धराप घर भत्काउने कि बनाउने?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : विनासकारी भूकम्प गएको एक सातापछि नक्सालस्थित आनन्दभैरव टोलसुधार समितिले प्रमोद जलानको ६ तले घर काम नलाग्ने गरी भत्किएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १ मा निवेदन दियो।

निवेदनमा चारवटा पिलर र भुइँतलामा क्षति भएको तस्बिरसमेत पेस भएपछि वडाका प्रशासकीय अधिकृत राम सापकोटा प्राविधिक लिएर त्यहाँ पुग्दा जलानको घर मर्मत भइरहेको थियो।

'घर लडेको होइन, लडाउने क्षमता मसँग छैन। ६ तले घर भत्काउन ५० लाखजति लाग्छ', प्रशासकीय अधिकृत सापकोटाले मंगलबार अन्नपूर्णसँग भने, 'वडालाई भत्का वा बना भनेर भन्ने कानुनी आधार छैन।

वडाबासी पीडित छन्। दुई करोड रुपैयाँभन्दा बढीको घरलाई २५ लाखजति खर्चिएर जलान मर्मत गरिरहेका छन्।' जलानले ६ वर्षअघि घर निर्माणका लागि नक्सा पास गराएका थिए। तर उनले नक्सा स्वीकृत भएभन्दा बढी तला बनाएको सापकोटाको ठहर छ।

 आफूसँग अधिकार नभएपछि उनले जलानको घरको वास्तविकता र टोलबासीको समस्यालाई दर्साएर महानगरपालिकाको जोखिम अनुगमन समितिसमक्ष पत्राचार गरे। समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठायो।

सापकोटाले भने, 'अब कार्यान्वयनका लागि पुन: वडामै पत्र आउला तर कानुनको अभावमा अन्योलमा छौं। सरकारलाई अप्ठेरो पर्दाजस्तै अध्यादेश जारी नगरे यस्ता समस्या तत्काल स्थानीय निकायले समाधान गर्न असम्भव छ।'

नक्सालस्थित प्रहरी प्रधान कार्यालय छेउको चोकमा तल महिन्द्राको सो रुम र माथि युनियन फाइनान्स रहेको साततले आलिसान घर छ। भूकम्पले अगाडि र पछाडि गरी दर्जनजति ठाउँमा क्र्याक भएको छ।

पराकम्पनले भत्किन सक्छ भनेर ट्राफिक प्रहरीले दुई दिन उक्त क्षेत्रमा सवारीसाधन र सर्वसाधारणलाई आवतजावत गर्न निषेध नै गर्‍यो।

ड्युटीमा खटिएका एक प्रहरीले भने, 'ड्युटी हो, जे भए पनि बस्नै पर्‍यो। त्यो घर जुनसुकै बेला पनि भत्किन सक्छ। जतिखेर पनि आँखा त्यही घरमै हुन्छन्।'

चोकबाट उत्तरतर्फ गोवागणेश मन्दिर छ। सडकपारि निर्माणाधीन १३ तले घर पनि क्र्याक भएको छ। पुजारी कान्छीमैया महर्जन भन्छिन्, 'एकतले मन्दिर सुरक्षित छ भनेर के गर्नु? अग्लाअग्ला घर छेवैमा छन्।'

नक्सालकै नीलगिरि मार्गका राजेन्द्रसिंह राठौरको घरको छतमा रहेको इन्टरनेटको टावर हटाइपाऊँ भनी माछापुच्छ्रे मार्गसमेतका २४ छिमेकीले वडा कार्यालयमा निवेदन दिएका छन्।

भगवती मार्गमा रहेको उक्त टावर कुनै पनि बेला ढल्न सक्ने भन्दै सावित्री र रामहरि सुवेदीविरुद्ध पनि छिमेकीले वडामै उजुरी गरेका छन्।

नारायणचौर मार्गस्थित सितु प्लाजाविरुद्ध मार्गकै वैष्णव गल्लीका ४९ जनाले पनि प्रचलित कानुन र मापदण्डविपरीत बनेको भन्दै जोखिम कम गराउन वडा कार्यालयलाई गुहारेका छन्।

ठमेलबाट गोंगबु निस्कने सडकमा पर्ने आत्मज्ञान प्रचार संघ छेउमा पाँचतले पहेलो रङको घरले आसपासका बासिन्दालाई उत्तिकै तर्साइरहेको छ।

'वडा कार्यालयले महानगरपालिका देखाउँछ, महानगरपालिका गयो वडामै जा भन्छ', सामाखुसीस्थित बुद्धटोलकी रेणु थपलियाले गुनासो गरिन्, 'घर हेर्दै डर लाग्न थालेको छ। एकदुई आनामा पाँच तलाको घर बनाउन सरकारले कसरी स्वीकृति दिएको होला?'

सरकारले काठमाडौंमा घर भत्काउन एक्साभेटर, डोजर र क्रेन लगाएर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटाएको छ। काठमाडौंमा ३६ हजार घर पूर्ण र ५० हजारजति घर आंशिक क्षति भएका छन् भने एक हजार पाँच सयजति घर ढल्किएका छन्।

महानगरपालिकाको भौतिक विकास तथा निर्माण विभागका प्रमुख डा. उत्तरकुमार रेग्मीले घर भत्काइदिनु भन्दै आउनेको संख्या पनि एक हजार नाघेको बताए। उनले भने, 'धराप भएका घर भत्काउने क्रममा छन्। यसको पनि प्रक्रिया भएकाले समय लाग्छ।'
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z