यसरी टुट्दै छ दाम्पत्य सम्बन्ध
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##



बिहे गरेको केही महिनामै नुवाकोटका नवीन शर्मा (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि कतार गए । उनकी श्रीमती काठमाडौैंकै एक स्कुलमा पढाउँथिन् । श्रीमान् विदेशिएपछि काठमाडौंका शोभित थापासँग उनको निकटता बढ्यो । उनीहरूबीच शारीरिक सम्बन्ध पनि भयो ।

महिला विवाहित भएको थाहा पाउँदा पनि थापाले बिहे गर्ने प्रस्ताव राखे । महिलाका श्रीमान् गत महिना कतारबाट फर्किए । श्रीमान् आएपछि उनी थापासँग टाढा हुन खोजिन् । तर, थापा उनलाई छाड्न नसक्ने गरी प्रेममा परिसकेका थिए । थापाले बिहेका लागि जिद्दी गरे । ‘त्यसो भए म मेरो श्रीमान्सँग सोध्छु, श्रीमान्ले अनुमति दिए तिमीसँग बिहे गर्छु,’ महिलाले सर्त राखिन् ।



ती महिलाले आफ्ना श्रीमान्लाई सबै कहानी बताइन् । श्रीमतीको अर्काे युवकसँगको प्रेम चक्कर थाहा पाए पनि उनले श्रीमती छाड्न चाहेनन् । उनले श्रीमतीका प्रेमीलाई सोही कुरा सुनाए । तर, युवक प्रेमिका छाड्न सक्ने अवस्थामा थिएनन् । महिलाले बिस्तारै उनलाई वास्ता गर्न छाडिन् । त्यसपछि उनी धम्क्याउन महिलाको डेरामा खुकुरी लिएर पुगे । सोही घटनामा उनी शनिबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

केही सार्वजनिक अपराध मुद्दाअन्तर्गत प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीमा हरेकदिनजसो वैदेशिक रोजगारले निम्त्याएका झगडा तथा अपराध आउने गर्दछन् । वैदेशिक रोजगारीमा गएका धेरै युवाको पारिवारिक जीवन भने बिग्रने गरेको छ । प्रहरीमा दैनिकजसो वैदेशिक रोजगारले निम्त्याएका समस्याको उजुरी आउने गरेको परिसरका डिएसपी रविन्द्र रेग्मी बताउँछन् ।

प्रहरीमा उजुरीको ओइरो

आइतबार दिउँसो महिला तथा बालबालिका सेल कालिमाटीमा वैदेशिक रोजगारले नै निम्त्याएको घरझगडाबारे छलफल भइरहेको थियो ।ओखलढुंगा घर भएका एक युवकविरुद्ध उनकै श्रीमतीले उजुरी दिएकी थिइन् । विगत चार वर्षदेखि वैदेशिक रोजगारीका लागि कोरिया गएका छिरिङ शेर्पा (नाम परिवर्तन) की श्रीमतीले आफूलाई वास्ता नगरेको भन्दै उजुरी गरेका थिए ।

शेर्पाले दोस्रो बिहे गरी कान्छी श्रीमतीसँग बस्न थालेका थिए । उनीहरूबीच लामो समयदेखि झगडा चल्दै आएको थियो । श्रीमतीले आफ्नो अन्डकोषमा आक्रमण गरी घाउ बनाइदिएको भन्दै शेर्पा गुनासो गरिरहेका थिए ।महिला तथा बालबालिका सेलमै गत साता एक पुरुषले उजुरी गरे । आफ्नी प्रेमिकालाई आफैँले बिहे गर्न पाउनुपर्ने भन्दै उजुरी दिएका छन्। एक महिलाका श्रीमान् बिहे गरेको १६ दिनमै जर्मनी गए । श्रीमान्ले विदेशमै दोस्रो बिहे गरे । उनले पनि नेपालमा अर्का युवकसँग प्रेम गर्न थालिन् । तर, केही महिनादखि महिलाले आफ्ना प्रेमीले पनि अर्कै युवतीलाई समेत प्रेम गरेको भन्दै आफूले त्यही युवकसँग बिहे गर्न पाउनुपर्ने दाबी गर्दै उजुरी दिएकी छिन् ।

बहुविवाहको कारण वैदेशिक रोजगारी

काभ्रेका एक युवकविरुद्ध कालिमाटीमै एक उजुरी परेको छ । उनी वैदेशिक रोजगारीका लागि चार वर्षलाई भनेर कतार गएका थिए । तर, फर्कंदा उनले दोस्रो बिहे मात्र गरेनन्, कान्छी श्रीमतीबाट बच्चासमेत भइसकेको थियो । ‘

जेठी श्रीमतीलाई उनले बेवकुफ बनाए,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भन्छन्, ‘आफू विदेश नै रहेको बताए, दुई वर्षपछि नेपाल आई बिहे गरी फेरि कतार फर्किंदा पनि थाहा पाइनन् ।’ उक्त घटनाको पनि प्रहरीको महिला सेलले अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले पनि एउटा वैदेशिक रोजगारीले निम्त्याएको घरेलु झगडाको अनुसन्धान गरिरहेको छ । ललितपुरका एक युवक ११ वर्षदेखि वैदेशिक रोजगारीमा कोरियामा छन् । जेठी श्रीमतीबाट उनको बच्चा भएन । बच्चा नभएपछि उनले कोरियामै नेपाली युवतीसँग बिहे गरी नेपाल आए । जेठी श्रीमतीलाई केही जानकारी थिएन ।

उनी श्रीमान्को प्रतीक्षामा ११ वर्षसम्म सासु÷ससुराको स्याहार गरेर बसिन् । तर, श्रीमान् फर्कंदा कान्छी श्रीमती लिएर फर्किएपछि उनले घर छाडेर प्रहरीमा उजुरी गरेका हुन् । महिलासँगै पुरुषहरू पनि वैदेशिक रोजगारीका कारण पीडित हुन थालेको प्रहरी अधिकारीहरू बताउँछन् ।

श्रीमान् विदेशमा रहँदा अन्य युवकसँग सम्बन्ध राख्ने र सम्पत्तिसमेत सिध्याउने गरेका घटना प्रहरीमा बारम्बार पुग्ने गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र बलियो भइरहँदा उनीहरूको पारिवारिक जीवन भने कमजोर हुँदै गएको छ ।

वैदेशिक रोजगारीकै कारण पछिल्लो समयमा श्रीमतीबाट श्रीमान्माथि हुने हिंसाका घटना समेत बढेको प्रहरी अधिकारी बताउँछन् । प्रहरीको महिला सेलमा आउने अधिकांश उजुरी वैदेशिक रोजगारसँग जोडिने घटनाहरू हुने गरेको परिसरका डिएसपी रेग्मी बताउँछन् ।नयाँ पत्रिका दैनिकबाट साभार ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z