हवाई भाडा घट्यो (सूची सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं-निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अधिकतम साढे १८ प्रतिशतसम्म घटाउने निर्णय गरेका छन्। घटेको भाडा दर बुधबार (माघ ६) बाट लागु हुने छ।



नेपाल आयल निगमले सोमबार मध्यरातबाट 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर ६९ रुपैयाँका दरले घटाएर प्रतिलिटर १ सय ६४ रुपैयाँमा झारेपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले मंगलबार हवाई भाडा घटाउने निर्णय गरेको हो। सोमबारसम्म हवाई इन्धनको भाउ प्रतिलिटर २ सय ३३ रुपैयाँ थियो।

इन्धनको भाउ २९.६ प्रतिशतले घटेपछि वायुसेवा कम्पनीहरूले न्यूनतम १६.९ प्रतिशतदेखि अधिकतम १८.६ प्रतिशतसम्म हवाई भाडा घटाउने निर्णय गरेका हुन्। हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले 'फ्युल सरचार्ज' शीर्षकमा थपघट गर्ने गर्छन्। यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको/बढेको रूपमै लिन्छन् ।

'हवाई इन्धनको भाउ घटेपछि फ्युल सरचार्ज घटाउने निर्णय गरेका छौं,' संघको सदस्य सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले मंगलबार नागरिकसँग भने, 'भाडा घटेपछि यात्रु संख्या बढ्ने आशा छ । हाम्रो निर्णयबाट यात्रुलाई केही सहज हुने विश्वास पनि गरेका छौं।'

संघले काठमाडौंबाट मुलुकका विभिन्न गन्तव्य जाने भाडा दर घटाएको हो। तर, उताबाट काठमाडौं फर्कंदा भने भाडा बढाइएको छ। यसअघि गत कात्तिक २३ मा एकैचोटि अधिकतम ७१ प्रतिशतसम्म हवाई भाडा बढाएको थियो । मुलुकको उड्डयन इतिहासमै पहिलो पटक यति भारी परिमाणमा भाडा वृद्धि भएको थियो।

आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १ सय १५ रुपैयाँका दरले बढाएर प्रतिलिटर २ सय ३३ रुपैयाँ पुर्याएपछि त्यसबेला संघले पनि हवाई भाडा बढाएको थियो। निगमले त्यसबेला इन्धन भाउमा ९७.४ प्रतिशतले भारी वृद्धि गरेको थियो। यहाँ इन्धन भाउ बढेका कारण काठमाडौंबाट जाँदा भाडा बढेको थियो भने काठमाडौं बाहिर इन्धन मूल्य यथावत रहेकाले भाडा बढेको थिएन।

तर अहिले भने निगमले काठमाडौं बाहिरका विमानस्थलमा हवाई इन्धनको भाउ प्रतिलिटर ४६ रुपैयाँ वृद्धि गरी प्रतिलिटर १ सय ६४ रुपैयाँ पुर्याएको छ। यो भनेको ३८.९ प्रतिशतको वृद्धि हो। 'त्यही भएर उताबाट काठमाडौं आउँदा अब बढी भाडा तिर्नुपर्छ,' थापाले भने।

संघका अनुसार न्यूनतम ७ सय ७५ देखि अधिकतम २ हजार ६ सय ७० रुपैयाँसम्म सरचार्ज घटाउने निर्णय भएको छ। अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३ हजार ३ सय ८५ रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १३ हजार १ सय २५ रुपैयाँ तिरे पुग्छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। मंगलबारसम्म सिमरा जान ४ हजार १ सय ६० र धनगढी जान १५ हजार ७ सय ९५ रुपैयाँ पथ्र्यो। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन ।
यस्तो छ नयाँ भाडादर:


त्यसैगरी अब माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ हजार ५ सय ८५ रुपैयाँ, पोखरा १ हजार १ सय ६३, भैरहवा १ हजार ४ सय २३, विराटनगर १ हजार ५ सय ९३, नेपालगन्ज २ हजार २३, भद्रपुर १ हजार ८ सय ९५, तुम्लिङटार १ हजार ४ सय २३, जनकपुर १ हजार ३५ र भरतपुरलाई ९ सय ३ रुपैयाँ कम तिरे पुग्छ ।

त्यसैगरी बुधबारदेखि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ११ हजार ४ सय ८५ रुपैयाँ, पोखरा जान ५ हजार ३ सय २७, भैरहवा ६ हजार ६ सय ३७, विराटनगर ७ हजार ५ सय ६०, नेपालगन्ज ९ हजार ८ सय ६५, भद्रपुर ९ हजार १ सय ७५, तुम्लिङटार ६ हजार ३ सय २५, जनकपुर ४ हजार ५ सय ७० र भरतपुर जान ३ हजार ९ सय ४७ रुपैयाँमात्र लाग्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z