राहदानीले राष्ट्रियता बदलेपछि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाँचथर-वैदेशिक रोजगारीमा जान लिम्बा–९, जोगीडाँडाका दिनेश तामाङले केही दिनअघि मात्र राहदानी लिए। एउटा म्यानपावर कम्पनीमार्फत प्रक्रिया थाले। तर, उनको विदेश जाने सपना चकनाचुर हुन पुग्यो, जब म्यानपावरले राहदानीमा खोट औंल्याउँदै उनैलाई फिर्ता दियो। राहदानीमा तामाङको राष्ट्रियता ‘तिब्बती' उल्लेख गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयमा कागजात पेस गरेको दुई महिनापछि उनको हातमा राहदानी परेको थियो। विदेश जान ठिक्क परेको छोरो राहदानीमा अचानक देखिएको त्रुटिले रोकिनुपरेपछि उनका बुबा बिहीबार जिल्ला प्रशासन पुगेर गुनासो गरेका छन्।  सन् २०१४ डिसेम्बर २६ मा जारी गरिएको दिनेशको राहदानी नम्बर ०८२९२७०४ हो।
जिल्लामा वितरित राहदानीमा यस्तो त्रुटि देखिएको यो पहिलोपटक होइन। यसअघि पनि राहदानीमा पटकपटक ‘नेसनालिटी' फरकफरक लेखिएर आउने गरेको जिल्ला प्रशासन कार्यालय नै स्विकार्छ। धेरैजसो राहदानीमा राष्ट्रियता तिब्बती लेखिएर आउने गरेको छ। परराष्ट्र मन्त्रालयबाट जारी हुने राहदानीमै यस्तो त्रुटि देखिनु गम्भीर विषय भएको सेवाग्राही बताउँछन्। कार्यालयका अनुसार राष्ट्रियता ‘कतारियन' उल्लेख गरिएको अर्को राहदानी पनि एक साताअघि आएको थियो।
जिल्लामा वितरित राहदानीमा पटकपटक त्रुटि देखिएपछि गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकिएको प्रजिअ प्रदीप कँडेलले बताए। ‘लिखित रूपमै मन्त्रालयलाई जानकारी गराएका छौं,' उनले भने, ‘यो त्रुटि जिल्लामा भएको होइन, माथिबाटै हो।' जिल्लाबाट कागजात पठाउँदा पूर्ण सावधानी अपनाए पनि राष्ट्रियता फरक लेखिएर आउने क्रम नरोकिएको उनको भनाइ छ।
राहदानी बिगे्रको थाहा पाएपछि दिनेशका बाबुछोरा दुई दिन हिँडेर सदरमुकाम फिदिम आएका छन्। पिता सन्तवीरले बिहीबार प्रजिअ कँडेलसँग गुनासो गरे, ‘बिनसित्ती सदरमुकाम धाउँदा पैसा नाश भो। उता खेती अलपत्र छ। विदेश जाला र पैसा पठाउला भनेको छोरोको यो ताल छ। यस्तो गम्भीर कमजोरी गर्नेलाई कारबाही हुनुपर्छ।' राहदानीलाई फारम भर्दा, लिन आउँदा र गल्ती सच्याउन आउँदा बीस हजारभन्दा बढी पैसा खर्च भइसकेको उनले बताए।
जिल्ला प्रशासन कार्यालयका अनुसार त्रुटि भएको राहदानी सच्याउन पुनः फारम भरेर पठाउनुपर्छ । ‘थप खर्च नलागे पनि नयाँ राहदानी पाउने समयसम्मै कुर्नुपर्छ,' कार्यालयको राहदानी फाँटका राजकुमार न्यौपानेले भने, ‘काठमाडौं गएर सच्याउँदा समय कम लाग्छ।' काठमाडौंसम्म जान थप खर्च लाग्ने र त्यहाँ पनि कहाँ गएर के गर्ने थाहा नभएकाले जिल्लामै कुर्नुपर्ने बाध्यता सन्तवीरले सुनाए।
जिल्ला प्रशासन कार्यालयमा नागरिकतासहित फारम भरेर पेस गरेपछि रुजु गर्ने काम हुन्छ। रुजु गरिएका  फारम जिल्ला प्रशासन कार्यालय झापामा जम्मा गरी परराष्ट्र मन्त्रालय पठाइन्छ। मन्त्रालयको राहदानी विभागले राहदानी तयार पारी जिल्ला पठाउने गर्छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z