वृद्धाश्रमका बुढाबुढीको गुनासो – मरेपनि परिवारलाई खबर नदिनू !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
छोराबुहारीको दुव्र्यवहार सहन नसकेपछि भक्तपुरकी ७९ वर्षीया सूर्यकुमारी श्रेष्ठ नौ वर्षदेखि निःसहाय सेवा सदन शान्तिनगर काठमाडौंमा बस्दै आएकी छन् । गर्भेटुहुरो छोरा जन्मदा घरमा एक गेडा अन्न नभए पनि श्रेष्ठले ज्यामी काम गरेर हुर्काइ–बढाइ गरेको त्यही छोराले आमाको गुन तिर्न त कता हो कता उल्टो आश्रममा बस्न बाध्य बनाए । ‘पुरानो एकतले घर थियो । त्यहीं पसल राख्ने भन्दै छोराले कचकच गरिरहे,’ उनले दुःखेसो पोखिन्, ‘चार नातिनीसहित छोराबुहारी बस्नसमेत समस्या थियो । त्यही समय घरछेउमा लडेर हात खुस्कियो ।
मलाई अस्पताल पुर्याए । अस्पतालबाट डिस्चार्ज गरेर छोराले सिधै वृद्धाश्रममा छाडेर गए ।’ बिहेमा हजुरआमालाई घर ल्याउनू भनेपछि सूर्यकुमारी नौ वर्षपछि गत माघ अन्तिम साता घर पुगेकी थिइन् । ‘नातिनीहरूले घरै बसम् भनेर असाध्यै गरे पनि छोराबुहारीले केही भनेनन्,’ गहभरि आसँु पार्दै उनले तीतो पोखिन्, ‘वृद्धाश्रम फर्कनुको विकल्प थिएन । छोराबुहारीको दुव्र्यवहारले जिउँदै मरेकी छु । यसरी बाँच्नुको के अर्थ । केवल काल पर्खंदै छु ।’
निःसहाय सेवा सदन शान्तिनगरमा आश्रित सुभद्रा दाहालको पीडा भने फरक छ । खहरे रातमाटे सिन्धुलीनिवासी ८२ वर्षीया दाहालको पाँच वर्षको उमेरमा गाउँनजिकै बिहे भएको थियो । बिहेको १५ वर्षसम्म श्रीमान्सँगै हाँसिखुसी बित्यो । संवत् २००८ मा साथीहरूसँग धन कमाउन भारत गएका श्रीमान्को अहिलेसम्म अत्तोपत्तो छैन । आफ्नो मान्छे नै नभएपछि घरपरिवारको टोकेसो सहन नसकेर ०२२ मा नेपाल (काठमाडौं) हेर्न आएकी दाहाल त्यहाँदेखि यतै छिन् । यता रहँदा–बस्दा काठमाडौंको डिल्लीबजारमा बाह्मणको घरमा भान्छेको काम गरिन् । ‘एउटै घरमा ५० वर्षसम्म भान्छेको भूमिका निर्वाह गरें,’ उनले सुनाइन्, ‘काम गर्न सकुन्जेल गरें । नसकेपछि घरभेटीले यहाँ ल्याएर छाडिदिए ।’ बुढेसकालमा पीडामाथि पीडा सहनुको विकल्प छैन । ८२ वर्षीया दाहालको नागरिकतासमेत छैन । नागरिकता नभएपछि वृद्धाभत्ता पाउने कुरै भएन । भनिन्, ‘नागरिकता बनाउन केही समयअघि सिन्धुली पुगे पनि आफन्त कोही नभएको भन्दै गाविससचिवले सिफारिस दिन मानेनन् ।’ नागरिकता नहुँदा वृद्धभत्ताबाट वञ्चित उनले वृद्धभत्ता नपाए पनि मर्ने बेला साथमा नागरिकता भए बैकुण्ठमा बास पाइन्थ्यो कि ।’
५१ वर्षअघि श्रीमान् बितेका खानीखोला धार्के, धादिङकी ८१ वर्षीया दिलकुमारी रेग्मीको पीडा खनिखोस्री साध्य छैन । ‘श्रीमान् बिते पनि तीन छोरी र एक छोराकी धनी रेग्मीले ज्यामी काम गरेरै छोराछोरी हुर्काइन् । बिहेदान गरिदिइन् । पुरानो घर भत्काएर नयाँ बनाइन् । तर, बुढेसकालमा त्यही छोराबुहारीबाट हेलाँहोचो भएपछि उनी काठमाडौं पसिन् । सानोतिनो कुरामा बुहारीबाट पिटिएकी उनी छोरी र नातिको सल्लाहअनुसार आश्रममा बस्न थालेकी हुन् । आश्रममा छाड्दै नातिले हिँड्ने बेला ‘केही समय बस्दै गर्नु बुवा र आमालाई सम्झाएर लिन आउँछु भनेको हिजैजस्तो लाग्छ रे । ‘सात वर्ष बिते पनि कुनै खुटखबर आएन,’ उनले पीडा व्यक्त गरिन्, ‘छोराछोरी सम्झनसमेत मन लाग्दैन । प्राण जाँदासमेत कसैलाई खबर नदिनू है भनेको छु ।’
बालाजुका ७४ वर्षीय सुब्बामाधव श्रेष्ठ वृद्धाश्रमका सबैभन्दा धेरै पढेका व्यक्ति हुन् । भूमि सुधार आयोग र मालपोतमा समेत काम गरेका उनी अवकाशपछि घरपरिवारसँग प्रगाढ सम्बन्ध रहे पनि पछिल्लो समय श्रीमती र छोराले मन पराउन छाडेपछि घरमा एक्लै बस्थे । बुढेसकालमा एक्लै बस्न सजिलो छैन । उनले भने, ‘गतवर्ष घरमै लडेर थला परें । थला परे पनि श्रीमती र छोरा घर आउन त के फोनसमेत गरेनन् । आफ्नो हेरचाह गर्ने कोही नभएपछि वृद्धाश्रममा बस्न थालेको हुँ ।’ श्रेष्ठको बालाजुमा घर छ । पेन्सन आउँछ । तर, परिवार साथमा नहुँदा वृद्धाश्रममा आश्रय लिनुपरेको छ । उनले छोरालाई इन्जिनियर पढाए । पढाइ पूरा नहुन्जेल आमाछोेरासँगै बसे । छोराको पढाइ पूरा भएपछि घर छोडर हिँडे । उनको एउटै चाहना छ, ‘मैले आश्रममा आश्रय लिए पनि छोरा घर फर्के हुन्थ्यो ।’
निःसहाय सेवा सदनमा ४२ वृद्धवृद्धाले आश्रय लिएका छन् । सबैका पीडा चर्कै छ । पीडाका कारणचाहिँ एउटै प्रकृतिको नहुन सक्छ । सम्बन्धित आमाले नौ महिना गर्भमा राखेर छोराछोरीलाई जन्म दिन्छन् । हुर्काउँछन्, बढाउँछन् र पढाउँछन् पनि । भनाइ छ, ‘आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीका मन ढुंगामाथि । निःसहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई उनीहरूका छोराछोरी उखानले भनेझैं व्यवहार गरे पनि वृद्धाश्रम स्थापना गरेर ज्येष्ठ नागरिकको पालनपोषणमा लाग्ने सगुन शाहहरू पनि यही समाजमा छन् । जसको सत्कर्मले वृद्धवृद्धालाई गुन लगाएको छ ।
निःसहाय सेवा सदन अध्यक्ष सगुन शाहले नेपाली दाताकै सहयोगमा वृद्धाश्रम सञ्चालनमा ल्याएकी हुन् । अध्यक्ष शाहको सत्कर्मले आश्रममा आश्रित ४२ वृद्धवृद्धाले बुढेसकालमा सहारा पाएका छन् । घरपरिवारको दुव्र्यवहारमात्रै नभएर आफन्त भएर पनि नभएसरह भएपछि सम्बन्धित वृद्धवृद्धा आश्रमसम्म आउने निःसहाय सेवा सदन प्रशासन अधिकृत प्रेमप्रसाद उप्रेतीको ठम्याइ छ । निःसहायको सहायता गर्न निःसहाय सेवा सदनमा चिकित्सक, नर्ससहित १२ भन्दा कर्मचारी कार्यरत छन् । जुन सहयोगले वृद्धवृद्धाको बसाइ सहज बनाइदिएको छ ।
###
0 comments
Write Down Your Responses