल फर्किएँ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अमेरिका जाने सपना साकार पार्न मैले १० वर्षदेखि लगातार डिभी भरेँ। तर मलाई कहिल्यै चिट्ठा परेन। डिभी परेर अमेरिका पुगेका साथीहरूले फेसबुकमा ट्याग गरेका फोटोहरूमा लाइक गरेरै भए पनि म सन्तुष्टि लिन्थे।
गाउँको सामान्य सरकारी स्कुलमा पढेर हुर्किएको हामीजस्तो एउटा समान्य परिवारको मान्छेलाई अमेरिका एउटा सपनाको देश हो, जहाँ जान सजिलो छैन। ठूलो रकम खर्च गरेर पढ्न जाने र धेरै बैंक ब्यालेन्स देखाएर घुम्न जाने हैसियत म राख्दैनथेँ। अझ त्यसमाथि अमेरिकाले भ्रमण भिसा धेरैलाई दिँदैन। राम्रो ‘प्रोफाइल’ भएको व्यक्तिले मात्र अमेरिकाको भ्रमण भिसा पाउँछ भन्ने पनि ममा ज्ञान थियो।
डिभी नपरेपछि अमेरिका जाने अर्को विकल्प भनेको राम्रो शिक्षा हासिल गरी ‘प्रोफाइल डेभलप’ गर्नु हो। त्यसपछि म आफ्नो ‘प्रोफाइल’ बढाउन लागेँ। डिभी भर्न पनि छाडिनँ।
समाजशास्त्रमा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि मलाई अमेरिका पढ्न जाने रहर पनि चल्यो। तर, अध्ययनका लागि जान झन् कठिन थियो। टोफेल, आइएलटिएस वा जिआरईमा राम्रो अंक ल्याउनुपर्ने र पैसा धेरै खर्च लाग्ने । १० देखि २० लाखसम्म खर्च गरेर अमेरिका पढ्न पठाउने हैसियत मेरो परिवारले राख्दैन थियो। तर पनि मैले संकल्प गरेको थिएँ- एकदिन म अवश्य त्यो विश्वको सबैभन्दा शक्तिशाली देश पुग्छु।
अमेरिकाले कस्तो नागरिकलाई भ्रमण भिसा दिन्छ भन्ने जानकारी लिन थालेँ। पर्यटन भिसामा अमेरिका जानेसँग हेलमेल बढाउन थालेँ। सबै एउटै कुरा भन्थे, ‘ट्राभल हिस्ट्री बनाऊ र व्यावसायिक फ्रोफाइल डेभलोप गर।’
अनि मैले यो दुई विषयमा जोड दिन थाले।
नेपालीलाई एसियाली देश घुम्न निकै सजिलो र सस्तो पर्छ। अमेरिका पुग्नका लागि मैले केही सहकर्मी पत्रकारसँग मिलेर थाइल्यान्ड, मलेसिया र सिंगापुर जाने कार्यक्रम बनाए। यी तीन देशमा नेपालको पर्यटन प्रवर्द्धन गरी फर्किएँ। त्यसपछि एकपटक युरोपको नेदरल्यान्ड्स पुगेर आएँ। बेल्जियम, जर्मनी र फ्रान्स पनि घुमेँ। त्यसपछि म पुस्तक लेख्नेदेखि लिएर विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहेँ।
अब अमेरिका जान एउटा राम्रो निम्तो आवश्यक थियो। म इन्टरनेटमा लामो समय घोत्लिन थालेँ। रातभर इन्टरनेटमा अमेरिकाको कार्यक्रम खोज्न थाले। लाइन्स क्लबको कार्यक्रममा भिसा आवेदन गरूँजस्तो पनि लाग्यो। लाइन्स क्लबसँग मेरो पत्रकारिता पेसाको लामो सम्बन्ध नभएकाले यो पनि ठिक लागेन। अन्तन्त:  मैले द न्युयोर्क टाइम्स्‌को एउटा कार्यक्रमको निम्तो पाएँ। पत्रकारको हैसियतले त्यहाँ जाने निम्ता पाएपछि भिसा आवेदन दिने निधो गरेँ।
अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि कुन दिन र कति बजे समय लिने तय भएको थिएन। अंग्रेजी महिनाको नयाँ वर्ष सन् २०१५ को जनवरीमा द न्युयोर्क टाइम्स्‌को कार्यक्रम हुँदै थियो। मैले एक महिनाअघि नै निमन्त्रणा पाएको थिएँ। नेपालको राष्ट्रिय दैनिकमा १० वर्ष काम गरेको अनुभव भए पनि अमेरिकाको भिसाको कुनै टुंगो थिएन। मन्त्री, ठूला लेखक र नाम कहलिएका कलाकार र पत्रकारले  समेत भिसा नपाएको सुनेको थिएँ। त्यसकारण ठिक समयमा र ठिक दिनमा अन्तर्वार्ताको समय मिलाउनुपर्ने थियो।
कुन दिन र कुन समयमा अमेरिकाले धेरै नेपालीलाई भिसा दिन्छ भन्ने विषयमा फेरि अध्ययन गर्न थाले। अन्तत:  सन् २०१४ डिसेम्बर २५ तारिख क्रिसमसको अघिल्लो दिन मंगलबारलाई  मैले उपयुक्त ठानेँ। मंगलबार मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण बार हो। यो बार मैले गरेका धेरै काम सफल भएका छन्।  क्रिश्चियनहरूको ठूलो पर्व क्रिसमसको अघिल्लो दिन मंगलबार बिहान ८ बजे मेरो अन्तर्वार्ताको समय तय भयो।
युरोपको भिसा आवेदन दिँदा मैले कुनै तयारी गरेको थिइनँ। अरु देश घुम्दा पनि ममा त्यति उत्साह थिएन, जति अमेरिकाको अन्तर्वार्ताका लागि उत्साहित थिएँ। केही नर्भस र आत्तिएको अवस्थामा पनि थिएँ। मैले यु ट्युबमा अमेरिकाले अन्तर्वार्ता लिने तरिकासम्बन्धी अध्ययन गरेँ। सोध्न सक्ने सम्भावित प्रश्नहरू बनाएँ। ऐनामा हेरेर आफैँ उत्तर दिँदै गए। अन्तर्वार्ता दिन जाने दिन सही पोसाक छान्न इन्टरनेटमा बसेँ । मैले कालो पाइन्ट, सेतो सर्ट र ज्याकेट क्याजुयल ड्रेस लगाएँ। अन्तर्वार्ता दिन जाने केही घन्टाअगाडि शिव भगवान् र गणेशको आराधना पनि गरेँ। भिसा लागेपछि भगवान्‌लाई ‘यो गर्छु, ऊ गर्छु’ भनेर भाकल पनि गरे। त्यसपछि फाइल बोकेर महाराजगन्जस्थित अमेरिकी दूतावासतर्फ लागे।
करिब एक घन्टा लाइनमा बसेपछि बल्ल अन्तर्वार्ताको पालो आयो। अमेरिकी दूतावासकी काउन्सलरले १५ मिनेट मेरो अन्तर्वार्ता लिइन्। मैले पनि निर्धक्कसँग अंग्रेजीमा उत्तर दिए। अन्ततः म सफल भए।
* * *

सानैमा मैले टाइम्स् स्वाक्यरको नाम सुनेको थिएँ। विश्वको शक्तिशाली देश अमेरिकाको टाइम्स् स्वाक्यरमा एकदिन म पनि पुग्छु भन्ने कल्पना पनि गरेको थिइनँ। बाल्यावस्थामै पुस्तक र पोस्टरमा देख्दै आएको वर्ल्ड ट्रेड सेन्टर र लिभर्टी अफ स्याट्याच्युको नजिक पुग्नु मेरो बसभन्दा बाहिरको विषय थियो। त्यसैले अमेरिकाको भिसा लागेपछि म मेरो थोत्रो काठको घरको भित्तामा सजिएका ती सुन्दर स्थानलाई सम्झिरहेको थिएँ। न्युयोर्क सहर जसलाई ‘बिग एप्पल’ पनि भनिन्छ, रातभर जाग्राम बस्ने यो सहर हेर्न म लालायित थिएँ। लामो सकसपछि फेसबुक, गुगल र एप्पलको देश हेर्ने मेरो चाहना पूरा हुँदै थियो।
दुई दिनपछि मैले नेपाल इभेस्टमेन्ट बैंकबाट पासपोर्ट संकलन गरे। अमेरिकाले मलाई पाँच वर्षे मल्टिपल भिसा दिएको थियो ।
दुभार्ग्य भनौँ कि सौभाग्य अमेरिकाको भिसा लागेर अमेरिका जाने तयारी गर्दै थिएँ, गोरखापत्रमा सञ्चार अधिकृतमा मेरो नाम निस्कियो। १० वर्षदेखि गोरखापत्रमा करारमा काम गर्दै आएको मलाई फेरि अर्को खुसी थपियो। अमेरिका जान मसँग समय पर्याप्त थियो। त्यसकारण मैले न्युयोर्क टाइम्स्‌ले निमन्त्रणा गरेको कार्यक्रम छोडेर गोरखापत्रको अन्तर्वार्ता दिएँ। लामो समयसम्म नतिजा आएन। म अन्यौलमा परेँ।
त्यसपछि म गोरखापत्रबाट बिदा लिएर अमेरिका हुइँकिएँ।
* * *
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबई र त्यसपछि डेल्टा एयरमा अमेरिका पुगेँ। मैले सोचेजस्तो लागेन अमेरिका। तस्बिरमा देखेको अमेरिका र भोगेको अमेरिका बिल्कुल फरक रहेछ। त्यो सकस गरी लिएको अमेरिकाको भिसा र अमेरिका पुगेपछि देखिएको वास्तविक दृश्य फरक थियो।  अमेरिकाको इभिग्रेसनले ६ महिना बस्न अनुमति दिए पनि म ६ दिन पनि बस्न नसक्ने अवस्थामा पुगेँ। एउटा खुला र स्वतन्त्र रूपमा हिँडेको मलाई कताकता उकुस-मुकुस भइरहेको थियो। ‘अमेरिका हेर्न मात्र हो, बस्नका लागि होइन रहेछ’ जस्तो लाग्न थाल्यो।
मैले टाइम्स् स्वाक्यर पुगेर बसन्तपुर दरबार स्क्वारलाई सम्झिएँ। ज्याक्सन हाइट पुग्दा असन र इन्द्रचोक पुगेजस्तो लाग्यो। लिवर्टी अफ स्ट्याच्युमा पुग्दा साँगाको महादेश भगवान्‌लाई सम्झिएँ। न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टर पुग्दा पनि काठमाडौंको वर्ल्ड ट्रेड सेन्टरमा साथीभाइसँग घुमेको याद आइरहेको थियो।
पहिलोपटक भएर होला न्युयोर्कको हावाले मलाई सकस भइरहेको थियो। त्यो ठु-ठूला विल्डिङमा म निस्सासिएको महसुस गरिरहेको थिएँ। म खुम्चिएर एउटा सानो घेरामा बाँधिएको अनुभव भइरहेको  थियो। म आकाशमा उड्न खोज्दा धर्तीमा धस्रिन पुगेजस्तो पनि लागिरहेको थियो। वास्तवमा स्वर्ग पनि अमेरिकामा नै रहेछ, र नर्क पनि। धेरै नेपाली होमलेस भएर बसेको पनि देखेँ। कतिपय नेपाल आउन नपाएर छटपटाइरहेको पनि भेटेँ।
अमेरिकामा कामको सम्मान गरिन्छ। काम नगरी दाम र माम पाइँदैन। अमेरिका बस्दा लामो समयदेखि परिवारसँग छुट्टिएर बस्नु परेको पीडा पनि केहीले सुनाए। ग्रीन कार्ड हुनेलाई त राम्रै छ। परिवार लग्न पाइन्छ। तर, कार्ड नहुनेको कथा बेग्लै छ। अमेरिकामा धेरै नेपालीले गर्ने काम भनेको बेबी टेककेयर,  स्टोरमा, ग्यास स्टेसन, रेस्टुरेन्ट र ट्याक्सी चलाउने काम गर्दछन्। नेपालमा ठुल्ठूला पदमा भएका र प्रतिष्ठित व्यक्तिले पनि यही काम गरेको देखेँ। केहीले आफैँ व्यवसाय गरेर बसेका नेपाली पनि धेरै छन्।
समान्यत: सीप नभएका व्यक्तिलाई अमेरिकामा काम गर्न सजिलो छैन। घन्टौँ घोटिएर काम गर्दा पनि महिनामा तीन हजार डलर कमाइन्छ। खर्च पनि त्यही अनुसार हुन्छ। अरुको देशमा दोस्रो नागरिक भएर बस्नुपर्छ। सजिलो त अवश्य छैन। भन्छन्- अमेरिकामा सम्भावनाहरू धेरै छन्। तर मैले त्यो सम्भावनाको खोजी गर्न सकिनँ। अन्ततः त्यो सकस गरी लिएको भिसा र खुसीलाई बिर्संदै नेपाल फर्किए। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z