लाखौँ रुपैयाँ कुम्ल्याएर दुई सहकारी संचालक फरार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धुलिखेल: केहि वर्ष अघि काभ्रेमा स्थापना भई जिल्लाका विभिन्न गाविसका सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएका दुई वटा सहकारी संस्थाहरु बन्द भएका छन् ।

डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका नासिका स्थान साँगालाई कार्य क्षेत्र बनाएर दर्ता भएको हिमगिरी बचत तथा ऋण सहकारी संस्था र बनेपालाई कार्यक्षेत्र बनाएर सञ्चालन भएको सरल बचत तथा ऋण सहकारी संस्था बन्द भएका हुन् ।


यी दुवै सहकारीका सञ्चालकहरु महिनौदेखि सहकारी बन्द गरेर सम्पर्कविहिन भएको बचतकर्ताहरु बताउँछन् । आफुहरुले बचत गरेको रकम फिर्ता नगरि सहकारी बन्द गरेर सञ्चालकहरु फरार रहेको भन्दै बचतकर्ताहरु डिभिजन सहकारी कार्यालय काभ्रेमा मौखिक तथा लिखित उजुरी परेपनि कार्यालयले भागेका सहकारी सञ्चालकलाई कारवाही गर्न नसकेको बचतकर्ताहरु बताउँछन् ।

नासिकास्थान साँगा गाविसलाई कार्यक्षेत्र बनाएर २०६६ साल पुस २ गते १४४८ नम्बरमा दर्ता भएको हिमगिरी बचत तथा ऋण सहकारी संस्था विगत दुई महिनादेखि बन्द रहेको छ ।

यसैगरी बनेपा नगरपालिकालाई कार्यक्षेत्र बनाएर २०६७ साल साउन १४ गते डिभिजन सहकारी कार्यालय काभ्रेमा १६१२/०६७ मा दर्ता भएको सरल बचत तथा ऋण सहकारी संस्था पनि बचतकर्ताहरुको लाखौँ रकम नै फिर्ता नगरि फरार भएको छ ।

यी दुवै सहकारीले सुरुमा संस्थाको शेयर पूँजी २५÷२५ हजार रुपैँया रहेको उल्लेख गरेका छन् । साँगामा रहेको हिमगिरीमा प्रेमबहादुर तामाङ र सरलमा चन्द्रलाल श्रेष्ठ अध्यक्ष रहेका छन् ।

पछिल्लो समय हिमगिरीमा सहकारीको कार्यकारी ब्यस्थापकमा तत्कालिन सिपाडोल गाविस हाल सूर्यविनायक नगरपालिका–७ का दिलबहादुर तामाङ रहेका थिए । सुरुमा ब्यवस्थित रुपमा सञ्चालन गरिएको सहकारीमा संचालकहरुबीच मनमुटाव बढ्दै गएपछि धरापमा परेको थियो ।

बिना धितौ लाखौँ रुपैँया लगानी गरिएको ऋण उठ्न नसकेपछि सहकारी ओरालो लाग्दै गएको बचतकर्ताहरु बताउँछन् । जिल्लामा करिब एक हजार पाँच सय वटा सहकारी दर्ता भएका छन् । धेरै सहकारी हुनु र सहकारी चल्नका रुपमा एक अर्को सहकारीबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा सहकारी डुब्ने अवस्थामा पुगेका छन् ।

सहकारी सञ्चालन गर्न कठिनाई भएपछि विगत केहि वर्षदेखि जिल्लामा सहकारी मर्ज हुने क्रम समेत बढेको छ । बनेपामा सञ्चालन भएको सरल बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने कृष्णगोपाल श्रेष्ठ सम्पर्कमा रहेका छैनन् ।

सहकारी कृष्णगोपालले सञ्चालन गरेपनि संस्था भने चन्द्रलाल श्रेष्ठको नाममा दर्ता भएको छ । कृष्णगोपाल श्रेष्ठ र चन्द्रलालबीच भएको मनमुटावका कारण सहकारी संचालनमा कठिनाई देखिएको स्रोतले बताएको छ ।

बचतकर्ताको रकम डुबाएर फरार रहेका दुवै सहकारीका सञ्चालकले वर्षौसम्म संस्थाको साधारण सभा गर्नको लागि डिभिजन सहकारीबाट अनुमति नलिएको कार्यालयले जनाएको छ । हिमगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमबहादुर तामाङले आफ्नो संस्थाले हजारौँ बचत कर्ताको बचत रकम फिर्ता गरेको दावी गरेका छन् ।

 ‘मैले हजारौँ बचतकर्ताको पैसा फिर्ता गरेको छु, त्यसमध्ये २/४ जना छुट्का हुन सक्छन् उनीहरुले पासबुक ल्याएको खण्डमा उहाँहरुको बाँकी पैसा बाटोमा भेटेको अवस्थामा दिन पनि तयार छु’ तामाङले भने–‘कार्यालयका लागि हामीले पाँच वर्षका लागि घर भाडामा लिएका थियौँ, पाँच वर्ष पुरा भयो, घरबेटीलाई कोठाहरु आफुलाई नै चाहियो भन्नु भएकोले केहि समयका लागि कार्यालय बन्द गरेका हौँ, छिट्टै हामी नयाँ ब्यवस्थाका साथ व्यबस्थित रुपमा सहकारी सञ्चालन गर्दैछौँ’ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z