छोरा–बुहारी, नाति–नातिना सबै हुँदा पनि किन म एक्लो ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बालकुमारी न्यौपाने
मन दुखाउन ठूलो स्वरमा गाली गर्नुपर्दैन । न त तिखो बचन बोल्नुपर्छ । बरु यसरी बोलेर दिएका घाउ त विस्तारै निको होला तर बोल्दै नबोलेर दुखाएको चित्तको खाल्डो पुरिने भन्दा पनि गहिरिएर जाने रैछ । सानोमा मैले नै आमा भन्न सिकाएको छोराले अहिले आमा भन्न बिर्सिएपछि मनमा चसक्क बिझ्दो रहेछ ।
हुन त खप्परमा सधैँ हन्डर खान लेखेको छ होला । नत्र ७० वर्षको उमेर काट्दा एक दिन त आनन्दको सास फेर्न पाउँथे होला नि ! जन्मदाको साइत बिग्रिएको थियो कि ? छैठीमा भावीले यस्तै लेखिदिए थाहै पाउन सकिन ।
विवाह गरेर घर आएपछि श्रीमान्को साथ पाएर म दंग थिए । एक छोरा र तीन छोरी जन्मिसकेका थिए । कान्छो छोरा पेटमा आएको ८ महिना मात्र भएको थियो । बुढा मामाघर जान्छु भनेर काठमाडौं गएका थिए । फर्कंदा बिरामी भएर आए । बिरामी भएपछि मैले उनलाई अस्पतालमा भर्ना गरें, सुत्केरी हुने महिना नजिकिएकोले उनलाई अस्पतालमा हेर्न जान पनि पाइन ।
उनको उपचारका लागि भएका खेत, बारी, घर घडेरी पनि सकें । तर उनलाई निको भएन । जेठको २६ मा कान्छो छोरा जन्माएर न्वारन गरेर बुढालाई घर ल्याए, तर २०३९ सालको साउने संक्रान्तिका दिन बुढो मलाई सधैं एक्लै हुने गरी छोडेर गए ।
बुढाले छोडेर गएपनि सन्तानको मुख हेरेर बाँचें । काखे छोरालाई लिएर आयआर्जन गर्न जाने कुरा पनि भएन । आफ्ना भनाउँदा माइतीले पनि मलाई माया गर्नुको सट्टा खेदो गरे । ओराली लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेजस्तो मेरो जीवनको उतार चढाव कम हुने नाम लिएन, जीवनमा सधैँ खडेरी परेपनि आँखा भने कहिल्यै ओभाउन पाएन ।
त्यो दिन मेरो जीवनको दोस्रो दुखद दिन हो, जुन दिन मैले गाउँ छोडेर शहर आएँ । एक्लो ज्यानले पाँच सन्तानलाई पाल्नलाई मेरा काँध अलि धरमरिएको जस्तो लागेपछि मैले जानीजानी मेरो मुटुका दुई टुक्रालाई आफूबाट चुडाएँ । मैले कान्छो छोरा र छोरीलाई नक्सालको बाल मन्दिर आश्रममा लगेर राखिदिए ।
जसोतसो संघर्षले जेठो छोरालाई डिग्री पास गराएँ । दुई छोरीको विवाह गरिदिएँ । उता कान्छो छोरालाई पनि फ्रान्सेलीले छोरा बनाएर लगेछन्, छोरीलाई पनि दार्जलिङको गुरुङले छोरी बनाएर लगेछन्, छोरी अहिले अष्ट्रेलियामा बस्छे । आफूले माया गर्न नसकेपनि छोराछोरी सबैको राम्रो नै भएकोले म दंग थिए । अब भने सन्तान ठूला भएपछि मैले पनि केहि सुख पाउँला कि भन्ने लागेको थियो तर सोचेको जस्तो हुने रहेनछ ।
त्यस्ता दिन काटेर आएँ । कति रोएँ, कराएँ । कुन दुःखले सन्तान हुर्काएँ तर मेरो दुःखलाई छोराछोरीले भुलेछन् । छोरा औषधि पसलको म्यानेजर छ, बुहारी बैंकमा जागिरे, नातिनातिना पनि छन् तर म सधैं एक्लै छु ।
एक महिनादेखि दिसा लागेको छ, छोराले कस्तो छ आमा भनेर एक वचन पनि सोध्दैन, बुहारी र नातिनातिना कोठाको ढोकाबाट फर्कन्छन् । कोहि एकछिन् मेरो छेउ आएर पनि बस्दैन, भात खान आउ भन्दा अर्को एक शव्द पनि बोल्दैन ।
परदेशमा भएका छोरा छोरी फर्केर आए, आमाले हामीलाई फाली भन्छन् रे । म उनीहरुलाई बुझाउन सक्दिन । उनीहरुको भाषा म बुझ्दिन, मेरो कुरा उनीहरु बुझ्दैनन् ।
कहिलेकाहिँ जीवनदेखि बैराग लागेर आउँछ । जेठो छोरो ७ वर्षको हुँदा शहर लिएर पसेकी मैले छोराछोरी हुर्काउन के मात्र गरिन होला, तर छोराछोरी भने यसै यहाँ पुगे जस्तो गर्छन् । दुई वर्ष भयो म जेष्ठ नागरिक समाजमा आएको, यहाँ आउँदा मलाई अलि सजिलो हुन्छ । विभिन्न कार्यक्रममा जाँदा टिभीमा पनि देखाउँछ । सबैले बधाई दिन्छन्, तर मेरा परिवार कहिल्यै परिवर्तन भएनन् ।
म परिवारका सबै सदस्यसँग सँगै बसेपनि सधैं एक्लो हुन्छु । के बुढो भएपछि यस्तै गरेर बस्नु पर्ने हो त ? हामी आफूले पालेका सन्तानसँग डराउनुपर्ने हो त ? आज सँगै बसेको छोराको स्नेह भरिएको आवाज सुन्न नपाउँदा लाग्छ मैले माया नै गर्न जानिनछु क्यारे, । अथवा मेरो संघर्षको फल नै यही हो । डाँडामाथिको घाम भइयो, कहिले अस्ताउने हो थाहा छैन ।
ज्यानले सकुन्जेल त कसको साहारा चाहिन्छ र ! तर बिरामी भएर नसक्ने भएपछि राम्रोसँग बोलेपनि आधा रोग निको हुन्छ । आफू पनि बाआमा भैसकेका छन् । बुढा बालाई डोकोमा फाल्न लैजाँदा नातीले डोको नफालोस्, फेरि म तपाईंलाई केमा बोकेर फाल्नु भन्ने कथाको जस्तो उनीहरुलाई पनि आइपर्न सक्छ ।
(लोकन्थलीकी बालकुमारी न्यौपानेसँगको सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z