ओलीद्वारा पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार ३०, २०७३- आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि समर्थन जनाउने प्रस्ताव गरेका छन् । ओलीले बुधबार टेलिफोनमार्फत् त्यस्तो प्रस्ताव आफूलाई गरेको जानकारी दिंदै पौडेलले सदासयताका लागि आफूले धन्यवाद दिएको बताए ।

'कांग्रेस र एमाले मिलेर नै सहमतिको सरकार बनाउनुपर्‍यो भन्ने उहाँको जोड थियो' पौडेलले कान्तिपुरसँग भने,'तपाईंलाई हामी समर्थन गर्छौ भन्नुभयो । मैले  सदासयताका लागि धन्यवाद दिदै पार्टीको अनुशासित सिपाही भएकाले निर्णय विपरित जान नसक्ने बताएँ ।'

प्रधानमन्त्री ओलीले पौडेललाई जस्तै कांग्रेस सभापति शेरवहादुर देउवालाई पनि प्रधानमन्त्री बन्न समर्थन गर्ने प्रस्ताव गरेका थिए । माओवादीलाई समर्थन दिने निर्णय सार्वजनिक भएलगतै ओलीले देउवालाई त्यस्तो प्रस्ताव गरेको देउवा निकट स्रोतले बतायो । जवाफमा देउवाले 'ढिलो' भएको प्रतिक्रिया दिएका थिए ।

कांग्रेसको समर्थन पाएपछि माओवादी केन्द्र ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ । माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय कांग्रेसले बुधबार सर्वसम्मत रूपमा गरेको थियो । माओवादीले समर्थन फिर्ता लिनुअघिसम्म ओलीले कांग्रेसलाई समेत आफ्नै नेतृत्वको सरकारमा आउन आग्रह गरेको थियो ।

ओली सरकार अल्पमतमा परेको र अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता भईसकेको अवस्थामा कांग्रेस र एमाले समेतको गठबन्धनमा सहमतीय सरकार बन्ने संभावना नरहेको पौडेलले बताए । 'म त मूल्यमान्यताको राजनीति गरेको मान्छे हूँ । पार्टीको निर्णय विपरित जान सक्दिन भनेरै ओलीजीलाई जबाफ दिएको छु' के अब नी सहमतीय सरकार संभव छ त भन्ने प्रश्नमा पौडेलले भने,'ओलीजीले प्रचण्डलाई नमान्ने अवस्थामा संभव छैन ।' कांग्रेस र माओवादीको गठबन्धनमा सरकार बनाउने निर्णय पार्टीले लिईसकेको अवस्थामा अब बन्ने सरकार बहुमतीय नै हुन्छ । सहमतीय बन्दैन ।'

पार्टीको संस्थापन पक्षले आफू अल्पमतमा परीसकेपछि ओलीले पौडेललाई प्रधानमन्त्रीको प्रस्ताव गरेर कांग्रेस भित्रै खेल्न खोजेको आरोप लगाएको छ । प्रधानमन्त्री र एमालेकै केही नेताहरु कांग्रेस र माओवादीको गठबन्धन बन्न नदिन लागेको आरोप समेत कांग्रेस नेताहरुको छ । केन्द्रीय सदस्य प्रकाशरण महतले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन निर्माण भईसकेपछि त्यस्तो प्रस्ताव गर्नुको कुनै औचित्व नरहेको बताए । उनले कांग्रेसभित्रै खेलेरै कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काउन सकिन्छ कि भन्ने प्रयास भएको बताउदै महतले भने,'सहमतीकै सरकारका लागि हो भने पहिल्यै भन्नुपथ्र्यो ।

अल्पमतमा नपर्दा सम्म आफ्नै नेतृत्वमा आउन कांग्रेसलाई आग्रह गर्ने । अहिले आएर कांग्रेसलाई प्रधानमन्त्रीमा समर्थन दिन्छु भन्नु पार्टीभित्र खेल्न खोजिएको हो ।' उनले बरिष्ठ नेता पौडेलसमेतको उपस्थितीमा सर्वसम्मतीबाट पार्टीले गरेको निर्णय विपरित कांग्रेस नजाने बताए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z