ओली सरकारका १० काम: जसले जित्यो जनताको मन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

भारतसँग झुकेनन् , चीनको मन जिते

निरञ्जन सापकोटा
काठमाडौं, २८ असार – नौ महिनाअघि असोज २४ गते प्रधानमन्त्रीका रूपमा चुनिँदा केपी ओलीको चर्चा बेग्लै थियो । प्रधानमन्त्री भइसकेपछि उनले गरेका सकारात्मक कामहरूले उनको छवि एउटा उचाइमा पु—याइदिएको छ ।
उखानको भरका चर्चामा रहेका ओली सत्तारोहण पश्चात् केही गरौैं भन्ने उद्देश्यका साथ देखा परे मैदानमा । संविधानसभाबाट संविधान घोषणा भएपछि रुष्ट रहेको भारतले विभिन्न बहानामा लगाएको नाकाबन्दीलाई ओली सरकारले गरेको सफल प्रतिकारबाट उनको वाहवाही शुरु भयो । जनताले भारतीय नाकाबन्दीको तमाम दुःख कष्ट सहे । तर प्रधानमन्त्री भारतसामु झुकेको देखिएन ।
प्रधानमन्त्री भएपश्चात् गरिएका छिमेकी मुलुकहरूको भ्रमण र त्यसबेला गरिएका ऐतिहासिक सम्झौताहरू पनि उनको चर्चा हुनुका प्रमुख कारण बने । कुनैबेला भारतपरस्त भनेर ट्याग लगाइएका प्रम ओलीका भारतविरोधी कदमहरूले उनको गुमेको शाखलाई बचाइदियो । चीनसँगका सम्झौताले नेपालको व्यापार र पारवहन लगायतका सवालमा देशलाई भारतमुखी हुनबाट जोगाएको परिदृश्यमा उनको चर्चा हुनु स्वभाविक थियो ।kp_oli
यीबाहेक हेर्दा साना र प्रचारमुखी लाग्ने तर महत्वका हिसाबले उल्लेख्य रहेका केही कामहरूले पनि उनलाई स्थापित गरिदिएको छ । भारतप्रतिको दृष्टिकोणका आधारमा देशमा राष्ट्रघाती र राष्ट्रवादीको स्पष्ट विभाजन ल्याइदिए ओलीले ।
यसअघिका सरकार प्रमुखहरूले आफ्नो सत्ता टिकाउनका लागि भारतसँग जस्तोसुकै सम्झौता गर्न पनि पछि नपरेको आरोप लागिरहेको परिदृश्यमा उनले आफ्नो भारत भ्रमणका बेला उसले राखेका मागहरूलाई अस्वीकार गरिदिए । यसले पनि उनको लोकप्रियता बढ्दै गयो ।
यसैको फलस्वरूप तराईका केही दल, काँग्रेस, उनको आफ्नै पार्टीका केही नेताहरू उनको विरुद्धमा उत्रिए । तर पनि उनलाई जनस्तरबाट निरन्तर सहयोग भई नै रह्यो । द्रुतमार्गको निर्माण नेपालीले नै गर्न सक्छन् भनेर ओलीले लिएको अडानलाई पनि नेपालीहरूले स्वागत नै गरे । लोकान्तरले ओली सरकारको नौ महिने कार्यकालमा भएको केही उत्कृष्ट कामको चर्चा गरेको छ ।
काम नं १. नाकाबन्दीमा दह्रो अडान
नेपालमा संविधान घोषणा हुनासाथ हताश देखिएको भारतले नेपालविरुद्ध अघोषित रूपमा नाकाबन्दीको अस्त्र प्रयोग ग—यो । तराईका केही दलहरूले उछालेको आन्दोलनलाई दोषी देखाउँदै गरिएको नाकाबन्दीले नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखियो ।
औषधी लगायत पेट्रोलियम पदार्थको अनुपलब्धताका कारण देशमा एक किसिमको हाहाकारकै अवस्था आयो । यो बेलामा प्रधानमन्त्री केपी ओलीले अरू त केही गरेनन् तर अनावश्यक रूपमा भारतलाई रिझाएर उसलाई खुशी पार्न चाहेनन् जसको कारण भारत आफैं लज्जित भएर नाकाबन्दी खुकुलो गर्न बाध्य भयो ।
नेपालभित्र भारतले गरेको अवरोधलाई नाकाबन्दी भन्ने कि नभन्ने सवालमा विवाद भइरहेका बेला उनले भारतले गरेको अवरोध नाकाबन्दी नै भएको सार्वजनिक गरिदिए । जनताहरूले सास्ती खपेरै भएपनि उनले लिएको राष्ट्रिय अडानलाई समर्थन गरे र ओलीले वाहवाही बटुले जनस्तरबाट । उनले नाकाबन्दीकै बेलामा भारतलाई भनेका थिए, भूकम्पले थिलथिलो भएको छिमेकीलाई गर्ने व्यवहार यस्तै हुन्छ ?
काम नं २. चोखो भारत भ्रमण
प्रधानमन्त्री भएपछि भारतको भ्रमण गर्ने पुरानै परम्परा हो तर उनले विगतका सरकार प्रमुखहरूले जस्तो भारतको हित हुने नेपालको अहित हुने किसिमका केही पनि सन्धि सम्झौताहरू गरेनन् ।  जसको फलस्वरूप भ्रमणको अन्त्यमा दुवै देशका प्रमुखहरूले जारी गर्ने वक्तव्य समेत निस्कन सकेन । नेपालको अहित हुने खालका सम्झौताहरू नगरेका कारण नेपालीहरूले उनको प्रशंसा गरे । भारतविरुद्ध कडा रूपमा प्रस्तुत भएकाले ओलीलाई राष्ट्रवादी नेपालीहरूको समर्थन बढ्दै गयो ।
काम नं ३. चीनसँगको पारवहन सन्धि
भारतले लगाएको नाकाबन्दीको पीडाबाट आहत नेपाली जनतालाई चीनसँगको सहकार्यले ओलीलाई लोकप्रिय बनाइरहेको थियो । यसैको सेरोफेरोमा भएको चीन भ्रमणमा उनले पारवहन सम्बन्धी सन्धि गरे जसले नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि भारतको एकलौटी निर्भरतालाई भंग गरिदियो ।
नेपालका पूर्व प्रधानमन्त्रीहरूले विगतमा गर्न खोजेर पनि नसकेको यो सन्धिले नेपालको उत्पादन विदेशसम्म जाने नयाँ बाटो समेत खोलिदियो । समुद्रसम्मको पहुँचलाई नयाँ बाटो पनि दियो यो सम्झौताले । ओलीले गरेको स्वतन्त्र व्यापार सम्झौताले चीनसँगको सडक सञ्जाल, विद्युत्, रेल जस्ता जनताका प्रत्यक्ष सरोकारका सवाललाई सम्बोधन ग—यो र त नेपाली जनताले उनलाई सहयोग गरिरहे ।
काम नं ४. विशाखापट्नमको शुरुवात
नेपालले प्रयोग गर्दैै आएको कोलकातास्थित हल्दिया बन्दरगाहबाट साना जहाजमा मात्र सामान ओसारपसार भइरहेको सन्दर्भमा ओली सरकारले विसाखापट्नम बन्दरगाहको प्रयोगको लागि सहमति ग—यो जसका कारण नेपालले अन्तर्राष्ट्रिय बजारबाट ल्याउने सामानको ढुवानी मूल्यमा कमी आयो ।
दूरीका हिसाबले यो बन्दरगाह टाढा रहेपनि सुविधाका हिसाबले विशाखापट्नम सुविधाजनक रहेको छ । ओलीको भारत भ्रमणका बेला बंगलादेश र नेपालबीच ट्रान्जिट रुट सहज बनाउने उद्देश्यले सो सम्झौता भएको थियो ।
काम नं ५. वृद्धभत्ता वृद्धि
ओली नेतृत्वको सरकारले विगतको मनमोहन सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताबापत वृद्धभत्तालाई दुई हजार पु—याइदिए । अघिल्लो सरकारले दिएको एक हजारबाट शतप्रतिशत बढाएर उनको सरकारले दिएको वृद्धभत्ताले करिब २७ प्रतिशत जनसंख्या रहेको वृद्धहरूले उनको जयजयकार गरेको समाचार त लोकान्तरमै प्रकाशन भएको थियो ।
काम नं ६. अफगानिस्तानमा मारिएका र घाइतेको उद्धारमा चासो
विगतमा नेपालीहरू जहाँ जे भए पनि सरकारले तत्काल रेसपोन्स गर्ने र उपयुक्त कदम चाल्ने परम्परा थिएन । यसलाई तोड्दै ओली सरकारले रातारात निर्णय गरेर घटना भएको पर्सिपल्ट नै काबुलमा मारिएका १२ जना र फर्कन चाहने २४ जनालाई नेपाल वायुसेवाको विमानबाट उद्धार ग-यो ।  यसले ओली सरकारले आफ्ना नागरिकप्रति दायित्व बोध गरेको सन्देश प्रवाह भयो । त्यसैगरी मलेसियाको जेल सजाय भोगेर शिविरमा बसेका नेपालीहरूलाई पनि उद्धार गरेर उदाहरणीय काम ग-यो ।
मलेसियामा अवैधानिक रूपमा काम गरेको आरोपमा जेल सजाय भोगिसकेका तर घर फर्कन पैसा नभएर घरफिर्ती शिविरमा बसेका नेपालीहरूलाई ओली सरकारले दूतावास तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा नेपाल फर्काउन गरेको पहल पनि उनलाई लोकप्रिय बनाउने कामहरूमध्ये पर्छ ।
काम नं ७. वैदेशिक सम्बन्धको नयाँ परिभाषा
नेपालका हरेक प्रधानमन्त्रीले भारतलाई रिझाउने नाउँमा चीनलाई चिढ्याउने तथा चीनलाई रिझाउने नाममा भारतलाई चिढ्याउने काम गर्दै आएका थिए । केपी ओलीले यसको सट्टा दुवै देशसँगको सम्बन्धलाई समान रूपले अघि बढाउने काम गरे । यसको उदाहरण चीनसँगको पारवहन सन्धि र भारतको नयाँ बन्दरगाह प्रयोगको लागि गरिएको सम्झौता हो । यसले भारतलाई पाखा नलगाई उनले चीनसँगको सम्बन्धलाई विस्तार गरेका छन् ।
यसैको फलस्वरूप पछिल्लो समयमा चीन त नेपालसँग खुशी छ नै भारत पनि नेपाललाई रिझाउने कसरतमा लागेको देखिन्छ । एउटासँग नाता जोड्दा अर्कोको चित्त दुखाउने जुन विदेशनीति थियो विगतमा ओलीले त्यसलाई तोडिदिएका छन् ।
काम नं ८. सपनाको प्रक्षेपण
ओली सरकारले देश विकासका सन्दर्भमा केही सपना व्यक्त गरे । प्रक्षेपण गरेका केही सपनाहरूले आलोचना निम्त्याए । उनले गरेका केही पटाक्षेपहरूका बारेमा विरोधीहरूको टीकाटिप्पणी भएपनि उनले आफूले देखेका सपनाहरूमा दम रहेको भनिरहन छोडेनन् ।
उनले ती सपनाहरू नेपालको बृहत्तर हितमा रहेको प्रचार गरिरहेका छन् जसलाई सकारात्मक सोच राख्ने नेपालीहरूको व्यापक साथ र समर्थन रहेको छ ।
काम नं ९. नयाँ शिक्षा नीति
लामो समयसम्म अड्केको नयाँ शिक्षा नीतिको आठौं संशोधनले पनि उनको चर्चा माथि गयो । अस्थायी रूपमा जागिर खाइरहेका करिब १७ हजार शिक्षकको हितमा रहेको नयाँ शिक्षानीतिको संशोधनले शिक्षा क्षेत्रमा पनि परिवर्तन ल्याउने संकेत गरेको छ । अस्थायी शिक्षकहरूलाई आकर्षक सुविधासहित बिदा गरिने संशोधित नीतिमा उल्लेख गरिएको छ । फलामे ढोका मानिने एसएलसी परीक्षा प्रणालीमा सुधार गरी ओली नेतृत्वको सरकारले अब एसएलसी दिन नपर्ने र दश जोड दुईलाई नै माध्यमिक शिक्षा मानिने नियम बसाएको छ ।
काम नं १०. दु्रतमार्ग नेपाली लगानीमै
काठमाडौं तराई दु्रतमार्ग निर्माणमा स्वदेशी कि विदेशी लगानी भन्ने अन्यौल थियो । ओली नेतृत्वको सरकारले स्वदेशी लगानीमै उक्त मार्ग बनाउने ऐतिहासिक महत्वको निर्णय गरेको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z