सकियो माओवादी भूमिका?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
देशकै विपक्षी दलका नेता तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पोहोर मंसिर महिनामा जस्तै फेरि अलमलको अवस्थामा पुगेका छन्। पोहोरकै स्थिति दोहोरिएको देखिँदैछ।

चुनावमा हार्न लागेको देखेपछि आफैंले निश्पक्ष भनेको दोस्रो संविधानसभाको मतगणना नै बहिस्कार गर्न पुगेका थिए उनी। त्यतिबेला उनलाई पार्टीभित्रैबाट उनका उपाध्यक्ष बाबुराम भट्टराईले आडभरोस दिएर जोगाएका थिए तर यसपालि भने भट्टराई स्वयम् पनि विलखबन्दमा परेका देखिँदैछ।


उनी अलमलमा नपर्दा हुन् त दिग्भ्रमित प्रचण्डलाई बाटो देखाउने र विभिन्डिएको राजनीतिलाई सही ट्र्याकमा ल्याउन सक्रिय हुँदा हुन् तर उनले त्यसो गरेको देखिएन।

प्रचण्डको अलमलको कुरा गर्दा बाबुरामको चर्चा किन भन्ने पाठकलाई लाग्न सक्छ। यसको कारण अरू होइन, कम्युनिस्ट राजनीतिभित्र जहाँ पनि र जहिले पनि राजनीतिक नेतृत्वलाई लाइन दिने विचारक हुन्छ। प्रचण्डलाई सैद्धान्तिक विचारको उज्यालो देखाउने बाबुराम भट्टराई हुन्।

रोल्पामा माओवादी नेतृत्वको बन्दी बन्दा पनि बाबुराम वैचारिक संघर्ष गरिरहे। शान्तिपूर्ण संघर्षको पक्षमा चुनवाङ बैठकमा पार्टीलाई नयाँ विचार प्रवाहमा ल्याउने सफलता पनि पाए।

माओवादीलाई सशस्त्र युद्धबाट हतियार छोडेर शान्तिपूर्ण जनआन्दोलनको बाटो पहिल्याउन प्रचण्डलाई सहमत गराउने बुद्धि र प्रयत्न उनकै थियो।

हरेक राजनीतिक मोडमा प्रचण्डको दह्रो 'आयडोलग' र सहयोद्धा बनेर बाबुराम रहेकाले नै एमाओवादी पार्टी देशकै ठूलो पार्टीका रूपमा पहिलो संविधानसभा निर्वाचनमा स्थापित पनि भयो।

प्रचण्ड वैचारिक रूपमा अलमलमा परेका हरेक बेलामा वैचारिक अन्योलबाट उद्धार सधैं बाबुरामले गरे। यस अर्थमा प्रचण्डलाई हरेक पटक अप्ठ्यारोमा वैतरणी तार्ने काम गरे।

तर यसपालि अचम्मै देखियो। प्रचण्डले अब पार्टीको अध्यक्षता बाबुरामजीले गर्नु हुनेछ के भनेका थिए, बाबुराममा खतरा मोलेर भए पनि कटु कुरा भन्न सक्ने शक्ति दन्त्यकथाको कुनै पात्रमा झैं अकस्मात गायब हुन पुगेको देखिँदैछ।

त्यसो नहुँदो हो त बाबुरामले प्रचण्डलाई 'भुइँको टिप्न खोज्दा, पोल्टोको गुमाइन्छ' कमरेड प्रचण्ड भन्नुपर्ने थियो तर यसो भनेको देखिएन। सही सल्लाहको अभावमा प्रचण्डले सही बाटो पक्रन सकेनन्।

फलस्वरूप जतिजति प्रचण्ड भड्किँदैछन् उति नै यो पार्टीको साख आमजनबाट गिर्दो छ। यस्तै स्थिति जारी रहिरहने हो भने हिजोआज चाबहिलको हुलमूलमा कसैले नचिनेका सीपी मैनाली झैं प्रचण्ड पनि गुमनाम हुनेछन्।
क्रान्ति भनेको न दालभात हो, न त दहीचिउरा ! पाँच टुक्रा भइसकेको छ माओवादी। यी पञ्चतत्त्व नमिली पहिलाको जस्तो जबर्जस्त शक्ति हुन एक्लाएक्लै कुनै माओवादीको पनि सामर्थ्‍य पुग्दैन।
अर्कोतर्फ थाकेका प्रचण्डलाई पासो थापेर माओवादीका वैद्य र चन्द बसिरहेका देखिन्छन्। तिमीजस्तो जनयुद्धका नायक शान्तिपूर्ण बाटोमा पुगेर खसीको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय बुर्जुवा भासमा भासियौ। आऊ, हामी तिमीलाई तिम्रो गुमेको नायकत्व दिन्छौं।

यो चौबाटोमा प्रचण्ड साँच्चै पराजित भएँ कि भन्ने मनस्थितिमा पुगेको देखिँदैछ। यही त्रासबाट मुक्त हुन प्रचण्डले अर्को राजनीतिक छलाङ मार्न खोजेको देखिँदैछ।

छलाङ मार्न प्रचण्ड माहिर छन् तर भावी छलाङले उनलाई किनारा होइन, झन् दलदलमा लैजानेतर्फ बुद्धिजीवीहरू औंल्याउँछन्। जुन मधेसी नेताको नेतृत्वमा ३० जना माओवादी वीभत्स किसिमले दिउँसै घोचीघोची मारिएका थिए आज प्रचण्ड तिनै नेताबाट वैतरणी तरिने लोभमा फसेका छन्।

उनी यो चालमा असफल भए अर्को चाल पनि मेरो हातमा छ भनेर दन्त्यकथाको बाँदरले जस्तो गर्ने तयारीमा देखिन्छन् तर यो चालले उनलाई कहाँ पु:याउने हो अहिल्यै भन्न सकिन्न। वैद्य र चन्दको विद्रोही समूहमा लागेर भए पनि उनी चुप लागेर नबस्ने ध्वाँस प्रदर्शन गर्न खोज्दै छन्।

वैद्य र चन्द पनि आफूले क्रान्तिमा गद्दारी गरेको र सुविधाभोगी तथा भ्रष्टाचारको आरोप लगाइसकेका प्रचण्डकै लागि क्रान्तिको रेलगाडी रोकेर किन पर्खिराखेका छन्? एक पूर्व कम्युनिस्टले भने, किनभने प्रचण्डको अभावमा उनीहरूलाई त्यस्तो क्रान्ति गर्ने स्वतन्त्र आँट छैन।

किन प्रचण्ड बाबुराम जस्ता सशस्त्र क्रान्तिमाथि गद्दारी गर्नेहरूलाई नै पर्खिरहनु भएको हो? अर्का परिपक्व क्रान्तिकारीले विपरीत जवाफ दिँदै भने, क्रान्ति भनेको न दालभात हो, न त दहीचिउरा ! यसलाई पञ्चालन गर्न धेरै कुरा मिल्नुपर्छ, मिलाउनु पर्छ।

पाँच टुक्रा भइसकेको छ माओवादी। यी पञ्चतत्त्व नमिली पहिलाको जस्तो जबर्जस्त शक्ति हुन एक्लाएक्लै कुनै माओवादीको पनि सामथ्र्य पुग्दैन। त्यो सामथ्र्य जुटाउन सबैथरी नमिली सम्भव छैन।

त्यसैले हजार कुरा नमिल्दा पनि क्रान्तिको लोभमा परेर वैद्य न चन्द प्रचण्ड र बाबुरामलाई संविधानसभा छोड्न लल्कारिरहेका छन्। यही लल्कारमा हिजोआज प्रचण्ड र बाबुराम लोभिँदै छन्। त्यसैले जातीय राज्यको लिँडेढिपी छोडेका छैनन्।

उनले थपे, तर यो उनीहरूले कांग्रेस-एमालेलाई लगाएको घुर्की मात्र हो। किनभने अब प्रचण्ड-बाबुरामले हिजोजस्तो दु:खका दिन बेहोर्न सक्दैनन्। खानपान, रहनसहन, महँगा गाडीको यात्रा र कमाइले यिनीहरू के जंगल पस्थे? के गरिबका घरमा बस्न सक्थे?

उनले खुइलिएका भए पनि माओवादी नेतामा बल रहेको बताउँदै भने, माओवादीमा प्रचण्ड, वैद्य र भट्टराई भनेका क्रमश: राजनीतिज्ञ, दार्शनिक र योजनाकार थिए। एकको अभावमा अर्काको अस्तित्व द्वन्द्ववाद, भौतिकवाद र वैज्ञानिक साम्यवादबिनाका माक्र्सजस्तै हुन्छ।

जब तीन कुरा एक ठाउँमा आउँछ अनि पो परिवर्तनकारी माक्र्सवादको शक्ति देखा पर्छ। छ न त मार्क्‍सको सिद्धान्त आउनुअघि पनि द्वन्द्ववाद, भौतिकवाद र समाजवाद आइसकेको थियो तर सशक्त थिएन। हो, त्यस्तैगरी प्रचण्ड, वैद्य र बाबुरामबिना सशक्त नेकपा माओवादी नै बन्न सक्दैन। त्यसपछि मात्र आउँछन् बादल जस्ता संगठनकारी। चन्द जस्ता जुझारु युवा नेता।

प्रचण्ड त्यस्ता नेता हुन्, जोसँग भेट्ने मानिस मर्न, मार्न तयार हुन्थ्यो। त्यस्तरी मानिसलाई परिचालन गर्न सक्छन् उनी तर बाबुराम र वैद्यको भाषण सुनेर कोही चल्नेवाला हुँदैनथ्यो। बाबुराम र वैद्यबिनाका प्रचण्ड शक्तिहीन हुन्, केही होइनन्। एक्ला प्रचण्ड फ्याँङ्ते मात्र हुन्।

माओवादीमा वैद्य र बाबुराम मिले प्रचण्डलाई तह लगाए। प्रचण्ड र वैद्य मिले बाबुरामलाई साइजमा झारे। तीनैजना एकै ठाउँमा भएको बेला वैद्य पनि शक्तिशाली थिए। उनी नै हुन्, जसले प्रचण्डलाई प्रधानमन्त्री बनायो।

भट्टराईलाई पनि प्रधानमन्त्री वैद्यले नै बनाएका हुन्। तीनैथरी जब एक ठाउँमा बस्छन्, त्यसपछि अल्जेब्राको हिसाबमा जस्तै माओवादीमा क्यु लाग्छ। एमा क्यु लागेको जस्तै ज्यादै शक्तिशाली।

जब छुट्टिए र सँगै बसेनन् अनि उनीहरू एक्लो ए जस्ता शक्तिहीन बन्न पुगे। माओवादी जनयुद्धमा यी तीनैजना एक ठाउँमा थिए त्यसैले माओवादी पार्टी ए क्यु थियो। जहिले ती विभाजित भए, शक्तिहीन बन्दै गए। भएको यति हो।

माओवादी एक्यु छिन्नभिन्न हुँदा सबैभन्दा पहिले यसका सशक्त नेता फ्याँङ्तु बनिरहेका छन्। उनी नै माओवादीका मुखडा भएकाले उनको बोलीको ठेगान अल्मलिन थालेको छ।

हिजो एमाले-कांग्रेसले जिब्रो टोक्दा संविधानसभाको एजेन्डा स्थापित गराउने प्रचण्ड अहिले संविधानसभाको सान्दर्भिकता सकिएको बताउन थालेका छन्। जबकि कांग्रेस-एमाले संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने अडानमा अडिग देखिँदैछन्।

के अचम्म? आफैंले जन्माएको सन्तानको हत्या होइन यो? यस्तो आत्मघाती खेलमा माओवादी नेता प्रचण्ड पुग्न थाल्नु कम्युनिस्ट आन्दोलनको दुर्भाग्य नै हो। हिजो आफूलाई जनताले संविधानसभाको ठूलो पार्टी बनाउँदा संविधान जारी गर्न नसक्ने।

संविधानसभा विघटन गर्ने। त्यसपछि फेरि संविधानसभाको चुनाव भनेर दुईतिहाइको माग गर्दै जनतामा जाने। अनि जनताले आफूलाई सानो पार्टी बनाए भनेर जनतासँग बदला लिन प्रचण्डजस्तो नेता अभिमुख हुने? के जनताको अभिमतभन्दा प्रचण्ड मुख्य हुन्? जनताभन्दा प्रचण्ड ठूला हुन्?

चुनाव हारेको रिस प्रचण्डले जातीय राज्य बनाउने मुद्दा उठाएर मलाई सफल हुन नदिने हो भने अरूलाई पनि शान्तिसँग बस्न दिन्न भनेर लागेका हुन्? जातीय राज्य कांग्रेस-एमालेले मानेनन्, त्यो बेग्लै कुरा हो तर तिनले माने पनि अहिलेको विश्वमा यो सम्भव छैन।

फेरि नेपालको यो जातमाथि ऊ जात जाइलाग्ने संस्कार न इतिहास दुवै छैन। मधेसमा पनि सामाजिक परिवर्तन कति व्यापक भइसकेको छ भने समाज धेरै अगाडि बढेको छ। फेरि जुन नेतासँग प्रचण्ड एकता गरिरहेछन् ती मधेसकै जनताबाट अस्वीकृत छन्।

मधेसका नेता पछि लागेर हुँदैन भनेर दोस्रो संविधानसभामा तराईका जनताले अभिमत दिएका होइनन् र? उनीहरूले लोकतान्त्रिक मार्गबाटै जायज मागहरूलाई सम्बोधन गर्नेछ भनेर चुनावमा कांग्रेस-एमालेलाई मत दिएका होइनन्?

त्यसैले एक बुद्धिजीवीले भने, प्रचण्डको जातीय राज्यले उनकै कार्यकर्ता मात्र अल्मल्याउनेछ। किनभने ती अल्मलिन्जेल मात्र प्रचण्डको महत्त्व बढ्नेछ। यो जातीय राज्यको उनको भुलभुलैयाले सबैभन्दा पहिला प्रचण्डलाई नै राष्ट्रिय नेताबाट जातीय नेतामा झार्ने र एमाओवादीलाई रित्तो बनाउनेछ।

एजेन्डाविहीन बन्दै गएका माओवादी देख्दा लाग्छ, एमाओवादीको राजतन्त्र ढाल्ने, संघीयता घोषणा गराउने र संविधानसभाको चुनाव गराउने जस्ता ऐतिहासिक भूमिका पूरा गरेपछि सकिएछ।

कमसेकम ती मुद्दालाई संविधानमा लिपिबद्ध गर्नसम्म माओवादीले संयम देखाउनुपर्ने हो तर उनीहरू यहीँनेर चुके। यसको उदाहरण खोज्न अन्यत्र गइरहनु पनि पर्दैन। जातीय राज्य भन्छन्, बन्द आयोजना गर्छन्। त्यसको सर्वसाधारणले नै प्रतिकार गर्न थालेका छन्।

त्यसो भए माओवादीका एजेन्डा अब के बाँकी रहे त? उपनिवेशवाद, साम्राज्यवाद, शोषणको कहिल्यै नसकिने विरोध? उनले भने, नेपालमा कम्युनिस्ट पार्टीको औचित्य समाप्त भएको हो कि? 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z