आफ्नो हित छाडेर छिमेकीसँग मित्रता हुँदैन : प्रधानमन्त्री
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार ३०, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको मित्रताको नाममा राष्ट्रिय सुरक्षा कमजोर पार्न नसकिने धारणा राखेका छन् । ‘राष्ट्रिय सुरक्षाअन्तर्गत छिमेकीसँगको सम्बन्ध पनि पर्छ’, उनले भने,‘मित्रताको नाममा राष्ट्रियता कमजोर पार्न सकिन्न ।’
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको आयोजनामा राजधानीमा जारी राष्ट्रिय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले भने,‘हामी कसैका विरुद्ध सोच्दैनौं, कसैका विरुद्ध बोलेका पनि छैनौं । मुलुकलाई कसैको विरुद्ध प्रयोग हुन दिन्नौं ।’
मन्त्रिपरिषद्को बैशाख ३० गतेको बैठकद्वारा राष्ट्रिय सुरक्षा नीतिबारे बोल्दै प्रधानमन्त्री ओलीले सुरक्षा नीति कार्यान्वयनको लागि सबै दलको सहमति हुनुपर्ने धारणा राखे । ‘सबैको सहमति नभए कार्यान्वयन गर्न सकिन्न’, उनले भने ।
गोष्ठीमा बोलाइए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल उपस्थित भएनन् । दुई नेताको अनुपस्थितिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा नीति पार्टी र व्यक्तिको नभई सबैको साझा भएको टिप्पणी गरे ।
‘प्रतिस्पर्धा भनेको भिन्न कुरामा हुनुपर्छ’, उनले भने,‘राष्ट्रिय सुरक्षामा मतभेद हुन्न ।’
तराई आन्दोलनप्रति लक्षित गर्दै उनले संविधानले कसैलाई विभेद नगरेको दाबी गरे । ‘राजनीतिक हिसाबमा विभिन्न मागहरु आउँछन्’, उनले भने,‘कुन माग केका लागि पूरा गर्ने हो ?’
उनले संविधानमा पुर्नलेखन भन्ने प्रावधान नभएकाले संशोधन गर्न मात्र सकिने बताए ।
उनले तराई केन्द्रित दलको माग बमोजिम प्रादेशिक सीमांकन गर्न सरकार तयार भएको बताए । ‘प्रादेशिक सीमांकन गर्ने हामीले पनि भनेका छौं’, उनले भने,‘औचित्यको आधारमा हुनुपर्यो ।’
‘वार्ताको माध्यमबाट सहमति गर्न नसकिने कुनै कुरा छैन । सहमतिमा पुगन नचाहेपछि सहमतिमा पुग्न सकिन्न ।’
उनले राष्ट्रिय सुरक्षामा समान धारणा बनाउन दलहरुलाई आग्रह गरेका छन् ।
‘हाम्रो देश विविधतापूर्ण छ’, उनले भने,‘यस्तो अवस्थामा जात जातका कुरा र साम्प्रदायिकताको कुरा आइरहेको छ ।’
‘म कहिलेकाही फेसबुक हेर्छु, त्यहाँ पनि स्राम्पदायिकता देख्छु ।’
‘साम्प्रदायिकता एकातिर छ, अर्को सकीर्ण छ संकीर्ण क्षेत्रियतावाद । यसले भित्रभित्रैबाट विविधतालाई कमजोर बनाएर राष्ट्रिय एकता कमजोर गर्छ ।’
उनले राष्ट्रिय सुरक्षाको लागि आतंकवाद अर्को चुनौति भएको बताए ।
सरकारको परराष्ट्र नीति कमजोर भयो भन्ने आरोपबारे बोल्दै प्रधानमन्त्री ओलीले उत्तरी छिमेकीसँग पारवहन सम्धी गरेको बताए ।
‘म सरकारमा आउँदा सुरक्षाकर्मीसहित ४७ जना मारिएका थिए । नाकाबन्दी खुल्यो । बिशाखापटनम बन्दरगाह खुल्यो’, उनले भने,‘दुवै छिमेकीसँग पारवहन सन्धी गर्न पाउनु हाम्रो अधिकार हो, त्यसैअनुसार गरेका छौं ।’
सरकार परिवर्तनको बिषयमा बोल्दै उनले व्यक्तिगत स्वार्थको लागि सरकार परिवर्तन हुनु राम्रो नभएको टिप्पणी गरे । ‘कुनै पार्टी सरकारबाट बाहिरिने वित्तिकै भोज खाएर उफ्रिने गर्छन्’, उनले भने,‘यसले पनि चित्र स्पष्ट पार्छ ।’
कार्यक्रममा बोल्दै रक्षामन्त्री भीम रावलले माओवादी केन्द्र अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवालाई घरमै गएर भेटेर निम्ता गरेपनि अनुपस्थित भएको बताए ।
सरकार परिवर्तनको बिषयमा बोल्दै उनले संविधानअनुसार सरकार परिवर्तन हुने बताए ।
गोष्ठीमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्द, एमाले नेता माधवकुमार नेपाललगायतको उपस्थिति थियो ।

###
0 comments
Write Down Your Responses