इजरायल मोहले लाखौं गुम्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- बारा, निजगढकी गंगादेवी प्रसाईको पछिल्लो चार वर्ष हिब्रु तथा अंग्रेजी भाषा, केयर गिभर तालिम सिक्दै बित्यो। कहिले भाषा सिक्न त कहिले केयर गिभरको तालिममा सहभागी हुन राजधानी आवतजावतमा चार वर्ष बिताएको बताउने प्रसाईले यस अवधिमा दुई लाख रुपैयाँभन्दा बढी सकिएको दुःखेसो पोखिन्।

सरकारले इजरायल नखोलेका कारण वर्षौं त्यसको प्रतीक्षा गरेकी प्रसाईका लागि लामो समयपछि खुलेको इजरायल अन्तिम समयमा भने हात्ती आयो फुस्सा सरह भएको छ। 'इजरायल जान आवश्यक पर्ने सबै तयारी पूरा गरेकी थिएँ,' उनले भनिन्, 'अन्तिममा वैदेशिक रोजगार विभागले केयर गिभरको प्रमाणपत्रलाई मान्यता नदिँदा बाँकी प्रक्रियामा सहभागी हुनै पाइएन।'

धनकुटा, सल्लेकी भीममाया पूर्वछाने पनि निराश छिन्। कारण एउटै। गत असोजमा विभागले इजरायलको केयर गिभरमा जान चाहनेका लागि दरखास्त आह्वान गरेपछि पूर्वछानेले फारम भरिन्। विभागले उनले लिएर केयर गिभरको तालिम पनि पर्याप्त नभएको भन्दै अस्वीकार गरेपछि उनलाई यतिखेर के गरौं र कहाँ जाउँ भइरहेको छ। 'इजरायलकै लागि भनेर थुपै्र समय र आर्थिक लगानी गरियो,' उनले भनिन्, 'अन्तिम समयमा विभागले प्रक्रियामै नलैजाँदा हामीलाई अन्याय भएको छ।' इजरायलका लागि आवश्यक पर्ने सबै प्रक्रियाको तयारी स्वरुप धनकुटाबाट पटकपटक काठमाडौं आउँदाजाँदा र काठमाडौंका होटलमा बस्दा दुई लाख रुपैयाँभन्दा बढी सकिएको बताउने पूर्वछानेले इजरायलका नाममा खर्च भएको रकम कसरी जुटाउने भन्ने समस्या टडकारो रूपमा आएको गुनासो पोखिन्।

इजरायल जाने तयारी गर्दा दुई लाख रुपैयाँभन्दा बढी खर्च भएपछि पाँचथर, लिम्बाकी मायादेवी आचार्य रेग्मी पनि निकै तनावमा छिन्। 'इजरायलको नाममा ठूलो रकम र समय खेर गयो,' उनले भनिन्, 'जसले गर्दा अहिले घरपरिवारले नै नानाथरी प्रश्न गर्न थालेका छन्।' उनले इजरायल जान आठ वर्षदेखि पर्खेर बसेको दाबी गरिन्। 'राम्रो पारिश्रमिक पाइने र समाज पनि बढी सभ्य भएकाले इजरायल जान आठ वर्षदेखि पर्खेर बसेकी थिएँ,' रेग्मीले भनिन्, 'इजरायलबाहेक अन्यत्रको वैदेशिक रोजगारीमा चासो नभए पनि अहिले विभागका कारण त्यो आकाशको फल आँखा तरी मर जस्तो भयो।'

लामो समयपछि खुलेको इजरायल जान पर्खेर बसेकालाई अन्तिम समयमा विभागले केयर गिभरको तालिम पूरा नभएको भन्दै छनोट प्रक्रियाबाट हटाएपछि यतिखेर कैयौं महिला ठूलो रकम डुबेको र अनावश्यक समय खर्च भएको भन्दै गुनासो गरिरहेका छन्। तेह्रथुम, आठराईकी नबिना प्रसाईले भनिन्, 'सुरुमा निवेदन लिने र पछि पेस गरिएको केयर गिभरको तालिम पूर्ण भएन भन्नु विभागको गलत निर्णय हो।'

उनले इजरायल तयारीका लागि खर्च भएको रकम र व्यतित गरेको समयका लागि विभाग जिम्मेवार हुनुपर्ने जिकिर गरिन्। गत साउन २२ गते जिटुजी (नेपाल र इजरायल सरकार) प्रक्रियाद्वारा केयर गिभरमा कामदार लैजान सहमत भएपछि विभागले असोजमा निश्चित मापदण्ड तोकेर दरखास्त आह्वान गरेको थियो। त्यसमा आठ सय १८ जनाले निवेदन दिएका थिए। तीमध्ये एक सय ३९ जनाबाहेक अन्यले एक महिनाको तालिम लिएर तीन महिनाको प्रमाणपत्र पेस गरेको भन्दै विभागले ती उम्मेदवारलाई प्रक्रियाबाट हटाएको थियो।

विभागका प्रवक्ता जनकराज रेग्मीले दरखास्त आह्वान गरेपछि अन्तिम मितिसम्म तीन महिना समय नपुगे पनि ६ सय ७९ जनाले तीन महिनाको प्रमाणपत्र पेस गरेकाले त्यस्ता प्रमाणपत्र अस्वीकृत गरिएको बताए। केयर गिभरका लागि तीनमहिने तालिम लिएको भए पनि काम चल्ने हुँदाहुँदै एक सय ३९ जना सिमए, अनमी र नर्सिङ अध्ययन गरेकाले समेत दरखास्त दिएकाले विभागले उनीहरूलाई मात्र पछिल्लो प्रक्रियामा सहभागी गराएको थियो।

विभागले उपलब्ध गराएको एक सय ३९ जनाको नामावलीबाट इजरायली दूतावासले चिट्ठा प्रणालीबाट सयजना छानेपछि अघिल्लो साता तिनै सयजनाको लिखित परीक्षा भई ६० जना सफल भएका छन्। यतिखेर तिनै ६० जनाको स्वास्थ्य परीक्षणको काम भइरहेको छ। रेग्मीले पुनः इजरायल खुल्ने/नखुल्नेबारे पहिलो चरणमा इजरायल जाने ६० जनाको कार्यशैलीपछि टुंगो लाग्ने बताए। 'अहिले जान थालेकाहरूले इजरायली परिवारमा राम्रो प्रभाव पार्न सके छिटो माग आउन सक्छ। नराम्रो छाप पारे अर्को माग नआउन पनि सक्छ,' रेग्मीले भने। इजरायली वृद्धवृद्धा तथा बालबालिकाको हेरचाहको काम गर्ने केयर गिभरका लागि २५ देखि ४५ वर्ष ननाघेका, १.४ मिटर अग्लो तथा ४५ केजी तौलभन्दा कम हुन नहुने लगायतका मापदण्ड तोकिएको थियो।

इजरायल रोजगारीमा जाँदा करिब एक लाख रुपैयाँ लाग्ने र मासिक एक लाखभन्दा बढी पारिश्रमिक पाइने भएकाले ठूलो संख्याका युवायुवतीको आकर्षण बढेको छ। नेपाल सरकारले इजरायलसँग श्रम सम्झौता गरेकाले पनि कामदार त्यहाँ काम गर्ने कामदार शोषित नहुनेमा युवायुवती आशावादी देखिन्छन्। अहिले छानिएका सबै सिमए, अनमी र नर्सिङ अध्ययन गरेका हुन्। छानिएकामध्ये ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छन्।

पहिलो चरणमै नर्सिङ अध्ययन गरेका महिला छनोट गरेको इजरायलले आगामी दिनमा केयर गिभरको तालिममात्र लिएकाहरूलाई रोजगारी दिने/नदिनेबारे कुनै टुंगो छैन। जान नपाएकाहरूले इजरायल सरकाले पहिलोपटक नै नर्सिङ अध्ययन गरेका दक्ष जनशक्ति लिन पाएपछि सामान्य केयर गिभरको तालिम लिएकालाई बेवास्ता गरेको आरोप लगाए। 'केयर गिभरको काम गर्न नर्सिङ अध्ययन गरेकालाई सहभागी नगराउनुपर्ने हो,' अर्की आवेदक रामकुमारी भुसालले भनिन्, 'यसपटक नर्सलाई छनोट गरेको इजरायलले अबको छनोटमा डाक्टरलाई प्राथमिकता दियो भने के गर्ने?' केयर गिभरको तालिम सञ्चालन गर्नेहरूका अनुसार इजरायल जाने भनेर उक्त तालिम लिएर बसेकाको संख्या कम्तीमा १० हजार छ।

कार्यक्रमै असफल हुने खतरा थियो : रेग्मी
केयर गिभर पठाउनुपर्ने इजरायलमा सबै नर्सिङ अध्ययन गरेका छनोट भएपछि बजारमा नानाथरी चर्चा चले। विभाग पनि इजरायलमा केयर गिभरको तालिम लिएकाहरू नै जानुपर्छ भन्ने मान्यतामा थियो। गत असोजमा इजरायल खुलेपछि दरखास्त दिने अवधि एक महिना तोकियो। विभागले इजरायल खोलेपछि नै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले असोजमा पर्यटन बोर्डको पाठ्यक्रमलाई आधार मानेर केयर गिभर तालिम दिने संस्था छान्यो।

बोर्डको पाठ्यक्रम अनुसार केयर गिभरका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले तीन महिने तालिमलाई आवश्यक ठानेको हो। तर, धेरैजसो आवेदकले तीन महिनाको तालिम लिएको प्रमाणपत्र पेस गरे पनि केयर गिभरको पाठ्यक्रम स्वीकृत भएको मितिले दरखास्त बुझाउने मितिसम्म एक महिनाभन्दा बढी पुग्दैन। पहिला एक महिनाको तालिम लिनेलाई केयर गिभरको मान्यता दिइन्थ्यो होला। असोजपछि भने इजरायलका लागि तीनमहिने केयर गिभरको तालिम अनिवार्य भयो। त्यसैले बजारमा केयर गिभरको तीन महिने तालिम लिएका कोही पनि भएनन्।

तीन महिने तालिम लिएका केयर गिभर कोही पनि नभएपछि हामीले या इजरायल कार्यक्रम रोक्नुपर्थ्यो नभए नर्सिङ अध्ययन गरेकालाई पठाउनुपर्थ्यो। उक्त कार्यक्रम सन् २०१५ को हो। नेपालले केयर गिभर पठाउन नसके इजरायलले अन्य देशबाट लैजान सक्ने सम्भावना बढेको थियो। निकै लामो पहलपछि सुरु गरिएको कार्यक्रम असफल हुनुभन्दा नर्सहरू पठाएर भए पनि बचाउने प्रयास गरिएको हो। इजरायल जानका लागि आगामी दिनमा पनि एक महिने केयर गिभरको तालिम पर्याप्त हुँदैन। आगामी मागबारे भने अहिले केही भन्न सकिँदैन। निकट समयमा जाने ६० जनाले इजरायलमा कस्तो प्रभाव पार्छन्। सोही आधारमा आगामी माग निर्भर हुन्छ। अब नर्सहरूको साटो तीन महिने केयर गिभरको तालिम लिएकाहरू नै जानु पाऊन् भन्ने हाम्रो मनसाय छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z