१० महिनामै विभागमा २३ सय उजुरी !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१० महिनामै विभागमा २३ सय उजुरी !
आइतवार करिब १२ बजेको समयमा धर्ना गाविस १, दाङ घर भएकी पिमा खड्का वैदेशिक रोजगार विभागमा गुनासो गर्दै थिइन्

अहिलेसम्म मेरो पीडित श्रीमानलाई घर फर्काइएन, मैले के गरुँ?’ उनको भनाईअनुसार गत माघ १६ गते ‘कम्पास मेनपावर कम्पनी’ मार्फत मलेसिया पुगेका उनका श्रीमान पदम खड्का अहिले मलेसियामा अलपत्र छन्।

१ लाख ५२ हजार ५ सय रुपैयाँ खर्च भएको तर तलव तोकिएको भन्दा थोरै भएको तथा ओभरटाइम कामको सुविधा नभएको भन्दै उनको श्रीमान घर फर्कन खोजेका रहेछन्। उनले खर्च गरेको रकमको बिल भने ८० हजारको हाराहारीमा मात्रै पुग्न आउँछ।

उनको गुनासोलाई लिएर विभागमा केही बेर छलफल भइसकेपछि अन्त्यमा मेनपावर कम्पनी र उनीबीच क्षतिपूर्ति दिने र श्रीमानलाई १० दिनभित्रमा घर फर्काउने सम्वन्धमा सहमति भयो।
.........................................................
‘मेरो श्रीमती रुपा पुनः मगरलाई कुवेत पठाइदिने भनेर गाउँकै चिनेका दुईजना व्यक्तिले पासपोर्ट र नागरिकता लिए, २ महिनामै फिर्ता हुन्छ भनेको आज २ वर्ष बितिसक्यो, न लैजाने कुरा गर्छ न पासपोर्ट र नागरिकता फिर्ता गरिदिन्छन्, फोन गर्दा पनि अर्कै मान्छे भन्दै धम्क्याउन खोज्छन्, त्यसैको बिरुद्धमा उजुरी हाल्न आएको हुँ’ आइतवार वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्न पुगेका किशन बुढाथोकीको गुनासो हो यो।

दैनिकजसो आउने यस्तै यस्तै गुनासा तथा पीडाहरु सुन्न, उजुरी दर्ता गर्न तथा उचित परामर्श दिनका लागि वैदेशिक रोजगार विभाग उजुरी शाखाका कर्मचारीहरु दिनभर व्यस्त देखिन्छन्। ‘कतिपय गुनासाहरु सम्वन्धित पक्षलाई बोलाएर छलफलकै माध्यमबाट टुङ्ग्याउन हामी प्रयास गर्छौँ, कतिपय गुनासाहरुमा निर्णय गर्न केही समय लाग्छ’ विभागका निर्देशक उमाकान्त पौडेलले भने।

विभागमा खासगरी वैदेशिक रोजगारीमा जाँदा धेरै पैसा लिएर पनि पर्याप्त तलव सुविधा नपाएको, ओभरटाइम सुविधा नदिएको, अर्कै काममा लगाएको, श्रम शोषण गरेकोजस्ता उजुरीहरु पर्ने गरेका छन्।
विभागका अनुसन्धान अधिकृत गोपिकृष्ण रेग्मीका अनुसार परेका उजुरीहरुको प्रकृतिअनुसार अदालतमा पठाइदिने वा टुङ्गो लगाउन सकिने र मिल्ने भएमा पीडित र सम्वन्धित सरोकारवालाहरुकै मद्दतबाट टुङ्गो लगाइन्छ।

विभागमा मुख्यतः व्यक्तिगत तथा संस्थागत गरी दुई किसिमबाट उजुरीहरु हालिन्छ। कुनै कम्पनी दर्ता नगराई मध्यस्थकर्ताको रुपमा आफ्नो भूमिका व्यक्तिगत रुपमा निभाएकासँग सम्वन्धित गुनासाहरुलाई व्यक्तिगत उजुरी भनेर दर्ता गरिन्छ। त्यस्तै दर्ता भई संचालन भएका संस्था (खासगरी मेनपावर कम्पनी)सँग सम्वन्धित गुनासाहरुलाई संस्थागत उजुरीका रुपमा दर्ता गर्ने गरिएको छ।
वैदेशिक रोजगार विभागमा गत वर्षको साउन महिनादेखि यो वर्षको वैशाख मसान्तसम्म ६ सय ९६ व्यक्तिगत उजुरीहरु परेका छन् भने १ हजार ६ सय ७ वटा संस्थागत उजुरीहरु परेका छन्। व्यक्तिगत र संस्थागत गरी यो १० महिनासम्मको अवधिमा कुल २ हजार ३ सय ३ उजुरीहरु परेका छन्।

संस्थागत र व्यक्तिगत दुवै उजुरीउपर ६३ करोड २७ लाख ५७ हजार रुपैयाँ दावी रकम माग गरिएकोमा १० करोड ८७ लाख रुपैयाँ विगो भराएको विभागले जनाएको छ। त्यस्तै १ सय ३१ वटा मुद्दा भने अदालतमा दायर भइसकेका छन् ।

वैदेशिक रोजगारमा जाँदा व्यक्तिको लापरबाहीका कारण पनि कतिपय समस्याहरु निम्तिने गरेको छ। वैदेशिक रोजगार विभागका सह–सचिव तथा कार्यालय प्रमुख विश्वराज सुवेदीका अनुसार बढाईचढाई गरेर क्षतिपूर्तिको लागि भनेर उजुरी हाल्नेको संख्या पनि प्रशस्तै छ।
केही उदाहरण दिँदै सुवेदी भन्छन् ‘यहाँबाट काम जानेको भनेर युवाहरु विदेशिन्छन्, गइसकेपछि कामको सिप हुँदैन, काम गर्न सक्दैनन् अनि यहाँ आफन्तहरुले क्षतिपूर्ति पाउन भन्दै उजुरी हाल्न आउँछन्।’
उनका अनुसार कतिपय युवाहरुले एजेन्ट तथा मेनपावर कम्पनीलाई तोकिएभन्दा बढी रकम पनि दिन्छन् अनि विदेश गएर काम गर्न नसक्ने भएर फर्किएपछि बल्ल बढि रकम तिर्नुपरेको गुनासो गर्छन्।
वैदेशिक रोजगारमा जानुअघि कम्पनीसित भएको सम्झौता पूर्ण रुपमा हेरेर मात्र हस्ताक्षर गर्न र आवश्यक सिप लिएर मात्र जानुपर्नेमा सम्बद्ध अधिकारीहरु सुझाव दिन्छन्। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z