नाकाबन्दीका कारण नेपालका ३० लाख बालबालिका मृत्युको जोखिममा : युनिसेफ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर १५ –  संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले अत्यावश्यकीय सामग्रीको अभावमा नेपालका ३० लाख बालबालिका स्वास्थ्यको उच्च जोखिममा रहेको जनाएको छ ।
युनिसेफका निर्देशक एन्थोनी लेकले विज्ञप्ती निकालेर जाडोका बेला उर्जा, खाद्य, औषधि तथा खोपको अभावमा नेपालका ५ वर्षभन्दा मुनिका ३० लाख बालबालिका बिरामी र मृत्युसम्मको उच्च खतरामा रहेको चेतावनी दिनुभएको हो । युनिसेफले १० हप्तादेखि भारतसँग जोडिएको सीमा क्षेत्रबाट आपूर्तिमा कडाइ भएपछि औषधि अभाव उच्च भएको भन्दै चिन्ता व्यक्त गरेको छ । टिबी रोग विरुद्धको बिसीजी खोप अभाव भइसकेको र अरु अत्यावश्यक खोप तथा एन्टिबायोटिक पनि अत्यन्तै कम मात्र मौज्दात रहेको भन्दै युनिसेफले समस्या समाधानका लागि पहल गर्न सबैसँग आग्रह गरेको छ ।
यो संकटबाट सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्रका बालबालिका प्रभावित हुने विज्ञप्तीमा उल्लेख छ । इन्धन लगायत खाद्यान्नको अभावमा बालबालिकामा हाइपोथर्मिया तथा कुपोषणको उच्च खतरा रहनुका साथै जीवनरक्षक औषधि तथा खोपको अभावमा बालबालिकाको ज्यान जोखिममा रहेको युनिसेफले जनाएको हो । यस्तै इन्धनको अभावमा घरभित्रै दाउराको प्रयोग गर्दा बालबालिकामा निमोनियाको जोखिम बढ्ने भन्दै युनिसेफले आउँदो २ महिनामा एक लाख २५ हजार नवजात शिशुको जीवन पनि उच्च जोखिममा रहेको भन्दै पनि चिन्ता व्यक्त गरेको छ ।
भोकमरी, रोग र चिसोबाट बालबालिकालाई जोगाउन तत्काल आत्यावश्यक आपूर्ति सहज गराउन सबैपक्षले पहल गर्न ढिला गर्न नहुनेमा युनिसेफले जोड दिएको छ । भूकम्पको पीडाबाट उठ्दै गरेका बालबालिका अहिले भइरहेको नाकाबन्दीका कारण थप समस्यामा परेकाले यो जाडो मौसम बालबालिकाका लागि थप कष्टकर बन्ने भन्दै तत्काल समस्या समानमा लाग्न युनिसेफले आग्रह गरेको छ ।
राष्ट्रसंघ महासचिव वान कि मुनले नेपाल–भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन पटक पटक ध्यानाकर्षण गराएको स्मरण गर्दै युनिसेफ निर्देशक एन्थोनि लेकले समस्या समाधान नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z