शान्ता चौधरी भन्छिन्-बन्द हड्तालको प्रतिकार गरौं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाठौँ : पूर्व सभासद् शान्ता चौधरीले बन्द हड्ताका कारण मुलुक जर्जर भइसकेको बताउँदै अब नागरिकस्तरबाट प्रतिकार थाल्नुपर्ने बताएकी छन् ।
लायन्स क्लब अफ काठमाडौँले आज यहाँ आयोजना गरेको शान्ति तथा सद्भाव ऐक्यबद्धता कार्यक्रममा बोल्दै उनले बन्द र हडतालका कारण मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै आन्दोलनको स्वरूप परिवर्तन नगरेमा अब नागरिकस्तरबाटै बन्द, हडतालको प्रतिकार गर्नुपर्ने बताइन् ।
'एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने भन्दा पनि बन्द, हडताल र नाकाबन्दीका कारण उत्पन्न समस्यालाई चाँडो समाधान गर्नेतर्फ केन्द्रित हुन जरुरी छ', उनले भनिन्, 'आन्दोलनबाट उब्जेको समस्या हल गर्न राजनीतिक नेतृत्व गम्भीर हुनुपर्यो ।'
कार्यक्रमका अन्य सहभागीले बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्या समाधान खोज्न नागरिक समाज, मानवअधिकारकर्मी र बौद्धिक वर्ग सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।
वक्ताहरुले नाकाबन्दीका कारण मुलुकले विकराल समस्या भोगिरहँदा पनि नागरिक समाज, गैरसरकारी सङ्घसंस्था र बौद्धिक वर्ग चुप लागेर बसिरहेका बताए ।
क्लबका अध्यक्ष डिके ढुङ्गानाले नाकाबन्दीका कारण औषधि जस्ता संवेदनशील वस्तुको अभाव हुँदा पनि सरकार र अन्तर्राष्ट्रिय सङ्घसंस्थाले चासो नदेखाउनु दुःखको कुरा भएको बताए ।
मुलुकभित्र ६०० र बाहिर २११ राष्ट्रमा फैलिएको लायन्स क्लबले शान्ति र सद्भाव कायम राख्न देशव्यापी अभियान सञ्चालन गर्दैछ । रासस
###
0 comments
Write Down Your Responses