ओलीलाई प्रधानमन्त्री र सुशीललाई राष्ट्रपति बनाउँछु नभनेको भए संविधान बन्दैनथ्यो : दाहाल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वैशाख २३ गते बालुवाटारमा भएको नौ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन हुनुपर्ने भनी एमालेकै वरिष्ठ नेताहरुबाट जोड भइरहे पनि ओलीले अस्वीकार गरेकाले सरकारमा बसिराख्न नैतिक हिसाबले ठिक नभएको उनको दाबी थियो ।
‘सरकार परिवर्तन किन भन्नेबारे बजारमा अनेकथरि हल्ला चलाउने कोसिस भयो, तर बजेटलगत्तै राजीनामा दिने सहमति भएको थियो, तर ओलीजीले अहिले आएर होइन भनेपछि हामी निरीह भएर बसिराख्नु नैतिक दृष्टिकोणले उचित भएन,’ दाहालले शुक्रबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने, ‘गोरखा फूजेलको घटनामा सम्बन्ध नै नभएका ७६ वर्षीय वृद्धलाई पक्राउन ओलीजीकै नजिकका वकिल संलग्न भएको, ओखलढुंगामा पनि त्यस्तै भएको बुझेपछि हामीले ठान्यौं, अब स्थिति गम्भीर भयो ।’
दाहालले ओलीको शैलि असाध्यै आत्मकेन्द्रित भएको आरोप लगाए । माओवादीको समर्थनविना प्रधानमन्त्री बन्न सम्भव नै नहुने वास्तविकता बिर्सेर ओली सहकार्य संस्कृति लत्याउँदै एक्लै अघि बढेको उनको भनाई थियो । ‘दीपकुमार उपाध्यायलाई भारतको राजदूतबाट फिर्ता बोलाउने निर्णय महत्वपुर्ण किसिमको हो, त्यसमा हामीसँग एकपटक सल्लाह गरिनुपथ्र्यो,’ दाहालले थपे, ‘अहिले सरकार टिकाउने डिजाइनबाट प्रेरित भएर भारत र चीनका कुरा जोड्न थालिएको छ । ब्याट्रीबाट चलाउने जस्ता कुरा गर्न थालिएको छ ।’
३७ मिनेट लामो संवादका अधिकांश समय ओलीको आलोचनामा खर्चेका दाहालले ओलीको नाम नलिई संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताविरोधीहरु हावी हुँदै गएको दाबी गरे । उसो भए आफ्नै समर्थनमा ओलीलाई किन प्रधानमन्त्री बनाएको त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘सुशील कोइरालालाई राष्ट्रपति र ओलीजीलाई प्रधानमन्त्री बनाउँछु नभनेको भए संविधान बन्दैनथ्यो ।’
दाहालले एमालेसग अहिले पनि दुश्मनी नचाहेको भन्दै वरिष्ठ नेताहरुसग कुराकानी चलिरहेको बताए । एमाले माओवादीबीच भद्र सहमति भएको बारे ओलीबाहेक सबै एमाले नेताहरुले भनिरहेको बताउँदै ओलीका कारण विश्वासमा संकट पैदा भएको दाबी गरे । अघिल्लो पटक ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा कांग्रेससहित सहमतिको सरकार बनाउने सहमति सोह्रबुँदे सहमतिताका गरिए पनि कोइराला चुनावमा उठेर धोका दिएको उनको भनाई थियो । ‘ओलीजी सहकार्यको भावनाअनुसार चल्न चाहनुभएन, बरु सरकारमै बसेर माओवादीलाई कसरी कमजोर पार्न सकिन्छ भन्नेमा लागिरहनुभयो,’ उनले भने, ‘एमालेका एक वरिष्ठ नेताले मसँग कुराकानीमा ओली आफूलाई गठबन्धनले नभई भगवानले पृथ्वीमा राज गर्न पठाएको किसिमले व्यवहार गर्छन् भन्ने दुखेसो गर्नुभयो ।’
दाहालले सामन्ती राष्ट्रवादीहरु अहिले नक्कली राष्ट्रवादी भएर चर्का कुरा गरिरहेको आरोपसमेत लगाए । देशलाई सबै वर्ग, समूदायको साझा फूलबारी बनाउदै आन्तरिक एकता सुदृढ गर्नुको साटो पूर्वराजावादी र पुराना सत्तासीनहरुलाई अगाडि सारेर उत्पीडित वर्गमाथि शोषण निरन्तर कायम राख्न खोज्ने प्रवृत्ति देखिएको उनको भनाई थियो । ‘नक्कली राष्ट्रवादले देशलाई क्षतिविक्षत गराउँछ, आफूलाई गणतन्त्रको खुलेआम विरोधी, संघीयताको त खुलेरै विरोधी, धर्मनिरपेक्षतालगायत परिवर्तनका मुद्दाको विरोधीहरु अहिले राष्ट्रवादको चर्को कुरा गर्दैछन्,’ दाहालले थपे, ‘बाहिर राष्ट्रवादी वा वामपन्थी जसको कभर लिएर देखिए पनि उनीहरुको लगनगाठो पूर्वराजावादीहरुसग कसिएको छ । तपाईंहरुलाई थाहै छ, प्रेम भन्ने कुरा त आखिर भावना र विचार मिलेपछि न हुने हो ।’
दाहालले चीन आफ्नो पक्षमा रहेको खुलेरै बताए । चीन भारतसँग सम्बन्ध बिगार्ने नेतृत्वको पक्षमा नरहेको भन्दै सम्बन्धमा सन्तुलन खोज्ने पक्षमै रहेको बताए । ‘ओली सरकारले चीनसग सम्झौता गर्दा चीनका राष्ट्रपति सी जिनपिङले त्यहाका राजदूतमार्फत् मँसग संवादमै थिए, उनले मलाई पहलकदमीका लागि धन्यवाद दिए,’ उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री बन्ने कुराले चीन खुसी छ । अब भारतसँग सन्तुलन मिलाओस् भन्ने चीनको चाहना छ ।’ उनले सरकार परिवर्तनमा भारतीय सहभागिता छ भन्ने चर्चा भ्रामक प्रचारबाजी भएको भन्दै खण्डन गरे ।
###
0 comments
Write Down Your Responses