काठमाडौं सहरमा रातारात हरियाली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : बानेश्वर-तीनकुने सडक खण्डमा शनिबार साँझ एउटा पनि रुखबिरुवा थिएनन्। विस्तारित सडकमा मजदुर धमाधम सिमेन्टका पर्खाल र डिभाइडर बनाइरहेका थिए। तर आइतबार बिहानसम्ममा यो सडक खण्ड हरियाली भइसकेको थियो। रातारात सडकको बीच भाग र दायाँबायाँ करिब दुई सय बिरुवा रोपिए।

सरकारले सार्क शिखर सम्मेलनमा आउने पाहुनालाई हरियाली सहर देखाउन राजधानीमा ६ हजार पाँच सय बिरुवा रोप्ने योजना बनाएको छ। सम्मेलन आउन एक साता बाँकी रहँदा सडकमा जथाभाबी रूखबिरुवा रोप्ने क्रम जारी छ।

वैज्ञानिक परीक्षण र प्रजातिसमेत निश्चित नगरी हतारमा बिरुवा रोपिएका छन्। नर्सरीबाट परीक्षण नै नगरी ल्याइएका छिप्पिएका नसुहाँउदा रूखसमेत रोपिएका छन्। सडकमा बिरुवाको दूरीसमेत मिलाइएको छैन। बिरुवा छनोट र रोप्ने प्रक्रिया वैज्ञानिक छैन।

वनस्पति विभागका एक अधिकारीका अनुसार यसरी हतारमा रोपिएका बिरुवा धेरै हुर्किनै सक्दैनन्। 'माटोको परीक्षण गरेर बिरुवाको प्रजाति छान्नुपर्ने हो तर जे भेटिन्छ त्यही रोपेको देखिन्छ', ती अधिकारीले भने।

विभागको सिफारिसमा उपत्यका नगर विकास प्राधिकरणले ठेकेदारलाई स्वामी, कपुर, टेम्पल धुपी, काइँयो, क ल्कीसहित १५ प्रजातिका रूखका बिरुवा रोप्ने सूची दिए पनि सडकमा तीभन्दा भिन्न बिरुवा धेरै छन्। 'बिरुवा अभाव भइसक्यो, खोजेको बिरुवा पाइँदैन। जे बिरुवा पाइन्छ त्यही उठाएर रोप्नुपर्ने अवस्था छ', प्राधिकरणका नियन्त्रक डा. भाइकाजी तिवारीले भने।

रोपिएका रूखबिरुवा एक वर्षदेखि आठ वर्षसम्मका छन्। 'माटो र सिमेन्ट सेट नभई रोपिएका बिरुवा धेरै हुर्किंदैनन्', वनस्पति विभागका एक अधिकारीले भने, 'ठूला मसलाजस्ता रूख जोडेर रोपिएको छ।' यी सबै रूख दुईदुई मिटरको फरकमा रोपिएको छ।

एउटै उचाइका बिरुवा रोप्दा राम्रो देखिने भए पनि पाँचदेखि नौ फिटसम्म अग्ला बिरुवा रोपिएका छन्। संविधानसभा भवनअगाडि रुद्राक्षको रूख लगाउने तयारी भइरहेको छ। उपत्यका नगर विकास समितिले नारायणहिटी संग्रहालयदेखि नारायणगोपालचोक, हात्तीसार, गौशालादेखि कमलपोखरीसम्म, अनामनगरको बाँसघारीदेखि भैरवनाथ गणसम्म (थीरबम सडक), सिनामंगल चोकदेखि माइतीघर चोकसम्म ६५ सय बिरुवा रोप्न जिम्मा दिएको हो।

वृक्षारोपणको ठेक्का पाएका कमलजित निर्माण सेवाका प्रोपाइटर भीम श्रेष्ठका अनुसार अहिलेसम्म तीन हजार पाँच सय बिरुवामात्रै रोपिएका छन्। तीनकुने-माइतीघर खण्डमै तीन हजार चार सय बिरुवा रोप्ने योजना छ। सडक विभागले बगैंचा बनाउने काम अझै सकेको छैन।

माइतीघर-बानेश्वर खण्डमा राम्रा डिभाइडर बने पनि बानेश्वर-तीनकुने खण्डमा डिभाइडर साना र पातला बन्दै गएका छन्। 'काम राम्रो छैन। नगर भन्यो भने पाहुना आउने बेला भइसक्यो। धर्मसंकटमा परिएको छ', नगर विकास प्राधिकरणका एक अधिकारीले भने। तिवारीले समयमा काम नसकिने सम्भावना बढेको भन्दै आफूहरूले ताकेता गरिरहेको बताए।

पाहुनालाई राम्रो देखाउन सडकको बीच भागमा रूखबिरुवासँगै दुबो रोप्ने क्रम पनि रातदिन चलिरहेको छ। राजधानीका विभिन्न बगैंचा र सडकमा गरी ६० हजार वर्गफिट दुबो रोप्ने योजना छ।

काममा संलग्न ठेकेदारका अनुसार अहिलेसम्म ३५ हजार वर्गफिट दुबो रोपिएको छ। ठेकेदार श्रेष्ठले राजधानीका नर्सरीमा भएको सबै दुबो सकिँदा समस्या भएको बताए। दुबो अभाव भएपछि नर्सरीले समेत मूल्य बढाएका छन्।

भक्तपुरस्थित एक नर्सरीका प्रमुखले प्रतिवर्गफिट दुबोको ४० रुपैयाँ मूल्य तोकेको बताए। उनले छेउछाउका नर्सरीबाट समेत संकलन गरेर ठेकेदारलाई दुबो उपलब्ध गराएका छन्।

राजधानीको सुन्दरता बढाउने जिम्मा पाएका ठेकेदारहरूले काम लगाएर सरकारले रकम निकासा नदिएको गुनासो गरेका छन्। कमलजित निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले आफूले काम गरेको पैसा निकासा नहुँदा काम रोक्ने अवस्था आएको बताए।

समितिका प्रमुख तिवारीले भने सरकारी प्रक्रियाले केही ढिलो भए पनि रकम निकासा प्रक्रियामा गइसकेको जानकारी दिए। उनले भने, 'केही दिनभित्रै निकासा हुन्छ।'

राजधानीको सुन्दरता बढाउन कमलजित निर्माण सेवा, गजुरमुखी काष्ठमण्डप, उमा एन्ड कम्पनीलगायतकाले ठेक्का पाएका छन्। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z