बजार माग धान्‍न सकेन भोजपुरे खुकुरीले
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :भोजपुरका पसलमा बिक्रीका लागि राखिएका खुकुरी।तस्बिर: अन्‍नपूर्ण
भोजपुरः जिल्लाकै नाम र शान बोकेको भोजपुरे खुकुरीको माग फेरि बढेको छ । पछिल्लो समय यसको माग बढे पनि व्यवसायी पलायन हुँदै गएका कारण बजार मागअनुसार उत्पादन हुन सकेको छैन।

सशस्त्र द्वन्द्वको समयमा खुकुरी किनबेचमा अघोषित प्रतिबन्ध लगाइएकाले उत्पादन बन्द भएका सदरमुकामका केही उद्योग पुनः सञ्चालन हुन थालेका छन्। विभिन्न स्थानबाट भोजपुर घुम्न आउने जोसुकैले पनि चिनोका लागि एउटा खुकुरी लिएर जाने चलन छ।


जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको विदाइ, स्वागत, पुरस्कार र उपहारमा पनि यसको प्रयोग उत्तिकै छ।

कोठामा सजावटका लागि मात्र होइन घाँस दाउरालगायतका घरेलु काममा प्रयोग गर्न र खसी, राँगा मार हान्न पनि भोजपुरे खुकुरी लोकप्रिय छ।

वर्षौदेखि खुकुरी बिक्री गर्दै आएका व्यापारी हिरा श्रेष्ठ केही समय बन्द भएको खुकुरीको व्यापार अहिले फेरि बढेकोमा खुशी छन्।

उनलाई खुकुरी बेचेर दाम मात्र होइन भोजपुरको नाम राख्न पनि त्यत्तिकै सहयोग मिलेकोमा गौरब लागेको छ।

 'बीचमा खुकुरी बिक्री नै हुन छाडेको थियो, अहिले दैनिक ५-७ वटा खुकुरी सजिलै जान्छ', व्यवसायी श्रेष्ठ भन्छन्।

तर उनले दक्ष कालीगढको अभावमा मागअनुसारको खुकुरी बिक्री गर्न सकेका छैनन्।

लेखर्कका सन्तोष सुनार र त्रिलोचन लोहारले पनि सदरमुकाममा केही समयदेखि आरन थापेरै १० लाखभन्दा बढी लगानीमा खुकुरीको व्यवसाय थालेका छन्।

माग बढ्दो भएसँगै नाफा पनि २० प्रतिशतसम्म रहेको व्यवसायी सुनार बताउँछन्। तर, उनले ग्राहकको माग धान्न नसकिरहेको बताए। गाउँतिर दोस्रो पुस्ताले बाउबाजेले गरिल्याएको व्यवसायलाई निरन्तरता नदिँदा खुकुरीको उत्पादन घटेको छ।

बजारमा भने जम्मा दुईवटा खुकुरी उद्योग छन्। तर, सीमित उद्योगका कारण र कालिगढ पनि अवसरको खोजीमा बाहिर जाने भएकाले खुकुरीको अभाव छ।

प्रतिगोटा दुई सय ५० देखि आकार र डिजाइनअनुसार ६ हजारसम्म पर्ने भोजपुरे खुकुरीका प्रकारमध्ये सिरुपाते, बुदुना र पानावालको माग बढी छ।

यहाँको खुकुरी काठमाडौं, विराटनगर, पोखरालगायतका सहर र भारत, अमेरिका, क्यानडा र हङकङसम्म पुग्ने गरेको व्यापारी बताउँछन्।

भोजपुर बजारस्थित बुद्ध धातु उद्योगका प्रोप्राइटर बद्री श्रेष्ठ खुकुरीको माग बढेपनि उत्पादन खस्केको स्वीकार गर्छन।

धारजस्तै चम्केको भोजपुरे खुकुरी व्यवसायलाई दीगो र आधुनिक बनाउन सरकारले सहयोग गर्नुपर्ने व्यसायीको माग छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z