एउटै बोकाको डेढ लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फाल्गुन २७, २०७२- एउटा सामान्य बोकाको मूल्य कति पर्ला भनेर सोध्यो भने सहजै उत्तर आउँछ । १० देखि बढीमा ३० हजार । तर, यहाँका एक किसानले पालेको एउटा बोकालाई ग्राहकले डेढ लाख दिँदा पनि बेचेका छैनन् ।

दुर्लुङ घर भई कुस्मामा व्यावसायिक बाख्रापालन गर्दै आएका अर्जुन गुरुङले पालेको २ वर्षको बोका १ सय ४० किलो तौलको छ । ‘बीउ पालेको हो । २ लाख दिए पनि बेच्दिनँ,’ कुस्मामा आयोजित महिला महोत्सवका प्रदर्शनीका लागि ल्याएका उनले भने, ‘यो जमुनापारिको क्रस हो ।’

आइतबारदेखि खजारी महोत्सवमा बोका हेर्नेहरूको भिड लाग्ने गरेको छ । ‘यति ठूलो बोका हुन्छ भन्ने आफैंले पनि सोचेको थिइनँ,’ उनले भने ।

बोका हेर्न भिड लागेकाहरूले फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट पनि गरेका छन् । ‘मासुका लागि किलोमा तौलिँदा एक लाखको हाराहारीमा मूल्य पर्ला,’ गुरुङले भने, ‘यसबाट जन्मिने पाठाले लाखौं कमाउँछन् ।’

उन्नत जातका बाख्राको बीउ जिल्लाभर फैलाउने उद्देश्य रहेको उनले बताए । उन्नत जातका १५ वटा माउ बाख्रा पालेका उनले बाख्राबाटै वर्षमा १० लाखसम्म आम्दानी गरेको बताउँछन् । ‘राम्रो गर्न सके धेरै पाल्न नपर्ने रहेछ,’ उनले भने, ‘मैले ८० हजारभन्दा घटीमा अहिलेसम्म बोका बेचेकै छैन ।’

एउटा माउ बाख्रो ७० हजारदेखि एक लाखसम्ममा बिक्री गरेको उनले बताए । उनले भने, ‘१५ वटा बाख्रा पाल्न मासिक ५० हजार खर्च हुन्छ ।’ एउटा बोकालाई दैनिक ५ किलोसम्म अन्न खुवाउने गरेको उनले बताए । उनले भने, ‘यिनीहरूलाई आवश्यक सन्तुलित आहारा खुला छोड्छु, खान सक्नेजति आफैं खान्छन् ।’

प्रदर्शनीमा ल्याइएका करिब तीन दर्जन बाख्रा र बोकामध्ये गुरुङकै बोका उत्कृष्ट भएको पशु कार्यालयले जनाएको छ । कार्यालयका पशु चिकित्सक विमलप्रसाद शर्माका अनुसार सन्तुलित आहारा दिन सके जमुनापारी जातको बोकाको तौल २ सय किलोसम्म हुन्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z