मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लिने, नेपाली विस्थापित हुने आशंका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: मलेसियाले बंगालदेशबाट १५ लाख कामदार लिने भएको छ । बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले आफ्नो मुलुकबाट १५ लाख कामदार पठाउन मलेसिया सरकारसँग सहमति गरेका र केही साताभित्रै यससम्बन्धी सम्झौतामा हस्तारक्षर गरिने जानकारी गराएका छन् । मलेसिया र बंगलादेशबीचको यो सहमतिले नेपालको वैदेशिक रोजगारीमा भने ठूलो झट्का लागेको छ ।

मलेसिया जाने कामदार ७५ प्रतिशतले गिरावट आएका बेला बंगलादेशी कामदार त्यहाँ जाने भएपछि नेपालीको अवसर झन् गुम्ने देखिएको छ । विगतमा मलेसियाले बंगाली कामदार रोकेर नेपाली लिन थालेकाले लाखौंले त्यहाँ अवसर पाएका थिए ।


नेपालमा सरकारले निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले नेपाली कामदार लिन आनकानी गरिरहेका छन् । मलेसियामा पाँच तहसम्ममा रहेका एजेन्ट निकै शक्तिशाली छन् ।

एजेन्टकै सक्रियतामा मलेसिया सरकारले बंगलादेशबाट कामदार लिने निर्णय गरेको हुन सक्ने म्यानपावर व्यवसायीले अनुमान गरेका छन् । अहिलेको गरिएको प्रारम्भिक सहमति अनुसार बंगलादेशले १५ लाख कामदार मलेसिया पठाएमा नेपालीको अवसर गुम्नेछ ।


मलेसियाको न्यू स्ट्रेट्स टाइम्स अनलाइनले आफ्नो बुधबारको संस्करणमा मलेसियामा १५ लाख कामदार पठाउन बंगलादेश सरकार तयार रहेको समाचार लेखेको छ । बंगालदेशको क्याबिनेट सचिव मोहमद साफिउल अलामलाई उदृध गर्दै अनलाइनले प्रधानमन्त्री हसिनाले दुई देशबीच कामदार आदानप्रदानका लागि सहमति गर्न अनुमति दिएको उल्लेख गरेको छ ।

एक महिनाभित्रै कामदार आदानप्रदान गर्न दुई देशबीच सहमति हुने न्यू स्टेट्सले लेखेको छ ।
कामदार पठाउने मोडालिटीका बारेमा भने बंगलादेश अझै स्पष्ट भइसकेको छैन । जी टु जी (दुई देशका सरकारी तहमा) र बी टु बी (दुवै देशका निजी क्षेत्रबीच) भन्नेमा स्पष्ट हुन बाँकी छ । दुवै विधि अवलम्बन हुन सक्नेसमेत केही संचारमाध्मले उल्लेख गरेका छन् ।

अनलाइनले मलेसियाका रोजगारदाताले जाने कामदारलाई ३४ हजारदेखि ३७ हजार टाँका दिनुपर्ने जनाएको छ । कामदारलाई रकम तिरेर मलेसियाका रोजगारदाताले ठूलो मात्रामा बंगलादेशी कामदार लिन्छन् वा लिँदैनन् भन्नेमा चाहिँ अहिल्यै निश्चित हुन नसक्ने अवस्था नरहेको बंगलादेशका सञ्चारमाध्मयले जनाएका छन् ।

रोजगारदाताले प्रतिकामदार ३४ हजारभन्दा बढी टाँका तिर्नैपर्ने अवस्था आएमा भने बंगलादेशी कामदार लिन इच्छुक नहुने एक म्यानपावर व्यवसायीले बताए । साँच्चिकै पैसा तिर्नुपर्ने अवस्था आएमा चाहिँ नेपाली कामदारलाई खासै असर नगर्ने उनको भनाइ छ ।
मलेसिया र बंगलादेशबीचको सहमतिले नेपालको वैदेशिक रोजगारीमा ठूलो झट्का लागेको छ । मलेसिया जाने कामदार ७५ प्रतिशतले गिरावट आएका बेला ठूलो संख्यामा बंगलादेशी कामदार त्यहाँ जाने भएपछि नेपालीको अवसर झन् गुम्ने देखिएको छ ।


मलेसिया र बंगलादेशबीच कामदार आदानप्रदानमा भएको सहमतिले नेपालका म्यानपावर व्यवसायी भने झस्किएका छन् । चालू आर्थिक वर्षको सातै महिना मलेसिया जाने कामदारको संख्यामा भारी गिरावट आएको छ ।

गएका वर्षमा औसतमा मासिक २० हजारभन्दा बढी नेपाली मलेसिया काम गर्न जाने गरेकामा अहिले यो संख्या घटेर चार हजार हाराहारीमा आइपुगेको छ । निःशुल्क भिसा र टिकटमा व्यवसायी त्यहाँ कामदार पठाउन इच्छुक देखिएका छैनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले मलेसियाले बंगलादेशबाट कामदार लिने निर्णय गरेकाले अब नेपाली कामदारलाई ठूलो झट्का लाग्ने बताए । नेपाल सरकारको लाचरीका कारण अहिलेको अवस्था आएको हो । ‘निःशुल्क टिकट र भिसा लागू गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले बंगलादेशका लागि चर्को लबिङ गर्दैआएका थिए’, उनले भने ।

मलेसियामा विभिन्न तहमा रहेका एजेन्टले विगतमा म्यानपावर कम्पनीसँग चर्को कमिसन लिएर कामदार रोजगारदातालाई उपलब्ध गराउने गरेका थिए । निःशुल्कको प्रावधान कार्यान्वयन भएमा उनीहरूले कमिसन पाउन सक्दैनन् । तर, नियममा निःशुल्क भने पनि व्यवहारमा अहिले पनि कामदारले मोटो रकम तिरेरै वैदेशिक रोजगारीमा जानुपरेको गुनासो गरिरहेका छन् ।

वैदेशिक रोजगारका विज्ञ डा.गणेश गुरुङले आन्तरिक बजारमा रोजगारी दिन नसकेपछि वैदेशिक रोजगारलाई सुरक्षित गर्ने र रोजगारीका गुणस्तरीय अवसर सिर्जना गराउन सरकार क्रियाशील हुन नसक्दा समस्या आएको बताए । ‘बंगलादेशी कामदारले मलेसियामा प्राथमिकता पाएमा नेपालीलाई प्रत्यक्ष असर गर्छ’, उनले भने ।

मलेसिया अहिलेसम्म नेपाली कामदारको प्रमुख रोजगारीको गन्तव्य हो । सरकारी अनुमति लिएर आठ लाख नेपालीले त्यहाँ काम गरिरहेका छन् । गत वर्षसम्म नेपालमा सबैभन्दा बढी विप्रेषण पनि यही मुलुकबाट भित्रिने गरेको थियो । कुल नेपाल भित्रिने विप्रेषणमा मलेसिया गएका कामदारको योगदान ३० देखि ४० प्रतिशतसम्म छ ।

यो देशको रोजगारी गुमेमा वर्सेनि श्रम बजारमा भित्रिने चार लाख ५० हजारभन्दा बढी जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना सरकारसँग छैन । सरकारले वैदेशिक रोजगारीका नयाँ गन्तव्य खोज्नसमेत सकेको छैन । नेपाली कामदार दशकौंदेखि खाडी मुलुक र मलेसियाजस्ता परम्परागत गन्तव्यमा जान बाध्य छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z