बाबुरामले भने–‘संविधान नबने एमाओवादीलाई सबैभन्दा बढी नोक्सान’ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष ९ । मुख्य दलका शीर्ष नेताहरुले आगामी माघ ८ भित्रै संविधान जारी गर्न आफूहरु प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

नेपाल पत्रकार महासंघले बुधबार राजधानीमा गरेको ‘राष्ट्र निर्माणमा सन्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी शीर्ष नेताहरुले संविधान लेखनका लागि आफूहरुबीच गम्भीर छलफल भइरहेको भन्दै अझै पनि माघ ८ भित्रै संविधान जारी हुने सम्भावना रहेको बताए ।

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले एकीकृत माओवादीले जातीय संघीयताको अडान छाड्नासाथ सहमतिको सम्भावना बढ्ने बताए । उनले असहमतिका विषयलाई जनतामाझ राख्दै संविधान लेखन प्रक्रियालाई सहज बनाउन एमाओवादीलाई आग्रह समेत गरे ।

एकीकृत माओवादीका नेता डा. बावुराम भट्टराईले १२ बुँदे समझदारी र विस्तृति शान्ति सम्झौताको भावनाअनुसार संविधान बन्नुपर्नेमा जोड दिए ।

कंग्रेस र एमालेमा १२ बुँदे समझदारीमा महत्वपूर्ण भूमिका खेलेका नेताहरु मुख्य नेतृत्वमा नहुँदा संविधान लेखन प्रक्रियामा जटिलता उत्पन्न भएको उनको जिकिर थियो ।

आफू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्नेमा प्रतिबद्ध रहेको भन्दै भट्टराईले सुधारिएको संसदीय ब्यवस्थाकै रुपमा संविधान जारी गरिए मान्य नहुने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले दलहरुबीच जारी छलफल सकारात्मक रहेको भन्दै माघ ८ भित्रै संविधान जारी गर्न सकिने बताए । उनले संविधान नबने त्यसबाट सबैभन्दा ठूलो घाटा एमाओवादीलाई नै हुने भन्दै सहमतिका लागि गम्भीर बन्न सुझाव दिए ।

कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले तत्काल सहमति कायम गरेर माघ ८ भित्रै संविधान जारी हुने वातावरण बनाउन दलहरुलाई आग्रह गरे । नेम्वाङले सविधान जारी गर्ने समय निकै छोटो भएपनि दलहरुबीच सहमति बने प्रक्रिया छोट्याएर भएपनि माघ ८ भित्रै संविधान जारी गर्न सकिने धारणा राखे ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलगायतले पूर्वप्रतिबद्धता अनुसार माघ ८ भित्रै संविधान जारी गर्नका लागि नेताहरुलाई आग्रह गरेका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z