अलकायदाका सहयोगी आरोपमा २० पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन 'अलकायदा' सँग सम्बद्ध व्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमणको योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ।

शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली छन्।
आतंकवाद र अन्तरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राति अबेरसम्म विशेष अप्रेसन सञ्चालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
विश्वस्तस्रोतका अनुसार उनीहरु 'कल्की अवतार फाउन्डेसन' नामक संस्थाको आडमा नेपाल बसेका योजना बनाइरहेको सूचना प्रहरीमा पुगेको थियो।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आपराधिक गतिविधिको योजना बुनिरहेको सूचनाका आधारमा प्रहरीले 'केही व्यक्ति' लाई पक्राउ गरेको पुष्टि गरे।
'आपराधिक गतिविधि गराउन सक्ने सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको हो,' शर्माले नागरिकसँग भने, 'केही अनुसन्धानपछि मुक्त भइसके, केही अनुसन्धान क्रममा प्रहरी हिरासतमै छन्।'
जानकारस्रोतका अनुसार ३ दिनअघि आतंकवादी संगठन अलकायदासँग सम्बन्धित व्यक्तिहरु धर्मको आवरणमा नेपाल बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचना प्रहरीले पाएको थियो।
काठमाडौंमा नौ दिनअघि सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको सुरक्षा प्रबन्धका क्रममा प्रहरीको विशेष ब्युरोले नेपाल आइरहेका पाकिस्तानी, भारतीय र अन्य देशका नागरिकबारे सूचना संकलन गरिरहेको थियो।
केही पाकिस्तानी ४ महिनाअघि नै नेपाल आएर बसेको सूचना पाएपछि ब्युरोले उनीहरुका गतिविधिबारे निगरानी राख्दै आए पनि पक्राउ भने गरेको थिएन।
केही महिनाअघि अलकायदाका प्रमुख आयमन अल जवाहरीले एसियाली मुलुकमा आफ्नो शाखा विस्तार गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै भारतमा शाखा स्थापना भएको सार्वजनिक भएपछि नेपालका सुरक्षा निकाय सजग भएका थिए।
जानकार प्रहरी अधिकारीका अनुसार भारतमा पाकिस्तानीमूलका भारतीय नागरिक अलिम उमर प्रमुख रहेको अलकायदाको शाखा खुलेपछि भारतीय नेसनल इन्भेस्टिगेसन ब्युरोले नेपालको सुरक्षा निकायलाई त्यसबारे जानकारी दिँदै अलकायदाले योजना निर्माणका लागि नेपाललाई आश्रयस्थल बनाउन सक्ने सूचना सम्प्रेषण गरेको थियो। त्यसलगत्तै आतंकवाद हेर्ने नेपाली अनुसन्धान निकाय अनुगमनमा सक्रिय भएको थियो।
अनुसन्धानका क्रममा नेपाल भित्रिएका पाकिस्तानी र भारतीय बेलायतमा धार्मिक गतिविधि गर्ने उद्देश्यले सक्रिय 'कल्की अवतार फाउन्डेसन' का गतिविधिमा संलग्न रहेको खुलेको थियो।
कलियुगको अन्त्य गर्न भगवानले कल्की अवतार लिने धार्मिक मान्यताको आडमा यस संस्थाले आफ्ना संस्थापक गोहर शाहीलाई कल्की अवतारका रुपमा प्रचार गर्दै आएको छ। शाहीको मृत्युपछि युनुस अलगोहर प्रमुख प्रचारक छन्।
फाउन्डेसनका प्रचारकले आफूहरुलाई 'सर्वधर्म प्रचारक' का रुपमा प्रचार गर्ने गरेका छन्। सोही क्रममा केही नेपाली मिलेर उक्त संस्थाको नेपाल शाखा जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत गरिसकेका थिए।
अनुसन्धानमा उक्त संगठनको नेपाल शाखा भारतमा रहेकी निलिमा नामकी भारतीय नागरिकले हेरिरहेको खुल्यो। संगठनका प्रचारकले आफ्ना गुरुहरुलाई भगवानको अवतारका रुपमा प्रचार गर्दै आएका थिए।
स्रोतअनुसार भारती थरका एक व्यक्तिले प्रहरीमा उक्त फाउन्डेसनको सम्बन्ध अलकायदासँग रहेको र उनीहरुले नेपालमा बसेर विस्फोटको योजना बुनिरहेको सूचना प्रहरीसम्म पुर्याफएका थिए।
केही पाकिस्तानी र भारतीय नागरिक नेपाल भित्रिएको सूचनासँग ती व्यक्तिबाट आएको सूचना मिलेपछि ब्युरो र महाशाखाले शुक्रबार विशेष अप्रेसन चलाएको स्रोतको दाबी छ। पक्राउ परेका पाकिस्तानी ४ महिनाअघि नेपाल आएको र भिसा सकिए पनि नेपालमै बसिरहेको अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ।
जानकारस्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरुको अन्तर्राष्ट्रिय सम्पर्क जालो र नेपालमा बस्दा उनीहरुको गतिविधिको पाटो केलाउन प्रहरी सक्रिय छ। शनिबार बेलुकासम्मको अनुसन्धानमा पक्राउ परेकाहरुको अलकायदासँगको सम्बन्ध र उनीहरुले बनाएको आपराधिक योजनाबारे भरपर्दो र विश्वसनीय तथ्य फेला परिसकेको छैन।
'गम्भीर विषय भएकाले तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर शंकास्पदहरुलाई नियन्त्रणमा लिएका हौं,' जानकारस्रोतले भन्यो, 'अहिलेसम्मको अनुसन्धानमा जे सूचना आएको हो, त्यसको पुष्टि हुने भरपर्दो तथ्य खुलेको छैन।'
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z